डोटी, २७ मंसिर । सामान्यतया नगरपालिका भन्ने वित्तिकै तुलनात्मक रुपले सुसम्पन्न क्षेत्रका रुपमा बुझिन्छ । जहाँ भौतिक पूर्वाधारहरु हुन्छन्, विकासका हिसाबले गाउँ विकास समितिभन्दा अगाडि हुन्छ ।
तर डोटीको दिपायल सिलगढी नगरपालिकामा एउटा यस्तो विद्यालय छ, जहाँका विद्यार्थीहरुले आ–आफ्नो घरबाट ग्यालिनमा खानेपानी बोकेर पिउनुपर्ने बाध्यता रहेको छ ।
नगरपालीकाको वडा नं.–१४, पाकरीमा रहेको दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुले प्रत्येक दिन आ–आफ्नो घरबाट ग्यालिनमा खानेपानी बोकेर ल्याउने गर्दछन् ।
विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर घलेका अनुसार विद्यार्थीहरुलाई ६ वटा समूहमा विभाजन गरिएको छ । तिनै समूहले आईतबार, सोमबार हुँदै शुक्रबारसम्म पालैपालो खानेपानी ग्यालिनमा घरबाटै बोकेर विद्यालयमा ल्याउने गर्दछन् ।
यत्ति पनि विद्यालयमा रहेको कालिका बालक्लबको पहलमा दिपायल सिलगढी नगरपालीकाले सहयोग गरेपछि सम्भव भएको प्रअ घलेले जानकारी दिए ।
बालक्लबले विद्यालयमा खानेपानीको समस्या भएपछि नगरपालिकामा प्रस्तावना पेश गर्यो ।
नगरपालिकाले ५ लिटरका ५० वटा ग्यालिन विद्यालयलाई सहयोग गर्यो । आजकाल विद्यार्थीहरु आफैं घरबाट पानी विद्यालयमा ल्याउँछन् ।
पानीका लागि निकै समस्या रहेको पाकरीको उक्त विद्यालयका बालबालिकाहरुले २०७२ सालको अन्तिमतिरबाट खानेपानी घरबाट बोकेरै ल्याउने गरेको विद्यालयका नव निर्वाचित व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बिष्टले बताए ।
वि.सं.२०१४ सालमा स्थापित विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुन्छ भने त्यहाँ ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन् ।












प्रतिक्रिया