रत्ननगर (चितवन), २६ मङ्सिर । नेकपा (एमाले) चितवनले जिल्लास्तरमा पहिलोपटक पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको छ ।
चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले परीक्षार्थीलाई प्रश्नपत्र दिएर परीक्षा सुरु गर्नुभएको हो । आज २०० जनाको परीक्षा लिइएको एमाले चितवनले जनाएको छ ।
सो क्रममा खनालले पार्टी सदस्यका लागि नेपालमै पहिलोपटक चितवनमा परीक्षा सुरु गरेको दाबी गर्नुहुँदै परीक्षामा आज सामेल हुन नसकेकालाई क्षेत्र र इकाइमै परीक्षा दिने व्यवस्था गरिने बताउनुभयो ।
आज तीन चरणमा हुने परीक्षाको पहिलो चरणमा १०० भन्दा बढी परीक्षार्थी सहभागी छन् । उनीहरुलाई १५ वटा वस्तुगत प्रश्न सोधिएको छ । ६० पूणाङ्कको परीक्षा उत्तीर्ण गर्न कम्तीमा २० नम्बर ल्याउनुपर्ने एमाले चितवनकी सचिव दिलकुमारी रावलले बताउनुभयो ।
परीक्षामा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना कहिले भएको हो ? कम्युनिष्ट पार्टीका संस्थापक महासचिव को हुन् ? कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन कहिले भयो ? प्रथम कम्युनिष्ट प्रधानमन्त्री को हुन् ? लगायत सामान्य प्रश्न सोधिएको छ । तीन वटा सम्भावित उत्तरमध्ये सही उत्तरमा ठीक चिह्न लगाउनु पर्नेछ ।
एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले समाजवादी व्यवस्थामा प्रतिबद्ध हुँदै कम्युनिष्ट बन्न अग्रसर भएकामा कार्यकर्तालाई धन्यवाद दिनुभयो । उहाँले शोषितपीडित श्रमजीवि वर्गको न्यायका रुपमा लड्ने पार्टी कम्युनिष्ट नै भएको दाबीसमेत गर्नुभयो ।
सो क्रममा विश्वमा सन् १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको र सन् १९१७ मा रुसमा कम्युनिष्ट राज्य स्थापना भएको जानकारी गराइएको थियो ।
यस्तै सन् १९२० मा पहिलोपटक महिलाले भोट हाल्न पाएको, सन् १९४१ मा चीनमा पनि कम्युनिष्ट राज्य आएको र नेपालमा विसं २००६ मा कोलकत्तामा बसेर पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
एमाले चितवनका अनुसार परीक्षामा सामेल हुन चितवनमा एक हजार ४०० जनाको निवेदन परेको छ । रासस













प्रतिक्रिया