हरेक वर्ष डिसेम्बर १० तारिखका दिन अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ६८ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईंएको छ । मानव अधिकारको रक्षा र प्रवद्र्धनका लागि नेपालले अन्तराष्ट्रिय रुपमा जनाएको प्रतिवद्धता अनुसार संयुक्त राष्ट्र संघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ (Universal Declaration of Human Rights, 1948) जारी भएको दिनको सम्झनामा एक सदस्य राष्ट्रको हैसियतमा नेपालमा पनि यो दिवस मनाईंदै आएको छ ।
२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन गरिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समेत १० डिसेम्बरमा समापन गरिन्छ र गरिएको पनि छ ।
हरेक खालका दिवसहरु मनाउन र सचेतनामूलक अभियान सञ्चालनार्थ सरकारी र गैर सरकारी निकायबाट अथाह श्रोत साधन खर्च गर्ने गरिन्छ । दिवस मनाउनु र अभियान सञ्चालन गर्नु आफैमा नराम्रो त पक्कै होईन । दिवस मनाउने तथा अभियान सञ्चालनका माध्यमबाट थुप्रै सन्देश प्रवाह त अवश्य हुन्छ नै । दिवस, सप्ताह वा अभियान सञ्चालनका बेला सबैतिर बाट धेरै काम हुन्छ अब भन्ने झैं गरि सबै तात्छन् । तर मानव अधिकार दिवस मनाईंरहँदा र सचेतनामूलक अभियान सञ्चालन गरिरहँदा मानवीय संवेदनाका दर्दनाक कथाव्यथाहरुको पनि सम्वोधन हुनु जरुरी छ । ‘काग कराउँदैरन्छ, पिना सुक्दै जान्छ’ भने झैं प्रतिनिधीमूलक घटनाले दिवस र अभियानमाथि सार्थकताको प्रश्न उब्जाईरहन्छ । यस घडीमा मानव अधिकारको दुरावस्था, हिंसाको चरम शिकार र संवैधानिक व्यवस्थाको खिल्ली उडाउने परिस्थितीका हजारौं घटना हाम्रामाझ तितो यथार्थका रुपमा विद्यमान छन् ।
यहाँनिर डोटीको दिपायल सिलगढी नगरपालीका–१४, पाकरीमा रहेकी सिता पार्कीको कथा मात्रै प्रतिनिधीमूलक घटनाका रुपमा जोड्ने अनुमती चाहन्छु । जुन कथाले समग्र नेपालका मानव अधिकारको दुरावस्थाको संकेत गर्दछ ।
झण्डै ३५ देखि ४० वर्षकी देखिने सीता पार्की एक मानसिक सन्तुलन गुमाएकी दलित परिवारकी महिला हुन् । बुबा गोरे पार्की र आमा तुली पार्कीको कोखबाट जन्मिएकी सिताको स्थानीयबासिन्दाका अनुसार करिब १६ वर्षको उमेरमै मागी विवाह भयो । डोटीकै बग्लेक गाविस रिखडा गाउँका लालबिरे कोलीसँग उनको विवाह भएको थियो । सिताको काकाको छोरा भाई दिलिप पार्कीका अनुसार पहिले उनको मानसिक अवस्था सामान्य थियो । प्राय भारतमा बस्ने उनका श्रीमान लालविरेबाटै उनले एउटा छोरा प्रेमलाई जन्म दिईन् । उनको छोरा प्रेम अहिले करिब १५/१६ वर्षको भईसकेको र प्रेम भारतमै रहेको स्थानीय बताउँछन् । त्यसपछि उनले एक छोरीको पनि जन्म दिईन् । तर दुर्भाग्य त्यसपछाडी श्रीमान लालविरेको असामयिक निधन भयो । बिचैमा उनकी छोरीको पनि निधन भयो ।
उनले आफ्नो जीवनसाथि गुमाएपछि पनि झण्डै २ वर्षसम्म उनको अवस्था सामान्य नै थियो । करिब ७–८ वर्ष यता उनको मानसिक अवस्थामा सन्तुलन गुमेपछि विरक्तिएर डुल्न थालिन् उनी । कर्म घर बग्लेकमा पनि उनले आवश्यक स्याहारसुसार र अभिभावकत्व प्राप्त गर्न सकिनन् भने माइतीघर पाकरीमा पनि अभिभावकत्व प्राप्त गर्न सकिनन् । जहाँतहिँ जुनसुकै समयमा डुल्न थालेपछि सम्हाल्न नसक्दा एवं आवश्यक उपचार र परामर्शको अभावमा उनी कडा खालको मानसिक समस्याको झन्–झन् शिकार बन्दै गईन् ।
अझै दुर्भाग्य भनौं या दानवताको अन्तिम पराकाष्ठा, सोहि अवधीमा उनीसँग यौनसम्पर्क गरी उनी गर्भवती भईन् अज्ञात व्यक्तिबाट । हुन त अहिलेको विज्ञान प्रविधि अनुसार परीक्षण गरेमा बाबु को हो भन्ने कुरा पत्ता लाग्दो हो । तर उनको समस्यामा साथ दिने महान व्यक्ति र निकाय कोहि थिएन । त्यसै परिस्थितीकाबिच सिताले अज्ञात बुबाको छोरालाई जन्म दिईन् ।
वेवारिसे अवस्थामा शिशु फेला परेपछि प्रहरीले उद्धार गरी ३५ दिने सूचना जारी गरि हकदार खोजियो । तर कोहि पनि सम्पर्कमा नआएपछि बालकको उमेर १८ वर्ष पुगुञ्जेलसम्मका लागि भन्दै स्थानीय प्रशासन, महिला तथा बालबालिका कार्यालय, सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र लगायतको रोहबरमा संरक्षक खोजेर डोटी दिपायलकै एक परिवारले जिम्मा लिएको छ । उनको उमेर १८ वर्ष पुगेपछि आफ्ना रगतको नाता पर्ने घर परिवारमा जान चाहेमा जान पाउने लिखित शर्तमा उनलाई जिल्ला बालकल्याण समितिमार्फत संरक्षकको जिम्मा लगाईयो । ति बालकको अवस्था सामान्य रहेको बताईन्छ ।
दुर्भाग्य भनौं या के भनौं ? अर्काे कहाली लाग्दो र रहस्यमय घटना भयो कि उनको मानसिक सन्तुलन गुमेकै अवस्थामा फेरि दोश्रो पटक गर्भवती भईन् सीता । यसै अवधिमा उनलाई महिला तथा बालबालिका कार्यालयको पहलमा सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रमार्फत काठमाडौमा कोशिश नेपाल नामक सँस्थामा पठाईयो । उनी मिति २०७२ फाल्गुन २५ गतेबाट कोशिश नेपालमा बस्न थालिन् । त्यसपछि २०७३ बैशाख १७ गते उनले अर्को पुरुष सन्तानको जन्म दिईन् । यसपश्चात कोशिश नेपालले उनलाई आवश्य औषधोपचार र नवजात शिशुको समेत पालनपोषण र उपचार गर्यो । थप दुर्भाग्य सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्र काठमाण्डौमा चेकजाँच गराउँदा बच्चाको मुटुमा प्वाल रहेको समस्या देखियो । उमेर नछिप्पिञ्जेल उनको उपचार सम्भव नहुने भएकाले अस्पताल श्रोतले त्यतिकै फिर्ता पठायो । त्यस यता २०७३ भाद्र ६ गते कोशिश नेपालले उनलाई डिस्चार्ज गरेको देखिन्छ ।
उनलाई केहि समय पहिले मात्रै सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र डोटीले दिपालय सिलगढी नगरपालीका १४ पाकरी बस्ने उनकै माइती परिवार अर्थात सहोदर भाई राम पार्कीलाई बुझाएको थियो । तर उनी अहिले पनि वेवारिसे छिन् । उनले प्रयोग गर्ने औषधी पनि सकिएको छ । बस्ने खाने कुनै ठेगान छैन उनको । तर काखमा ६ महिना उमेरको दुधे बालक छोरा पनि छ । पीडा–पीडा–पीडा–पीडामाथि पीडा, उनको दुधे बालकको मुटुमा प्वाल रहेको महिला तथा बालबालिका कार्यालय डोटीले जनाएको छ । ति बालकको शारीरिक परिपक्वता नआउञ्जेल मुटुको उपचार हुन नसक्ने अस्पताल श्रोतको भनाई रहेको छ । ति बालकको शारीरिक परिपक्वता र पोषणको अवस्था हेर्दा जो कोहि कठोर मनका मानिस पनि अवश्य रुन्छन् होला । बालकको शारीरिक परिपक्वताका नाममा टाउकोमा रौं देखिन्छन् तर शरीर भर्खर जन्मिएको बच्चाभन्दा फरक छैन । त्यो पनि पूरै जिउ सुकेको ।
सीताको उपचार, पुनस्र्थापना र बालकको हेरचाह कस्ले गरिदिन्छ ? न त नेपाल सरकारसँग पुनःस्थापनाका लागि पर्याप्त यस्ता निकाय (Rihab Centre) नै छन्, न उनको हेरचाह गर्ने कोहि व्यक्ति नै छन् । तर नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्य अन्तरगत धारा ३६ को उपधारा (१) मा प्रत्येक नागरिकलाई खाद्य अधिकारको हक र उपधारा (२) मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भन्ने उल्लेख छ ।
त्यस्तै धारा ३७ मा आवासको हक अन्तरगत उपधारा (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने उल्लेख छ भने धारा ३८ मा महिलाको हक अन्तरगत उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुने र उपधारा (३) मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने कुरा उल्लेख छ ।
त्यस्तै धारा ३९ मा बालबालिकाको हक अन्तरगत उपधारा (१) मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ । उपधारा (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । यस्तै अन्य विभिन्न संवैधानिक व्यवस्था नेपाल सरकारले गरेको छ । तर अब भन्नुहोस् ति महिला र बालकको मानव अधिकारको अवस्था कस्तो छ ? यसकारण मानव अधिकार VS सिता पार्की भनिएको हो ।
अहिले उनका आमा–बुबा कैलालीको लालपुरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । उनका दुई भाईमध्ये एक भाई भारतमा छन् भने एक भाई पाकरी गाउँमै बस्दछन् । तर उनको कुनै प्रवाह छैन उनलाई जन्म दिने आमा–बुबा, उनैले जन्माएको सन्तान र उनका सहोदर भाईलाई पनि ।
महिलाहरुले उनिसँग बोल्न खोज्दा ढुङ्गाले हिर्काउने र पुरुष मानिसले बोल्न खोज्दा आफुलाई गर्भवती बनाउने यहि मानिस हो भन्दै आरोप लगाई दिने गरेको स्थानीय बताउँछन् । यस कारण पनि समाजले समेत उनलाई वेवास्ता गरेको छ ।
राज्यको चौथो अंग सञ्चार क्षेत्रले पनि यस्तो दर्दनाक अवस्थाबाट प्रताडित सिता र उनकै जस्ता कथाव्यथा समेट्ने सवालहरु उठाउनुपर्ने जति उठाउन अवश्य सकेको छैन । तुलनात्मक रुपमा सुविधाजनक मानिने नगरपालिकाकै हालत दयनीय छन् भने देशका दुरदराजका गाउँमा यस्ता कैंयौं कथाव्यथाहरु लुकेको सहजै अनुमान गर्न सकिन्छ ।
राज्यले यदि यस्ता जर्जर पीडामा मलम लगाउन र उचित निकास दिन सक्दैन भने नेपालको संविधानमा उल्लेख भए बमोजिम नेपाल सरकारले यि समस्याको सम्वोधन नगरुञ्जेल मानव अधिकारका खोक्रा नारा र लैङ्गिक हिंसा विरुद्धका अभियानहरुले सार्थकता पाउँदैनन् । यस्ता मानवीय संवेदनशीलतामा सबैले हातेमालो गर्दै सहयोगमा जुटौं ।
(लेखक प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष हुन् ।)















प्रतिक्रिया