काठमाडौं, २४ मंसिर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकार मानवअधिकार प्रत्याभुतिको लागि पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले मानवअधिकारको विषयलाई कसैलेपनि विवादित बनाउन नहुने बताए । उनले भने, ‘सरकार नेपालको मानवअधिकार अन्तर्राष्ट्रिय रुपमै सम्मान पाउने खालको होस् भन्ने पक्षमा रहेको छ ।’
नायकले मुलुक यतिवेला संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै युद्धकालीन घटनालाई छिचोलेर समस्याको समाधान नहुने जिकिर गरे ।
मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अहिलेको संविधान मानवअधिकारमैत्री भएको बताए । पाठकले भने, ‘संविधानले मौलिकहक अधिकारलाई सुनिश्चित गरेको छ, त्यसैले पनि यो संविधान मानवअधिकारमैत्री छ ।’
मानवअधिकारकर्मी चरण प्रसाईले नेपालमा मानवअधिकार अवस्था सन्तोषजनक नभएको टिप्प्णी गरे । उनले विस्तृत शान्ति सम्झौता भएको एक दशक पूरा भैसकेको उल्लेख गर्दै पीडितहरुले अहिलेसम्म पनि न्याय नपाएको गुनासो पोखे ।
एमनेष्टी ईन्टरनेश्नल नेपालका अध्यक्ष राजन कुइँकेलले नेपालको मानवअधिकारको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए । उनले मानव अधिकारको पूर्ण प्रत्याभुतिको लागि सबै संघसंस्थाहरु एक भएर प्रस्तुत हुनुपर्ने बताए ।
मानवअधिकारकर्मी दिनेश त्रिपाठीले पनि नेपालको मानवअधिकारको अवस्था चिन्ताजनक रहेको गुनासो गरे । त्रिपाठीले भने, ‘अहिले त दण्डहिनताको संस्कृति मौलाएको छ ।’












प्रतिक्रिया