काठमाडौं, २३ मंसिर । प्राकृतिक विपद्का लागि आकस्मिक पूर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धिसम्बन्धी तीन दिने आकस्मिक पूर्वअभ्यास बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । अभ्यासको आयोजना गृह मन्त्रालयसँगको सहकार्यमा राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गरेको हो ।
विपद् व्यवस्थापन सरोकारवालहरुको क्षमता अभिवृद्धि गर्ने र पूर्वतयारी तथा प्रतिकार्यलाई पूर्वचेतावनी प्रणालीसँग अझ प्रभावकारी रुपमा जोड्ने उद्देश्यले आयोजित आकस्मिक पूर्वअभ्यासमा सरकार, राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।
यो अभ्यास अस्ट्रेलियन ऐड, अस्टेयाली सरकार–वैदेशिक मामिला तथा व्यापार विभाग र जर्मन सङ्घीय वैदेशिक कार्यालयको आर्थिक सहयोगमा सञ्चालित परियोजनाहरु अन्तर्गत भएको हो ।
अभ्यासको आयोजना डब्लुएफपीले डीएफआइडीको सहयोगमा विपद्को अवस्थामा मानवीय प्रतिकार्यको वन्दोबस्ती व्यवस्थापन सहजीकरणका लागि वि.सं. २०७२ सालमा गएको भूकम्पको केही अघि मात्र शुभारम्भ गरिएको काठमाडौंस्थित मानवीय सहायता स्थलमा भएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै, गृह मन्त्रालय, विपद् व्यवस्थापन विभागका प्रमुख तथा सहसचिव कृष्णबहादुर राउतले भन्नुभयो, “विपद्जन्य जोखिमको न्यूनीकरण र व्यवस्थापनमा डब्लुएफपीले सरकारी र अन्य मानवीय सहायताकर्मी संस्थाहरुलाई विभिन्न आकस्मिक तालिम प्रदान गरी आकस्मिक पूर्वतयारी र प्रतिकार्यमा राष्ट्रिय क्षमताको विकास गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।”
“नेपाल विश्वका विपद्बाट सबैभन्दा प्रभावित देशहरुमध्ये मृत्युदर र घटनाहरुको संख्या दुवै हिसाबले पहिलो दशमध्येमा पर्दछ,” डब्लुएफपी नेपालकी उप–राष्ट्रिय निर्देशक फ्रान्सेस्का कापोनेराले भन्नुभयो, “नेपालमा जाने प्रायः स्थानीय स्तरका र लगातार भइरहने विपद्ले दिगो विकासलाई प्रभावित गर्न सक्छ, जस्तैः महत्वपूर्ण पूर्वाधार वा जीविकोपार्जनका माध्यमहरुमा त्यसबाट हुने क्षति ।
राष्ट्रिय सरोकारवालाहरुको जीवन र जनजीविका दुवैलाई सुरक्षित राख्ने क्षमता अभिवृद्धि गर्ने कार्यलाई डब्लुएफपी मद्दत गर्न चाहन्छ । यो तालिम आफैँमा पृथक छ किनभने यसले तीन महत्वपूर्ण पक्षहरु–पूर्र्वचेतावनी, पूर्वतयारी र प्रतिकार्यमा जोड दिन्छ, र यी विपद्को प्रभाव कम गर्नका लागि अत्यावश्यक पक्ष हुन् ।”
नेपाल रेडक्रस सोसाइटी बाँकेका दोलख डाँगीले भन्नुभयो, “आकस्मिक पूर्वअभ्यासले सम्बन्धित विपद व्यवस्थापन सरोकारवालाहरुलाई आफ्नो संस्थाको पूर्वतयारीपनको स्तरलाई समीक्षा गर्ने, प्रतिकार्यको अभ्यास गर्ने, निर्णय प्रक्रिया, प्रोटोकल र विधिहरुको अभ्यास गर्ने अवसर प्रदान गर्यो । यसले आकस्मिक घटनाका बेला समयमै सम्बोधन गर्ने उनीहरुको क्षमता बढाउन मद्दत गरेको छ ।”
कार्यक्रमका सहभागीहरु विभिन्न क्रियाकलाप र वन्दोवस्ती अभ्यासमा सहभागी भए जसमा मध्य तथा सुदूरपश्चिम तराईका जिल्लाहरु प्रभावित भएको वि.सं. २०७१ को बाढीको वास्तविक परिदृश्यमा आधारित सत्र पनि एक थियो ।
अभ्यासमा राष्ट्रिय र जिल्लास्तरका सरोकारवालाहरुबीच निर्णय लिने र समन्वयको सीप विकास गर्नेका साथै घुम्ती भण्डारण इकाइ र दूरसञ्चार उपकरणहरुको स्थापनाकार्य जस्ता व्यवहारिक बन्दोबस्ती सीपहरुको पनि अभ्यास गरिएको थियो ।
उप–राष्ट्रिय निर्देशक कापोनेराले भन्नुभयो,“तालिम र क्षमता अभिवृद्धि पूर्वतयारीपन सिर्जना गर्नका लागि महत्वपूर्ण पक्ष हुन् । आकस्मिक योजना, प्राथमिकता र कसले के गरिरहेको छ भन्ने बारेमा मानिसहरु जति बढी जानकार हुनेछन्, त्यति नै बढी मानिसको ज्यान जोगाउन सकिनेछ ।”
वि.सं. २०७२ को भूकम्प अघि डब्लुएफपी, सरकार र साझेदारहरुले आकस्मिक पूर्वतयारी परियोजनामा संयुक्तरुपमा कार्य गरेका थिए जसले अझ बढी दु्रत र प्रभावकारी प्रतिकार्यलाई सम्भव बनाएको थियो ।
त्यो लगानीले विश्वभरीबाट आएको ठूलो संख्याको प्रतिकार्य सहयोगको सही व्यवस्थापन कार्यमा कम्तीमा पनि एक महिनाको समय बचत भएको अनुमान गरिएको छ, जसले डब्लुएफपीलगायत अन्य मानवीय सहायता एजेन्सीहरुलाई सबैभन्दा प्रभावित समुदायहरुसम्म पुग्न सहज बनायो ।
यसैलाई आधार मानेर, राष्ट्रिय, क्षेत्रीय र जिल्लातहमा प्रतिकार्य योजनाहरु स्थापित गरिएका छन् र यस्तै आकस्मिक पूर्वअभ्यास जस्ता विभिन्न तालिमहरु पनि सञ्चालन भइरहेका छन् ।












प्रतिक्रिया