३० आश्विन २०८३, शुक्रबार

‘कर्णजी तपाई सधैं मनमा बसिरहनु हुनेछ’

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karna-boharaमंसिर १० गते । दिउँसोको चार बज्दै थियो । म धनगढीस्थित अनुमोदन दैनिकको कार्यालयमा ल्यापटप चलाइरहेको थिए । नेपालगन्जका पत्रकार मित्र झलक गैरेले फेसबुक च्याटमा सन्देश पठाएर मलाई फोन गर्न भने । मैले फोन गरे । उनले भने– कर्ण जी (कर्ण बोहरा) लाई केही स्वास्थ्य समस्या भयो कि भन्ने सुन्दैछु, बुझन् पर्यो ।

मैले सोचे कर्णजीको श्रीमती (ममता) तीनचार महिनादेखि काठमाडौंमा उपचार गराइराख्नु भएको थियो, सायद उहाँको स्वास्थ्य गम्भीर भयो कि ? (कर्णजीको श्रीमती ममताका दुवै मृर्गौला खराब भएर डाइलोसिस भइरहेको थियो) अथवा श्रीमतीको अवस्थाका कारण तनाव बढेर कर्णजी पो फेरि बेहोस भए कि ? किनकि उहाँलाई तनाव बढेर धेरै पटक बेहोस भइसकेको मैले थाह पाएको थिए । मैले काठमाडौंमा रहेका सहकर्मी खगेन्द्र पन्तलाई फोन गरे । उनले मलिन स्वरमा भने– म अहिले मध्यवानेश्वरको भेनस अस्पतालमा छु । कर्णजीको सुतेकै अवस्थामा मृत्यु भयो । मैले पत्याउन सकिन । नौ दिनअघि (मंसिर १ गते) हामीले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा उहाँकी श्रीमीको स्वास्थ्य अवस्थाबारे छलफल गरेका थियौ । उहाँ पीडामा हुनुहुन्थ्यो, तर पनि हामी साथीहरूमाझ केही बेर हाँसोमजाक गरेर रमाउनु भएको थियो ।

मलाई कर्णजीको निधन भयो भन्नेमा विश्वासै लागेन । मैले महासंघका कोषाध्यक्ष सूर्यमणी गौतम र सहकर्मी राजेन्द्र नाथलाई पालैपालो फोन गरे । उहाँहरू दुवै जना पनि सोही अस्पतालमा हुनुहुदोरहेछ । उहाँहरूले पनि खगेन्द्रजी जस्तै खबर सुनाउनु भयो । मलाई अझैं पनि पत्यार लागेन । अनि मैले काठमाडौंमै रहेका कैलालीका पत्रकार दीपक ओलीलाई फोन गरेर आग्रह गरे– भेनेस अस्पताल गएर कर्णजीलाई खासमा के भएको हो बुझ्नु पर्यो । उहाँले अस्पताल पुगेर घटना सुनाउनुभयो । म हतप्रभ भएँ । स्तब्ध भए । एकाएक श्रीमतीको अवस्थाका कारण कतिपय वेला विक्षिप्त जस्तै बन्न पुग्ने कर्णजीको अनुहार सामुन्ने आयो । गोरो, बाटुलो, आकर्षक व्यक्तित्वका कलिलो उमेरका कर्णजीको अनुहार मनमष्तिष्कमा घुम्न थाल्यो ।

मलाई निकै पीडादायक खबर पत्रकार मित्रहरूलाई फेसवुक वा फोनवाट सुनाउने आँट आएन । ‘कर्णजीको मृत्यु भयो’ भनेर कसरी फेसबुकमा लेखुँ, कसरी अरुलाई फोन गरुँ ? म केही बेर अनिश्चयको अवस्थामा रहे । अनि महेन्द्रनगरका पत्रकार खेम दाई (भण्डारी) लाई फोन गरे । उहाँले त्यो खबर थाहा पाउनु भएको रहेनछ । त्यो खबर मैले सुनाएपछि उहाँ फोनवार्तामै तनावग्रस्त भएको महसुस गरे । मैले फोन काटे । चित्राङ्ग दाई (थापा) र लक्ष्मण तिवारीलाई फोन गरे– उहाँहरुको फोन अफ थियो । मैले गणेश भट्टलाई फोन गरे, उहाँ पनि अनभिज्ञ हुनुहुन्थ्यो । मलाई छटपटि लागिरह्यो । फेसबुकमा कसैले कर्णजीका बारेमा केही लेखेका थिएनन् । लाग्यो, सायद उहाँलाई केही भएको होइन कि क्याहो ।

त्यो खबर आएदेखि अनुमोदन दैनिकका प्रधान सम्पादक मनमोहन स्वाँर र म संगै थियौ । उहाँसित सल्लाह गरे– यो दुःखद खबर फेसबुकमा लेख्दा के होला ? उहाँ पनि घटनाबारे विश्वस्त हुन सक्नु भएन र भन्नुभयो– नलेखेकै राम्रो । अनि मैले फेसवुकमा ‘दुःखद खबर’ मात्रै लेखेर पोष्ट गरे । मेरो त्यो स्टाटसमा एकदुई जना साथीले ‘कर्णजीको दुःखद निधन भयो’ भन्ने पनि लेखे । त्यसपछि मात्र मैले साँझको ५ः१७ बजे हात कमाउँदै ‘नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बोहराको निधन भयो’ भनेर लेख्न सके ।

म भगवानमा विश्वास गर्दिन, तर मान्छेको जीवनमा लगातार दुःखैदुःख किन आइलाग्छन् ? भनेर कहिलेकाही सोच्दा आफैलाई अचम्म लाग्छ । कर्णजीको बुवा डाँकाबाट मारिए । दाईभाउजुको दुर्घटनामा मृत्यु भयो । उहाँको पहिलो श्रीमतिसंग सम्वन्धविच्छेद भयो । उहाँले अर्को विहे गर्नुभयो । पहिले आफू बिरामी पर्नु भो । एकदुई महिनापछि श्रीमती दुवै मृर्गौला खराब भएर सिकिस्त हालतमा अस्पतालमा भर्ना गर्नु पर्यो र अहिले कलिलो उमेरमै देहत्याग गर्नुपर्यो । एकै जनामाथि जीवनमा यत्तिका पीडाकष्ट किन आइलाग्छन् होला ? आजसम्म आफैसंग कारण खोजिरहेको छु, तर भेट्टाउन असमर्थ छु ।

लेखक
लेखक

घटनाको दुई घन्टा वितिसकेको थियो । रात छिप्पिँदै गयो । म अनुमोदनको कार्यालयमा फेसबुकमा टोलाइरहेको छु । कर्णजीसंग मित्रता भएदेखिका सबै सानाठूला घटना फिल्मको रिल झैं घुम्न थाले । उहाँसग मेरो पहिलो भेट २०५६ सालमा भएको हो । पहिलो भेट मै मैले उहाँमा अपरिचित व्यक्तिलाई पनि एकैछिनमा साथी बनाउन सक्ने खुबी रहेको महसुस गरे । त्यतिवेला मैले दैनिकजस्तो महेन्द्रनगर गइरहनु पर्दथ्यो । उहाँले सकेसम्म आफ्नै कोठामा मलाई सुताउनु हुन्थ्यो । नभए पनि उहाँसँगै तारा भोजनालयमा रातीको खाना खानु पर्दथ्यो । म धनगढीबाट निस्कने सेती समाचार दैनिक छाप्न महेन्द्रनगर जान्थे । त्यतिवेलादेखि उहाँसँग भएको न्यानो मित्रता सधैं कायम रहिरह्यो ।

२०५७ सालको चैत्र महिनातिर उहाँले नै आयोजना गर्नुभएको एक हप्ते पत्रकारिता सम्वन्धी आधारभूत तालिमका म सहभागीहरुसहित महेन्द्रनगर गए । उहाँसँग अनगिन्ती पटक भेटघाट भयो होला, तर २०५९ सालमा काठमाडौमा भएको खोज पत्रकारिकता सम्वन्धी एक साताको तालिम, २०७० सालमा भएको पत्रकार महासंघको बाजुरा भेला, २०६८ र ०७१ मा भएको महासंघको केन्द्रीय चुनावमा उहाँसँग बिताएका क्षणहरू जीवनभरी ताजा रहने छन् ।

पछिल्ला केही वर्षयता कर्णजी धेरैजनाको सम्पर्कबाट टाढा बस्न रुचाइरहनु भएको मैले अनुभव गरेको थिए । मैले मसँग मात्रै यस्तो भएको हो कि भन्ने ठानेको थिए, तर होइन रहेछ । प्रायःले उहाँको बारेमा यस्तै भन्थे । म महेन्द्रनगर जाँदा प्रायः उहाँको कार्यालयमा पस्थे । उहाँको स्वागतसत्कार गर्ने बानीमा चाही कुनै परिवर्तन आएको थिएन । ‘तपाईंको फोन किन उठ्दैन ?’ मेरो गुनासोमा उहाँ हास्दै भन्नुहुन्थ्यो– यस्तै हो ।

पछिल्लो पटक ममता भाउजुको उपचारमा काठमाडौ जानु भएपछि फेरि भेटघाट बाक्लियो । मैले ‘भाउजुको उपचारका लागि महासंघले के गर्नुपर्छ ?’ भनेर सोध्दा उहाँले पटकपटक दोहोर्याउनु भयोे– मलाई महासंघका सबै शाखाहरुको सक्दो सहयोग चाहिन्छ । महासंघले पत्रकारलाई साह्रोगाह्रो पर्दा जिल्ला शाखाहरूबाट सहयोग रकम संकलन गर्ने प्रचलन नै छ । मैले सुदूरपश्चिमका सवै शाखा अध्यक्षहरुलाई सहयोगका लागि आग्रह गरेको थिए, उहाँहरुले सक्दो सहयोग पनि गर्नुभयो । महासंघका अध्यक्ष महेन्द्र बिष्ट र कोषाध्यक्ष सूर्यमणीले युरोप र जापानबाट पनि सहयोग जुटाउनुभयो ।

हो, अहिले सोसल मिडियामा कर्णजीको निधन, ममताजीको स्वास्थ्योपचार र सहयोगबारे नानाथरी टिप्पणी हुने गरेका छन् । कतिपयले पत्रकार महासंघ, शाखाहरू तथा पदाधिकारीलाई ठाडो गाली गर्नुलाई नै कर्णजीप्रति श्रद्धान्जलीका रूपमा ‘उपयोग’ गर्न रुचाइरहेका छन् । ममताजीको स्वास्थ्योपचार र अहिले कर्णजीको अप्रत्याशित निधनपछि सहयोगका लागि गरिरहेको प्रयासलाई प्रचारप्रसार गरेर सहयोगको भावनालाई नै अपवित्र पार्नुहुन्न भन्ने म ठान्दछु । नेपाल पत्रकार महासंघ, कैलाली अध्यक्ष भरत शाहले फेसबुकमा लेख्नुभयो– मानवताका नाममा राजनीति नगरेको राम्रो । एउटै घटनामात्रै उल्लेख गर्छु– टिचिङ अस्पतालमा ममता भाउजुको उपचार गरेर डिस्चार्ज हुँदा तिर्ने रकम नभएपछि उहाँ (कर्णजी) ले महासंघलाई गुहार्नुभयो । अनि महासंघका अध्यक्ष, कोषाध्यक्ष र मैले सल्लाह गरेर महासंघको केन्द्रीय कार्यालय अस्पतालको बिल तिर्यौं ।

पत्रकारको श्रीमतीको उपचारका लागि महासंघले आर्थिक सहयोग जुटाएको सायद यो पहिलो घटना हो । महासंघले यसअघि थुप्रै पत्रकारका लागि सहयोग जुटाएको छ । मृत्युवरण गरेका पत्रकारका छोराछोरीको लालनपालन तथा शिक्षादिक्षाका लागि सहयोग जुटाएको छ । महासंघको पहलमा कर्णजी र सञ्जय न्यौपानेलाई मरणोपरान्त पाँच लाख रुपैयाँको सानिमा–राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यो कर्णजीले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको सम्मान त हो नै, साथसाथै श्रीमती ममताको उपचारमा सहयोग पुगोस् भन्ने हार्दिक उद्देश्य पनि हो । कर्णजीको त्यतिवेलाको इच्छा अनुसार नै महासंघले सरकारबाट सहयोग जुटाउने पहल गरिरहेको छ । त्यस्तै, महासंघको सुदूरपश्चिम क्षेत्रीय समन्यव समितिबाट श्रीमती ममताको उपचारमा सहयोग पुर्याउन फेसबुक अभियान चलाएकोमा अहिलेसम्म एक लाख रुपैया बढी संकलन भइसकेको छ ।

कर्ण बोहरा आफ्नो क्षेत्र (सुदूरपश्चिम) लाई असाध्य माया गर्ने होनाहार पत्रकार थिए भन्ने टिप्पणी ‘मृत्युपछि प्रायः मान्छेका बारेमा गरिने गुणगान’ पक्कै पनि होइन । वास्तवमा पत्रकार कर्णले पत्रकारिता क्षेत्रमा कलिलै उमेरमा प्राप्त गरेको उचाई समकालीन र सहकर्मी पत्रकारहरूका लागि इष्र्या झैं थियो । उहाँ यस क्षेत्रकै एक होनहार पत्रकार हुनुहुन्थ्यो । उहाँ सुदूरको माटोलाई धेरै माया गर्नु हुन्थ्यो । टेलिभिजन कार्यक्रममा होस् वा अखबार र रेडियोका समाचारमा होस्, उहाँको खरो टिप्पणीले सबैलाई लोभ्याउदथ्यो ।

मृत्युपछि मान्छेको गुणको मात्रै बखान गर्ने मानव प्रवृत्ति हो । कर्णजीमा अवगुणहरू पनि थिए । मैले अनुभव गरेका उहाँका धेरै गुणअवगुणमध्ये एउटा चर्चा गर्नु सान्दर्भिक हुने छ । कर्णजी आफूलाई ठिक लागेको मान्छेका लागि अर्को उस्तै राम्रो मान्छेका विरुद्ध लाग्न हिच्किचाउनु हुन्नथ्यो । उहाँले यो धर्तीत्याग गरिसक्नु भएको छ । बाचुन्जेल उहाँले थुप्रैलाई माया गर्नुभयो, तर आफूलाई माया गर्न सक्नु भएन । आफ्ना लागि, आफ्नो स्वास्थ्यका लागि माया गरिदिएको भए कलिलो उमेरमा प्रियजन, आफन्त, साथीभाई सबैलाई मर्माहित बनाएर संसारबाट विदा लिनुहुन्नथ्यो ।

उहाँको जीवन स्मरण गर्दा मलाई हिन्दीफिल्म ‘देवदास’ को कथा याद आयो । ‘चलचित्रका प्रमुख पात्र (नायक) मदिरा पिउदापिउदा निकै कमजोर भएपछि पिउन छोडेका थिए । तर, एक जना पुरानो साथीको बचन हार्न नसक्दा फेरि पिउन थाले र अन्त्यमा जीवनलीला समाप्त पारे । सायद कर्णजीको प्रसंगमा पनि यस्तै पो भयो कि ? श्रीमतीप्रति उहाँको अगाध प्रेम प्रायःका कल्पनाभन्दा पनि पर थियो । अस्पतालमा डाइलोसिस गराइरहेकी श्रीमतीको अवस्थाबाट विक्षिप्त जस्तै भइसकेका कर्णजीले धेरै पटक भन्नुहुन्थ्यो– ममता बाचिनन् भने म पनि बाच्न सक्दिन होला । कर्णजी हामी सधैं तपाईलाई सम्झिरहने छौं ।

(शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हुन ।)