ललितपुर, १९ मंसिर । राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष केशव बडालले आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको प्रवर्द्धनमा जोड दिनु भएको छ ।
सहकारी क्षेत्रले विपन्न वर्गका जनताको आर्थिक विकासमा गरेको योगदान प्रभावकारी बन्दै गएको भन्दै उहाँले आर्थिक संगै सामाजिक रुपान्तरणको अभियानलाई केन्द्रीत गरेर अगाडि बढ्न देशभरका सहकारी संघ संस्थामा आवद्ध सहकारीकर्मीहरुलाई आग्रह गर्नु भयो ।
राष्ट्रिय सहकारी संघले आइतवारदेखि आयोजना गरेको एक हप्ते सहकारी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
सहकारी क्षेत्रले गरेको योगदानलाई राज्यले अपनत्व ग्रहण गर्न नसकेको भन्दै उहाँले यसको प्रवद्र्धनका लागि सहयोग गर्न आव्हान गर्नुु भयो ।
कार्यक्रममा संघका सञ्चालक एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक माधव दुलाल र राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् सूचना, सञ्चार तथा प्रकाशन उपसमितिका संयोजक रामबहादुर जिसीले सहकारी अवधारणाको विकासका लागि प्रशिक्षक तयार गर्ने कार्यले सहयोग पु¥याउने धारणा राख्नु भएको थियो ।
कार्यक्रमको उदेश्यका बारेमा संघका प्रवन्धक गोपिकृष्ण भण्डारीले जानकारी गराउनु भएको थियो । देशका विभिन्न क्षेत्रमा सहकारीका प्रशिक्षकहरु उत्पादन गरी सहकारी व्यवसायलाई प्रभावकारी बनाउने उदेश्यले तालिम आयोजना गरिएको भण्डारीले बताउनुभयो । कार्यक्रमको सञ्चालक प्रवन्धक बलदेव पौड्यालले गर्नु भएको थियो ।
मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बागलुङ, लमजुङ, कपिलवस्तु, बाजुरा, रुपन्देही, रसुवा, दैलेख, इलाम, भक्तपुर, सर्लाही, हुम्ला, धनुषा, मकवानपुर जिल्लाका २१ जनाको सहभागिता रहेको छ ।
सहभागीहरुलाई तालिम सञ्चालन विधि बारे जानकारी गराएर जिल्लामा तालिमको सहजीकरणका लागि तयार पारिने संघले जनाएको छ ।
















प्रतिक्रिया