२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री कोइरालाको बेडरुमबाटै १२ लाख चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ । सहयोगीमध्येबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ ।

विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो । प्रधानमन्त्री भएपछि सरकारीनिवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले त्यसअघि बस्दै आएको घर छाडेका थिएनन् । अधिकांश सामान पुरानै निवासमा थिए । सुरक्षाकर्मी पनि घरमा तैनाथ नै थिए, तर पनि चोरी भयो ।

गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख चोरिएको हो । चोरी गरिसकेपछि दराजको लक पुन: बनाइएको थियो । ‘सुशील’दाले अप्ठ्यारो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चोरिएको रहेछ,’ स्रोतले भन्यो ।

आजको नयाँ पत्रिका दैनिकमा खगेन्द्र पन्त लेख्छन् – जेठको अन्तिम सातातिर मात्रै प्रधानमन्त्री कोइरालाले महाराजगन्जनिवासमा चोरी भएको थाहा पाएका थिए । सहयोगीमध्येकै कसैले उनको दराज फोडिएको सूचना कोइरालालाई दिएका थिए । ‘अमेरिका उड्नुभन्दा दुई–चार दिनअघि सुशील’दाले चोरी भएको थाहा पाउनुभयो, सहयोगीमध्येबाटै चोरी गरिएको रहेछ,’ स्रोतले भन्यो । २ असारमा अमेरिका गएका कोइराला एक महिनाको उपचारपछि ६ साउनमा स्वदेश फर्किएका थिए ।

स्रोतका अनुसार कोठाको साँचो सहयोगीहरूले राख्ने गरे पनि दराजको साँचो भने प्रधानमन्त्री कोइराला आफैँले राख्ने गरेका थिए । चोरी भएको सूचना पाएपछि उनले साँचो दिएर एकजना ‘विश्वसनीय’ सहयोगीलाई दराज हेर्न पठाएका थिए । जसले पैसा चोरी भएको पुष्ट्याइँ कोइरालासमक्ष गरेका थिए ।

चोरीका विषयमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत कोही पनि औपचारिक रूपमा बोल्न चाहँदैनन् । आफूले तीनथान मोबाइल मात्रै सम्पत्ति रहेको सार्वजनिक गरेको अवस्थामा सहयोगीमध्येबाटै नगद चोरी गरिएको घटना बाहिर आउँदा राम्रो सन्देश नजाने भएकाले घटना गुपचुप राखिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले आफ्नो कोठाबाट चोरी भएको घटनाबारे अत्यन्त निकट मन्त्री र नेताहरूलाई भने सुनाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि कोइरालाले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणमा आफूसित तीनथान मोबाइल मात्रै रहेको जनाएका थिए । कुनै पनि बैंकमा आफ्नो खाता नरहेको र नगद पनि नभएको प्रतिक्रिया उनले सञ्चारमाध्यमलाई दिएका थिए ।

चोरीपछि घर छाड्ने निर्णय

प्रधानमन्त्री कोइरालाले आफू पहिलेदेखि बस्दै आएको महाराजगन्जस्थित निवास छाड्ने निर्णय गरेका छन् । बालुवाटार सरे पनि अमेरिका जानुअघिसम्म उनका सामान यही घरमा थिए ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि २३ चैत ०६७ देखि सुशील सो घरमा बस्दै आएका थिए । गिरिजाप्रसाद प्रधानमन्त्रीबाट हटेपछि ०६५ भदौदेखि सो घरमा बस्न थालेका थिए ।

‘गिरिजाबाबु पनि बस्नुभएको महाराजगन्जको घर प्रधानमन्त्रीले तत्कालै छाड्ने कुनै योजना थिएन, तर चोरी भएपछि एकाएक छाड्ने कुरा आएको हो,’ बालुवाटार स्रोतले भन्यो । चोरीबारे थाहा भएको केही दिनमै अमेरिका गएका कोइराला एक महिनापछि फर्किएका थिए ।

२८ साउनमा प्रधानमन्त्री कोइरालाले महाराजगन्जस्थित निवासमा रहेका सबै सामान भतिजा अतुलको धापासीस्थित घरमा सार्न लगाएका थिए । सोही दिनदेखि सुरक्षाकर्मीले पनि घर छाडेका थिए । बालुवाटारबाट फर्किएपछि सम्भवत: उनी अतुलकै घरमा बस्नेछन् ।

उक्त घर कृष्णरक्षा राजभण्डारीको हो । कोइराला परिवारका दुई शीर्ष व्यक्तित्व लामो समय बसेका कारण उक्त घरले ‘कोइरालानिवास’को पहिचान बनाइसकेको थियो ।