आज मेरो जन्मदिन । ०२३ सालमा आजैका दिन मेरी आमाले मलाई यो धर्तीमा जन्म दिनभएको हो । नेपालको पूर्वउत्तरको दुर्गम पहाडी जिल्ला ताप्लेजुङको दुर्गम गाउँ साँघुमा म जन्मिएको थिएँ । पिछडिएको र दुर्गम ठाउँ भएपनि मेरी आमा र मेरादाजुले सानै उमेरदेखि नै मलाई स्कूल पठाउन र पढ्न प्रेरित गर्नुभयो । म दुईबर्षको हुँदा बाबुको मृत्यु भएकाले बाबुका बारेमा मलाई कुनै सम्झना छैन । बल्यकालमा मलाई हुर्काउने, बढाउने, पढाउने र बाटो देखाउने काममा आमाले नै सम्पूर्ण भूमिका निर्वाह गर्नुभयो ।
त्यसक्रममा उहाँले कति मेहनत गर्नुभयो, कति पसिना बगाउनुभयो, हन्डर ठक्कर कति खानुभयो, त्यसको लेखाजोखा नै छैन । मेरा बाबु शिक्षाप्रेमी र समाझसेवी हुनुहुन्थ्यो भन्ने कुरा परिवारका मानिसहरु र अरु मानिसहरुवाट पनि मैले सुनेको थिएँ । उहाँको पहल र प्रेरणामा खुलेको स्कूलहरु अहिले पनि ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँहरुमा संचालित छन् ।
विकट गाउँमा जन्मिएको एउटा मानिस संघर्ष गर्दै आजका दिनसम्म आइपुगेको छु । नेकपा एमाले जस्तो परिवर्तनकामी पार्टीको केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा आइपुगेको छु । फर्केर हेर्दा मेरो आफ्नै संघर्षले मात्र हैन परिवारको प्रेरणा, मित्रजनहरुको सहयोग र समर्थनको भूमिका पनि त्यतिकै निर्णायक रहेको अनुभव गरेको छु । आजसम्म राष्ट्र र जनताप्रति कुनै घात गरेको छैन । अबका दिनमा पनि राष्ट्रप्रतिको त्यो निष्ठ कायम राख्ने संकल्प गरेको छु ।
म अलि एकोहोरो र हठी छु भनेर कतिपय मित्रहरुले भन्ने गर्छन । त्यही एकोहोरोपनले होला सामन्य बुझाई र चेतना भएदेखिनै राजनीतिको एकोहोरो काममा लाग्दा घर परिवारप्रतिको जिम्मेवारी राम्ररी पूरा गर्न सकेको छैन । त्यसप्रतिको ज्ञानमा पनि कमी नै छ । आज फर्केर हेर्दा मलाई जन्मदिने आमा र बाबुप्रति केही न केही दायित्व पूरा गर्नुपर्दछ भन्ने भावना जागृत भएर आएको छ । अविभावकप्रतिको जिम्मेवारी र सन्तानको दायित्वलाई सामाजिक कामसंग जोड्ने उद्देश्यले हामी दुई दाजुभार्इ (मातृका भट्टराई र योगेश भट्टराई) सहित परिवारका सदस्यहरुको सल्लाहबाट आमा र बाबुको नाममा महेन्द्रदेवी भिमलाल भट्टराई ट्रस्ट स्थापना गर्ने निर्णय गरेको छौं । हाललाई उक्त ट्रस्टमा दाजुभाइले दुई–दुई लाख रुपैँया गरी चार लाख रुपैँया जम्मा गर्ने निर्णय गरेका छौं । भविष्यमा यो कोषलाई बढाउँदै लगिने छ ।
उक्त कोषलाई ताप्लेजुङ जिल्लाको शिक्षामा प्रोत्साहन गर्न विशेष गरी महिला, दलित र जनजातिका लागि छात्रवृत्ति, ताप्लेजुङ जिल्लाको प्रचुर पर्यटन र संस्कृतिलाई राष्ट्रिय / अन्तराष्ट्रिय रुपमा चिनाउन भूमिका खेल्ने संचाकरकर्मी तथा शोधकर्ताहरुका लागि पुरस्कारको व्यवस्था गरिनेछ ।
आजका दिनमा मलाई जन्मदिनको शुभकामना दिनुहुने सबै मित्रजनहरुप्रति हर्दिक अभार तथा धन्यवाद ज्ञापन गर्दछु ।














प्रतिक्रिया