सप्तरी, २१ भदौ । विभिन्न मोबाइल सेवा प्रदायक कम्पनीले राजविराज नगरक्षेत्रका आधादर्जन स्थानमा राखिएको मोबाइल टावरका कारण मानवीय स्वास्थ्यमा चुनौती थपिएको छ ।
नेपाल टेलिकम, एनसेल र युटिएललगायतका मोबाइल सेवा प्रदायक कम्पनीले नगरक्षेत्रका विद्यार्थी, कलेज तथा निजी भवनको छतमा राखिएको टावरका कारण मानव स्वास्थ्यमा चुनौती थपिएको हो ।
मानव स्वास्थ्यलाई समेत ख्याल नगरी मोबाइल सेवा कम्पनीले राजविराज–९स्थित शुभम बोर्डिङ स्कुल, दुर्गा बोर्डिङ स्कुलसहित नगरको आधा दर्जन स्थानमा राखिएको मोबाइलका टावरले मानव स्वास्थ्यमा गम्भीर समस्या हुँदै आएको स्थानीयले बताएका छन् ।
बस्तीभन्दा १०० मिटरको दूरीमा टावर जडान गर्नुपर्ने मान्यताविपरीत मोबाइल सेवा प्रदायक कम्पनीले विद्यालय, कलेज तथा घरको छतमै टावर राखिएकाले विभिन्न स्वास्थ्य समस्या आउने खतरा रहेको स्थानीय चिकित्सकको कथन छ ।
मोबाइलको टावरका कारण हृदयघात, पक्षघात, हाडजोर्नी, मस्तिस्कको क्यानसरलगायतका स्वास्थ्य समस्या आउन सक्ने विश्व स्वास्थ्य सङ्गठनको ठहर छ । विश्व स्वस्थ्य सङ्गठनको उक्त कुरालाई समेत बेवास्ता गर्दै मोबाइल सेवा प्रदायक कम्पनीले राजविराज नगरपालिकालाई समेत बेवास्ता गरेका छन् ।
टावर राख्नु अघि गाविस र नगरपालिकासँग स्वीकृति लिएर मात्र टावर राख्न पाउन व्यवस्थालाई समेत ख्याल नगरी मोबाइल सेवा प्रदायक संस्थाले नगरक्षेत्रका शिक्षा, स्वास्थ्य प्रदान गर्ने स्थानमा टावर राखेका छन् । यसरी विद्यालय र घरको छतमा राखिने मोबाइलको टावरले त्यस क्षेत्रमा सबैभन्दा बढी बालबालिकालाई असर पार्न सक्ने सम्भावना हुन्छ ।
मानवीय स्वास्थ्यलाई नै जोखिममा पार्ने गरी मोबाइलका टावर राखिँदासमेत स्थानीय प्रशासनलगायतका सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । मानवीय स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मोबाइल टावर हटाउन स्थानीयले पटकपटक आग्रह गर्दासमेत अहिलेसम्म कुनै सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ ।
करिब दुई वर्षअघि नेपाल टेलिकमले छिमेकी रामसुरत देवको घरको छतमा राखिएको मोबाइलको टावरले आफ्ना परिवारका सबै सदस्य बिरामी परेको भन्दै घरको छतबाट टावर हटाउन पटकपटक नेपाल टेलिकम कार्यालयमा धाउँदासमेत सुनुवाइ नभएको स्थानीय नारायण राउतले गुनासो गरे ।
स्वास्थ्य जोखिम बढे्को दर्साउँदै टावर हटाउन पटकपटक टेलिकम कार्यालय धाउँदासमेत कार्यालय प्रमुखले टावर हटाउने अधिकार क्षेत्रीय कार्यालय विराटनगरसँग रहेको भन्दै पन्छाउँदै आएको राउतको गुनासो छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका सुपरभाइजरसमेत रहनुभएका राउतले मोबाइल टावर हटाउन टेलिकम, जिल्ला प्रशासन कार्यालय र राजविराज नगरपालिका कार्यालयमा उजुरी गर्दासमेत हालसम्म कुनै पहल नभएको गुनासो गरे ।
नगरक्षेत्रभित्र मोबाइलको टावर अस्पताल, विद्यालय, बस्ने क्षेत्रको के कति दूरीमा राख्दा उचित हुने सोको वैधानिक कागजात पेस गर्न राजविराज नगरपालिका कार्यालयले २०७० चैत २२ गते टेलिकम कार्यालयलाई पत्र काटे कुनै जवाफ पठाएको छैन ।
यस्तै एनसेल कम्पनीले राजविराज नगरपालिका–१ स्थित एक घरको छतमा मोबाइलको टावर राख्नै लाग्दा स्थानीयले विरोध गरेका थिए । मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै उक्त घरको छतमा टावर राख्न रोक्न खोजे पनि बढी भाडा पाउने लोभमा घर मालिकको मिलोमतोमा एनसेल कम्पनीले टावर राख्न सफल भएका छन् ।













प्रतिक्रिया