३० आश्विन २०८३, शुक्रबार

एक्लै यार्सा टिप्न जानेसँग बोल्दा एकलाखसम्‍म जरिबाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarsaमुगु, २१ भदौ ।  मुगु गाविस-६ का एक व्यक्ति गाउँलेलाई छलेर एक्लै यार्सागुम्बा टिप्न लेकतिर गएको आरोपमा उनीसँग बोल्ने व्यक्तिले पनि जरिबाना तिर्नुपर्ने भएको छ। स्थानीय कार्मा काङ्डोल लामा सहमतिविपरीत एक्लै यार्सा टिप्न गएको भन्दै गाउँलेले उनीसँग बोलचाल गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना तिराउने उर्दी गरेका हुन्।

गत जेठमा गाउँलेबीच सबैजना एकैपटक यार्सा टिप्न जाने सहमति भएको थियो। तर कार्मा सहमतिविपरीत अगाडि नै र्या टिप्न गएको आरोप लगाउँदै गाउँलेले उनलाई जरिबाना तिराउन खोजेका थिए। आफूले कुनै गल्ती नगरेको भन्दै उनले जरिबाना नतिर्ने बताएपछि गाउँलेले उनीविरुद्ध जिल्ला वन कार्यालयमा वन्यजन्तु र जडीबुटी चोरीनिकासी अभियोगमा मुद्दा हालेका थिए।

अहिले उनीसँग बोल्ने र उठबस गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्ने घोषणा गाउँलेले गरेका छन्। त्यसको कार्यान्वयन पनि सुरु भइसकेको छ।

कार्मासँग फोनमा कुरा गरेको भन्दै गाउँलेले स्थानीय पेमा तोर्ची लामालाई ५० हजार र उनका नाता पर्ने अर्का एक स्थानीयलाई ६० हजार रुपैयाँ जरिबाना गरेका छन्। त्यस्तै आफ्ना घरमा सहयोगी रहेका त्याक्याप कामीलाई समेत गाउँलेले ५० हजार रुपैयाँ जरिबाना गराएको उनले बताए।

चीनसँग सीमा जोडिएको मुगु गाविसमा कुनै व्यक्ति गाउँका समुदायबाट फरक हुन चाहेमा गाउँलेको स्वघोषित नियमअनुसार सजायको भागीदार हुनुपर्छ। उस्तै परे गाउँलेले गाउँनिकालासम्म गर्ने चलन रहेको स्थानीय बासिन्दाले बताए।

कार्माकी पत्नीसँग मिलेर सिरानीचौरमा पसल सञ्चालन गरेको भन्दै स्थानीय टोमा लामालाई एक लाख रुपैयाँ जरिबाना गराउने सहमति गाउँलेबीच भएको छ। गाउँमा हुने यस्ता गतिविधिबारे कसैलाई जानकारी गराउँदा गाउँनिकाला हुने डरले चित्त नबुझे पनि चुप लागेर बस्नुपर्ने बाध्यता रहेको एक स्थानीय बासिन्दाले बताए।

अघिल्लो वर्ष पनि यार्सा खोज्न अगाडि नै वन प्रवेश गरेको भन्दै कार्मालाई गाउँलेले २२ लाख रुपैयाँ जरिबाना तिराएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । कर्माले भने, ‘यस वर्ष पनि निहुँ पारेर पैसा खान खोजेका थिए, मैले तिर्न मानिनँ, त्यसैले मलाई गाउँलेले झूटो मुद्दा लगाएका छन्। मसँग बौल्ने गाउँका मान्छेलाई समेत सजाय गर्छन्।’

अहिले कार्माले आफूविरुद्ध झूटा मुद्दा हाल्नेलाई धनसम्पत्ति लुटपाट अभियोगमा जिल्ला अदालत मुगुमा मुद्दा दर्ता गरेका छन्। गाउँलेले भने कार्मा र उनका भाइविरुद्ध वन मुद्दा दर्ता गरेका छन्।