तपाईले मलाई मुद्दा लगाउन सक्नु हुन्न । किनकी म अपराध कर्म नै गर्दिन । तर झुठा मुद्दा लगाउन सक्नुहुन्छ । त्यति मात्र होईन थुनेर यातना दिन सक्नु हुन्छ । तपाईसंग लगभग ७ सय बन्दुक छन् । गोली हानेर मार्न पनि सक्नु हुन्छ । पदीय अधिकारको दुरुपयोग गर्नु तपाईका लागि सुकर्म जस्तै भएको छ । तर जुन समाजमा तपाई जस्ता प्रहरी अधिकारी छन् त्यहा मृत्युको भयले कलमजीवीहरुले सत्यलाई असत्य र असत्यलाई सत्य लेख्ने हो भने त्यहाँ मध्यान्ह दिउँसोमै रात पर्छ । धेरै आत्मश्लाघा गर्न मन छैन तर पञ्चायतमा सूर्यबहादुर सेन ओली जस्ता अञ्चलाधिस्को पहिलो तारो थिए म कुनैदिन । त्यो दिन त झेलियो अहिले त लोकतन्त्र छ । म गोलबजारको गोलपार्क नजिकै पत्रिकाको कार्यालयमा एक्लै काम गरिरहेको हुन्छु । त्यहाँवाट घर जान्छु र एक्लै कोठामा सुत्छु । मेरो कार्यालय र घरको कोठामा ढोका त छ तर त्यसमा आग्लो छैन । तपाईलाई विरोधी सिध्याउन मन छ भने आउनुस् । सजिलै मार्न सक्नु हुन्छ । किनकी म त प्रतिहिंसात्मक प्रतिवाद पनि गर्दिन । म अहिंसावादी हुँ । तर मेरो लास जलेर उडेको खरानीले पनि भन्ने छ तपाईले निर्दोष देवनारायण साहको चरित्रको शिरोच्छेदन गर्नुभयो । “बहुत कठिन मानुष तन पावा” । यो मनुष्य जुनी बहुत कठिनले मिलेको छ । सूर्य लगायत सुर र मुनीहरु सवै मनुष्य जुनीमा आउन ललायित छन् । यो भनाई हो गोस्वामी तुलसी दासको । तर तपाई जस्ता प्रहरी अधिकारी र तपाईकै अपकृतिलाई सुकृति भनेर लेख्ने भजनमण्डली पत्रकारहरु देखेर मनुष्य भएर जन्मिन पनि कोही तयार हुने छैन । ओह ! त्यहाँ त नर्क छ, विना कारण विना कसुर सजाय भोग्नु पर्छ भनेर मनुष्य बन्न अस्विकार गर्नेछन् । अहिले सिरहामा तपाईले आतंकको वतावरण सृजना गर्न खोज्दै हुनुहुन्छ । दिउँसै रात पार्ने प्रयास गर्दै हुनुहुन्छ ।
तपाईका सूचना संयन्त्रहरु तगडा होलान । तर हामी पनि सूचना कै जोहोमा लागि रहेका हुन्छौ । हाम्रा पनि तेज तर्रार सूचना संवाहकहरु छन् । तपाईले २/४ वटा ऐन नियमहरु पनि पल्टाएर हेर्नुभयो । अर्जुन थपलियालाई कुन मुद्दा लगाउन सकिन्छ भनेर तपाईका कृपापात्रहरुसंग विचार विमर्श पनि गर्नुभयो । शुक्रवारको साँझ पक्राउ गरियो भने आईतवारसम्म त सजिलै थुन्न सक्ने तपाईको ईरादा थियो । त्यसकारण मलाई र संतोष यादवलाई पक्राउ गर्न अह्राउनु भयो । तपाईको चेस चाल विश्लेषण गर्न थोरै वियाँलो भयो । हामी त सदस्यताका लागि निवेदन फाईल बोकेर काठमाण्डौ जान लागेका संतोषलाई रोक्ने चाल हो भनेर फाईल र संतोषलाई तपाईको नजरबाट बचाउन तिर लाग्यौं । तपाईले सम्झिनुभयो होला यिनीहरु फरार भए । हामीले के अपराध गरेका छौं र भाग्नु ? तपाई बोलाउनुस् न हामी त्यही आईपुग्छौ । प्रहरी खटाउनै पर्दैन ।
हामीले त पञ्चायतकालमा घरका भित्ताहरुमा पनि अन्यायका खिलाफ नारा लेख्यौं । अहिले लोकतन्त्र छ र विज्ञानको चमत्कार फेसवुकका भित्ताहरु पनि छन् । त्यहाँ पनि लेख्छौ । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ । लोकतन्त्रका लागि लडेकै त्यसको लागि हो । अन्यायका खिलाफ भित्ता कोर्न पाईन्छ भनेर । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालयले फेसवुकको भित्तामा आफ्ना गतिविधि लेख्न पाउने हामीले अन्यायका खिलाफ लेख्न नपाउने ? लोकतन्त्रमा अन्यायको खिलाफ अभिव्यक्ति दिदा जेल परिन्छ भने जेलवासी हुन पनि तयार छौं ।
दुनियाँमा सवैले निःशुल्क दिन चाहने तर कसैले पनि लिन नचाहने एउटा चीज छ । त्यो चिज हो सल्लाह । आधुनिक समाजमा भनिन्छ नमागी सल्लाह दिन हुंदैन तर एउटा धृष्टता गरें मैले आज । नमागी एउटा सल्लाह पस्किए । लिनु नलिनु तपाईको मर्जी । एउटा खाँवोमा सारी लटपटिएको देख्दा पनि कामुकता जाग्ने,तरंगित हुने र स्त्री हो की भनेर वाईक रोकेर छामेर मात्र अगाडी बढ्ने स्त्री लम्पटहरु तपाईका वरिपरी विश्वासपात्र बनेर बसेको तपाईलाई हेक्का छैन । उही व्यक्ति तपाईका निकटवर्ती सल्लाहकार छन् । तपाई त हिजो आउनु भएको हो सिरहा । तर आम सिरहावासीलाई थाहा छ, कस्को चरित्र कस्तो छ ? कृपया अलि खुट्याएर हेर्नुस् न । उनीहरुले लगाएको प्रसस्त डोवहरु छन् समाजमा ।
तत्कालिन अमेरिकी राष्ट्रपतिले आफ्ना दुई अनुसाशित सैनिक पायलटलाई आदेश दिए । जाहाज उडाउ र जापानमा अणुवम झारेर आउ । उनीहरु तालिम प्राप्त सैनिक थिए । तालिमले उनीहरु भित्रको सृजनात्मक मनुष्यलाई मारेर यान्त्रिक मनुष्यमा रुपान्तरण गरिसकेको थियो । सृजनात्मकता नभएको, मात्र अनुसाशित मनुष्य यन्त्रवत हुन्छ । त्यसैले फौजीलाई तालिम दिईन्छ । सृजनात्मकता मार्न र मनुष्यलाई यन्त्रमा बदलिन । जसलाई अनुसाशन भनेर परिभाषित गरिन्छ । नत्र चेन अफ कमाण्ड रहदैन । तालिमको दरबियानमा रिक्रुटहरुलाई भनिन्छ– ऐ त्यो रुप उखालेर ल्या ! रिक्रुट हतपत दौडेर जान्छ र रुख उखाल्ने यत्न गर्छ । उसलाई पनि थाहा छ की यो रुख उखेलिदैन हातले । तर पनि आदेश पालना गर्न विलम्व गर्दैन । यो हो सृजनात्मक मनुष्य मारेर यान्त्रिक मनुष्य बनाउने काईदा ।
ती दुई अमेरिकी पाईलट भित्र सृजनात्मक मनुष्यता भएको भए उनीहरु आफ्नो मृत्यु स्विकार गर्थे तर आम निर्दोष जापानीहरु माथी अणुवम फाल्न जादैनथे । अमेरीकी राष्ट्रपति रुजवेल्टको आदेश अस्विकार गर्थे । तर उनीहरु आदेश मान्ने चेन अफ कमाण्डवाट बाँधिएका यान्त्रिक मनुष्य थिए । अणुवम झारेर निर्दोष मानिस मरेको खवरले पछि आहत भए । आत्महत्या पनि गरे । तर सृजनात्मक मनुष्य ढिलो जाग्यो ।
हामी त सिभिलियन हों अर्थात आम नागरिक । हामीले सृजनात्मकता मारेर यान्त्रिक मनुष्य बन्ने तालिम लिएका छैनौ । हामी कसैका अगाडि तनक्क तन्किदैनौं कसैले हामीलाई सास्टाङ्ग प्रणाम पनि गर्नु पर्दैन । हामी समआदरमा विश्वास गर्छौ । सम्मान गर्नका लागि कसैले पनि विशेष पात्रता हाँसिल गरेको हुनु पर्दैन । पद , प्रतिष्ठा, धन वा अन्य कुनै सिद्धि हेरिदैन । सम्मान दिनका लागि मानिस भए पुग्यो । हाम्रो नजरमा हरेक मनुष्य सम्मानका अधिकारी छन् । सम्मानका पात्र छन् । त्यसकारण मानिस मानिस विच हामी कसैलाई महान र कसैलाई तुच्छ देख्दैनौं । तपाई जुन संगठनमा हुनुहुन्छ त्यहाँ मात्र एक पद तल माथि हुनेवित्तिकै तनक्क तन्किनु पर्छ । आदेश मान्नुपर्छ । त्यहाँ आदेश चल्छ । चेन अफ कमाण्ड हुन्छ । त्यसकारण तपाईको मनोवृति, शारिरीक भाषा, जीवन शैली र आम मानिससंग गर्ने व्यवहार फरक हुन्छ । त्यसमा तपाईको कुनै गल्ती छैन । संगठनको चरित्र नै त्यस्तो हो । मूल कुरा के हो भने सिभिलियनसंग संगठन भित्रका कनिष्टलाई जस्तो व्यवहार प्रदर्शन गर्नुभएन । यो बानी सुधार्नुहोस् । थोरै सृजनात्मकता जगाउनुस् । तपाईले उमेरको लेखाजोखा समेत नगरी पत्रकारहरुलाई “ भाई तिमी ” भन्ने संवोधन गरेर मान मर्दन गर्न खोज्नु हुन्छ । यो आफैमा निकृष्ट कार्य हो ।
गुरुको आदेशले कृष्ण र सुदामा वनमा दाउरा लिन जाँदा गुरुआमाले दिएको खाजा एक्लै लुकेर ढाँटेर खाए सुदामाले । यो कथा धेरैलाई थाहा छ । तर गुह्य कुरा के थाहा छैन भने, जव घटनावारे गुरुले थाहा पाउँछन् अनी उनले सुदामालाई भन्छन् तिमीले जुन पाप गर्यौं त्यसवाट त मेरो आर्शिवादले पनि बचाउन सक्दैन । रामायणमा लक्ष्मणले स्विग्रिवलाई भनेका छन् सवै पापवाट मुक्ति पाईन्छ तर कृतघ्नताको पापवाट मुक्त हुन सकिदैन । महाभारतमा अर्जुनले विराटको लडाई जितेर भनेका छन् निर्दोषलाई अपमानित नगर । यो पापले ज्यादै पोल्छ । निर्दोषलाई फसाउने र मानव अधिकारको हनन् गर्ने कार्य अपकृति हो । तपाईको यो अपयश दिगदिगान्तसम्म फैलिन्छ । जगजित सिंहले एक नज्म गाएका छन् । बात निकली है तो दुर….तलक जायगी …. अव कुरा निस्किरहेको छ त यो दुरसम्म जान्छ नै । यसलाई रोक्ने एउटा मात्र शुत्र छ । त्यो शुत्र हो “भला मनुष्यले देखाउँदैनन् दम्भ । ” तपाई दम्भ त्याग्नुस् । गल्ती सच्याउँदा वैभव घटदैन । हामी तपाईलाई माफी माग्न पनि भन्दैनौ । देव नारायण साहलाई किन गिरफ्तार गर्नुभयो भनेर जवाफ पनि माग्दैनौ । मात्र यति भनिदिनुस् तर औपचारिक रुपमा, देव नारायण साहलाई पक्राउ गरेर किन छोड्नु भयो ? किनकी लोकतन्त्रमा आफूले गरेको कामको यति जवाफदेही वहन गर्नु तपाईको कर्तव्य हो । हाम्रो तपाईसंग कुनै वैरभाव छैन । यसलाई अनन्त समयसम्म श्रङ्खलावद्ध रुपमा तन्काई राख्ने अभिप्राय पनि होईन । तर आफूलाई परेको अन्यायको विलौना पोख्न हामी विवश छौं ।
पत्रकार अर्जुन थपलिया
सिरहा ।
















प्रतिक्रिया