काठमाडौं, ५ मंसिर । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूमा आफ्नै फार्मेसी अनिवार्य रूपमा राख्नुपर्ने ताकेता गरिरहेको बेला सरकार मातहत रहेका अस्पतालले भने फार्मेसीबाट करोडौँ कमाउन सफल भएका छन् ।
१५ वर्षअघि स्थापना भएको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीले एकै वर्षमा आठ करोड रुपियाँभन्दा बढी रकम कमाएको छ भने तीन वर्षअघि मात्र स्थापना भएको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रको फार्मेसीले ५० लाख रुपियाँ कमाउन सफल भएको छ ।
गङ्गालाल अस्पतालको फार्मेसी खर्च कटाएरै उक्त रकम कमाउन सफल भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले केन्द्रको फार्मेसीले मासिक औसत ६७ लाख रुपियाँ आम्दानी गर्ने गरेको जानकारी दिए ।
यस अस्पतालको खुद नाफा मात्र हो, कार्यकारी निर्देशक डा शर्माले भने, ‘फार्मेसीमा मात्र अस्पतालले ३५ देखि ४० करोडसम्मको कारोबार गर्ने गरेको छ ।’
मानव अङ्ग प्रत्यारोपणका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पताल स्थापना भएको केही वर्षमै फार्मेसीबाट लाखौँ आम्दानी गर्न सफल भएको बताए ।
हामीले निजी फार्मेसीभन्दा ४० प्रतिशतसम्म कम मूल्यमा औषधि बिक्री गरिरहेका छौँ, निर्देशक श्रेष्ठले भने, ‘गत वर्षमात्र चार करोड २० लाख रुपियाँको कारोबार भएकोमा ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ ।’
डा श्रेष्ठले अस्पतालको फार्मेसीबाट औषधि किनेर बाहिर लगि निजी फार्मेसीबाट नाफा लिई बेचेको पाइएको जानकारी दिए ।
यसैगरी गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले फार्मेसीबाट गत आर्थिक वर्ष ३८ करोड ८० लाख रुपियाँभन्दा बढीको कारोबार भएको जानकारी दिँदै त्यसबाट आठ करोड रुपियाँ नाफा भएको बताए ।














प्रतिक्रिया