काठमाडौं, ३ मंसिर । पहिलो चरणअन्तर्गत पानी प्रशोधन केन्द्र निर्माण ९५ प्रतिशत र पाइप बिछ्याउने काम ६३ प्रतिशत सम्पन्न भएको छ ।
आयोजना व्यवस्थापन पक्षले मेलम्चीको पानी सुरुङ हुँदै सुन्दरीजलमा खस्नुअघि नै वितरणका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने प्रशोधन केन्द्र निर्माण र पाइप बिछ्याउने कामले तीव्रता पाएको छ ।
सुन्दरीजलमा निर्माणाधीन प्रशोधन केन्द्रको ९५ प्रतिशत काम सकिएको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए ।
पहिलो चरणमा निर्माण थालिएको ८ करोड ५० लाख लिटर क्षमताको प्रशोधन केन्द्रको काम पाँच प्रतिशत बाँकी छ ।
‘बाँकी काम फागुन १५ गतेसम्ममा सकिन्छ,’ दुवाडीले भने । दोस्रो चरणअन्तर्गत ८ करोड ५० लाख लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण यही महिनाबाट सुरु हुने र १८ महिनाभित्र सकिने उनले जानकारी दिए ।
सुरुङ निर्माण पूरा भएपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आगामी असोजसम्ममा सुन्दरीजलमा खसाउने योजना छ ।
आगामी दसैँअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने योजना छ ।
मेलम्चीको पानी उपत्यकाका घरघरमा पुर्याउन ६७० किमि पाइप बिछ्याउनुपर्नेछ । यसमध्ये ४२० किमि काम सकिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
यो कुल काममध्ये ६२.६८ प्रतिशत हो । त्यस्तै, थोक वितरण (प्रशोधन केन्द्रदेखि पानीपोखरीसम्म) प्रणालीका लागि ६१ किलोमिटर पाइप बिछ्याउनुपर्नेमा अहिलेसम्म ३० किलोमिटर सकिएको निर्देशनालयका उपनिर्देशक अनिलभद्र खनालले बताए ।
व्यवस्थापनले मेलम्चीको पानी सुरुङ हुँदै सुन्दरीजलमा खस्नुअघि नै वितरणका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने दाबी गरेको छ ।














प्रतिक्रिया