२८ आश्विन २०८३, बुधबार

ल्यापटप खाले श्रीमती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwa-Binod-Ghimire3

श्रीमती पनि दुई खालका हुने भएछन् जमानाले । यौटा घरैमा कजाउन मिल्ने अर्की बाहिर बाहिर सजाउन मिल्ने । मन भा’का मान्छे भन्दा पनि धन भा’का मान्छे लाई थरिथरिका श्रीमती फेर्न मिल्ने रहेछ । घरमा छे चिटिक्क परेकी पियारी तर नि कहिलेकाँही भै हाल्छ गडबडी भन्या झैं घर कि भन्दा परकी राम्री देख्ने तपाईको हजुरवाको पाला भन्दा पनि अगाडि देखिकै चलन हो ।

कम्प्युटर २ खालका हुन्छन् । यौटा डेस्कटप, अर्को ल्यापटप । डेस्कटपमा बिभिन्न तारहरु जडित हुन्छन् । यो अलिक भद्दा हुन्छ । बाहिर लिएर हिँड्न मिल्दैन । यो लिएर हिड्दा झन्झटिलो हुन्छ । तर त्यसको बिपरित ल्यापटप चट्ट बोकेर झट्ट हिड्न मिल्छ । यो झोलामा लुकाउन सकिन्छ, बोक्न सकिन्छ, बोकाउन सकिन्छ ।

जोड्नलाई तार चाहिन्न । झन्झट पनि हुन्न, कन्चट पनि तात्दैन । जहाँ लैजान पनि मिल्ने, जहाँ पनि बिना ब्याट्री लामो समय काम गर्न सक्ने ल्यापटपको बहुगुण हो । त्यस्तै श्रीमती पनि डेस्कटप र ल्यापटप खाले हुने गर्दछन् । घरकी श्रीमती डेस्कटप खाले श्रीमती हो भने अर्काकी श्रीमती (जस्लाई तपाईँले आफ्नी भन्दा बढी माया गर्नु हुन्छ) उ चाहिं ल्यापटप खाले श्रीमती । हुन त उ वास्तबिकतामा अर्कैकी श्रीमती हो । तर, उस्को श्रीमान बाहिर भएको हुँदा उस्ले रेमिट्यान्स खेती गरिदिँदा उ तपाईंको केटी बन्न सकेकी न छ ।

मैले धेरै बर्ष अघि पढाउँदा यौटा सानो भाईले आफ्नै कक्षाकी यौटी नानीलाई प्रेमपत्र अलपत्र तरिकाले लेखेछ । ती केटिले केटालाई सजायको माग गर्दै हेडमास्टरको कोठामा पुगेपछि हेडसरबाट मुद्दाको छिनोफानो गर्ने जिम्मा मलाई नै आइलाग्यो । पछि मैले त्यो चिठी लेख्ने सानो भाईलाई तिमीलाई साँच्चै त्यो केटी मन पर्छ ? भन्दा उस्ले मनपर्ने कुराको स्वीकारोक्ति जनायो । अनि मैले उस्लाई सोधें अनि तिमीले उस्लाई बिहे गर्छौ त ? उस्ले मलाई भन्यो, लभ मात्रै गर्छु सर बिहे त गर्दिन । हो, ल्यापटप खाले श्रीमतीलाई तपाईले लभ गरे पुग्छ, गफ गरे पुग्छ, बिहे गर्नु पर्दैन । उस्लाई तपाईंले ल्यापटपझैँ लुकाएर भित्रिनी या बाहिरिनी बनाउन सक्नुहुन्छ । उ सजिलै लिएर हिडन मिल्ने खाले हुन्छे । लुकाएर लिएर हिड्न मिल्छ यिनीलाई । समाजमा लाज हटाउन ल्यापटप खाले श्रीमतीले तर्पाँलाई सघाउ पुग्छ । साँच्चै भन्नुस् न घरकी भन्दा परकी कुन आकर्षक हुन्छन् ? हो परकी नै आकर्षक हुन्छन् जस्तो कि ल्यापटप डेस्कटप भन्दा आकर्षक हुन्छ । कहिल्यै डेस्कटपलाई तपाईले गर्वका साथ सजिलै लिएर हिड्नु भा’छ र अबश्वै छैन । त्यस्तै डेस्कटप जति भद्दा हुन्छ, ल्यापटप भद्दा हुन्छ र ? तपाईँकी घरकी श्रीमती जति भद्दा, अनाकर्षक छिन् नि ल्यापटप खाले श्रीमती आकर्षक, छरितो हुन्छिन् । ल्यापटप प्यारो भएकाले होला काखमा राख्न मिल्छ, श्रीमतीमा पनि यो कुरा लागु हुन सक्छ ।

दरबारमा घरबार गरेका राजाले पनि खाजा खाने बेला बाजा बजाएर अर्कै भित्रिनी र बाहिरिनी हुन्थे रे । श्री ५ का श्रीमती पाँच वटा भन्दा पनि बढी भएको पाइन्छ । त्यसैले श्री ५ भनेका होलान् । मुख्य भएपनि सहायक धेरै भएका उदाहरण पाइन्छ । आजकल गाउँका दाजुभाई कामको लागि कतार धाम, साउदी धाममा कामको पूजा अर्चना गर्न गएका बेला तिन्का श्रीमती ल्यापटप बनेर गफका बिषय बनेका छन् । जमाना रेमिट्यान्सको छ । श्रीमानले रेमिट्यान्सबाट स्वदेशमा लाखौं पठाएको पाइन्छ । बजारको हर्केले फर्की फर्की मैँयामा रेमिट्यान्स खेती गरिरहेको छ ।

ल्यापटप पट्याएर सजिलै झोलामा राखेर खोला तिर लैजान सकिन्छ । त्यस्तै ल्यापटप खाले श्रीमती पनि फोल्डिङवाला हुन्छन् । यिनीहरुलाई लुकाउन र समय अनुसार फुकाउन सजिलो हुने देखिएको छ । ल्यापटप कम्प्युटरले डेस्कटपलाई चिन्ता बढाएको पाईन्छ । यसरी नै तपाईकी डेस्कटप श्रीमतीलाई पनि सँधै ल्यापटप खाले श्रीमती छ कि भनेर चिन्ता भइरहन्छ । अर्को अर्थिक बिशेषता के हो भने ल्यापटप खाले श्रीमती सजिलै उपलब्ध भैदिने बानीले गर्दा मूल्य नै राख्ने हो भने डेस्कटप खाले श्रीमतीको महंगोे पर्न जान्छ किनकी यिनीहरु घरका गृहमन्त्री हुन् भने परकी डेस्कटपलाई केबल तपाईको साथ भए पुग्छ ।

ल्यापटप हलुङ्गो हुन्छ, डेस्कटप गहु्रङगो । त्यस्तै ल्यापटप खाले श्रीमती हल्का हुन्छन्, तपाईले चाहेको ठाउँमा सजिलै उपलब्ध हुन्छन् । तपाईको मात्र नभै वरपरका घरमा पनि कसै कसैका ल्यापटप खाले श्रीमती बग्रेल्ती हुन्छन् । काखमा बसेर लाखको चाख दिन ल्यापटप खाले श्रीमतीको जरुरत पर्दछ । घरकी श्रीमती घरायाशी कामले थिचिएको बेला ल्यापटप श्रीमती सँग बसेर चौरासी ब्यन्जन घिचिएको अनुभव तपाईलाई थाहै छ । डेस्कटप श्रीमती कुवाको भ्याकुतो हुन् भने ल्यापटप श्रीमती तपाईको तेश्रो आँखा बनेर हिडिरहेकी भेट्न सकिन्छ ।

डेस्कटप श्रीमतीलाई पाल्न सक्नुहुन्छ तर फाल्न सक्नुहुन्न किनकी मारे पाप पाले पुण्य भनेर तपाईले ती नानीको सारी तानीतानी ल्याउनु भएको थियो । तर सजिलो कुरा यो हो कि ल्यापटप श्रीमतीको डोनर तपाई हुनुपर्दै उनीसँग संगत त गर्नुहोस् उनी तपाईको आयोजक प्रायोजक बन्न सक्छिन् । घरकीलाई तपाईले खर्च गर्दै घुमाउनु पर्छ तर परकीले तपाईलाई नै खर्च गर्दछिन् । घरकी बाट कहिल्यै कुनै कपडा उपहार पाउनु भएको छ र ? अहँ छैन तर परकी ल्यापटप खाले श्रीमतीले तपाईलाई कति धेरै नगद र जिन्सी सामान उपहार दिएकी छन् त्यसको कुनै लेखाजोखा नै छैन ।

ल्यापटप खाले श्रीमती तपाईकी आदीनाथ, ब्रम्हा, बिष्णु, महेश्वर हुन सक्छिन् । तपाईकी श्री गणेश हुन् उनी, पैसाकी कुबेर हुन् उनी । पैसाको अभाबले दवाव दिएको बेला तत्काल ल्यापटप खाले श्रीमतीलाई पुकार गर्नुभयो भने तपाईले पैसाको एैसामा रमाउन सक्नुहुन्छ । तर डेस्कटप तपाईको लागि दुर्वासा ऋषि हुन सक्छिन् किनकी घरको चार पर्खालमा घेरिएर उनको आर्थिक उपार्जन शुन्य भा’को बेला उन्ले तपाईलाई पुण्य दिलाउन सक्दिनन् । भलै घरकी श्रीमतिको घुमे्रको कपाल तपाईलाई अनाकर्षक लाग्ला । तर, सोही अबस्थाकी ल्यापटप श्रीमतीको कपाललाई तपाईले प्रशंसाको कुरा गर्नु भएकै होला कर्ली कपाल भनेर । घरकीको नङ लामो हुँदा तपाईले जंगली भनेर गाली गर्नु भा’को होला । तर, परकीको नङ लामो हुँदा तपाई त्यसलाई स्वभाबिक मानिरहनु भएको छ । घरकीले कपाल छोट्याउँदा नक्कलीको संज्ञा तपाईले दिई रहँदा परकीको कपाल तपाईको भन्दा पनि छोटो भए पनि तपाई तिनै ल्यापटप श्रीमती सक्कली लाग्न सक्छ । घरकीले पाईन्ट लगाइन् भने तपाईको जिब्रो जिराफको भन्दा लामो बन्न सक्छ । तर, परकीको पाइन्ट देखेर तपाईं गर्वले गद्गद् गर्न सक्नुहुन्छ । घरकीले लिपिस्टिक लगाएको रुचाउन तपाईलाई हम्मेहम्मे पर्छ । तर, परकीले लगाएको लिपिस्टिकको कमालले तपाईको मन् मज्जाले तानेको भने अबश्वै हो । लौन डेस्कटप ठीक कि ल्यापटप ठीक ? भन्न सक्नुहुन्छ ? जदौ