काठमाडौ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक सुवास निरौलाले आर्थिक अनियमितता गरेको भन्दै पर्यटन व्यवसायीले कारबाहीको माग गरेका छन् ।
संयुक्त पर्यटन समन्वय समितिको आयोजनामा व्यवसायीहरुले बिहीबार राजधानीमा पदयात्रा समेत गरे । ठमेलबाट सुरु भएको पदयात्रा त्रिदेवीमार्ग, दरबारमार्ग, घन्टाघर, रत्नपार्क हुँदै भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आएर सभामा परिणत भएको थियो । सभामा बोर्डको कार्यकारी प्रमुखको अविलम्ब नियुक्ति र बोर्डमा भ्रष्टाचार गतिविधि रोक्नुपर्ने भन्दै पर्यटन क्षेत्रका विविध व्यवसायी तथा उनीहरुका संघसंस्थाले आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
समितिका संयोजक रमेश धमलाले पर्यटन व्यवसायको विकासमा निजी क्षेत्रलाई समुचित वातावरण निर्माण गर्न बोर्डमा कार्यकारी अधिकारसहितको प्रमुख नियुक्ति आवश्यक रहेको भन्दै सो संस्थामा आर्थिक पारदर्शिताको प्रश्न उठेकाले छानबिन गर्न माग गर्नुभयो ।
पर्यटन व्यवसायमा निजी क्षेत्रका विभिन्न संघसंस्थाको सहभागितामा वैशाख १८ गतेदेखि व्यवसायीले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।












प्रतिक्रिया