– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २७ कात्तिक । आगामी मंसिर ५ गते नेपालगन्जमा हुन लागेको ‘नेपालगन्ज पिस म्याराथन’ का लागि रङ्गशालाको शनिबार सरसफाई गरिएको छ ।
तत्कालिन सरकार र माओवादी बिच भएको विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा हुन लागेको ‘नेपालगन्ज पिस म्याराथन’ तयारी स्वरुप शनिबार नेपाल प्रहरीको सहयोगमा नेपालगन्ज रङ्गशाला सरसफाई भएको छ ।
नेपाल प्रहरीले रङ्गशालामा भएको झारजंगल काट्नुका साथै प्लाष्टिकजन्य बस्तु हटाएको प्रतियोगिता आयोजक क्रियटिभ ह्यान्डस्का अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । उनले रङ्गशाला सरसफाई पूरा भएको बताए । ‘सरसफाई लगायत म्याराथनमा सहभागी हुने खेलाडीको टुंगो लगाउने कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।
‘शान्ति, सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ हुन लागेको दोस्रो संस्करणको प्रतियोगिता गत बर्षको भन्दा फरक र विधा थप गरिएको छ । क्रिएटिभ ह्यान्ड र सेलिब्रिटी खबर अनलाइन पत्रिकाको पहल एवम् विभिन्न सामाजिक संघसंस्थाको साझेदारीमा ‘नेपालगन्ज पिस म्याराथन तथा शान्ति, सद्भाव र बहुभाषिक सांस्कृतिक उत्सव’ आयोजना हुन लागेको ठकुरीले बताए ।
खुला प्रतिस्पर्धात्मक म्याराथन नेपालगन्ज रङ्गशालाबाट सुरु भई कोहलपुर पुगेर पुन फर्किनेछ । प्रतियोगिता अन्तरगत यस बर्ष ४२.९७ किलोमिटर पुरुष खुल्ला म्याराथन र महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । नेपालगन्ज्मा पहिलोपटक महिलाका लागि खुल्ला हाफ म्याराथन (२१ किलोमिटर) समावेश गरिएको उनले बताए ।
म्याराथनका शीर्ष ८ लाई नगद पुरस्कार
पुरुष खुल्ला म्याराथनमा शिर्ष ८ जनालाई पुरस्कारसहित प्रमाण–पत्र प्रदान गरिने भएको छ । पहिलो हुने खेलाडीले ५१ हजार, दोस्रोले २५ हजार, तृतीयले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पाउने भएका छन् । क्रियटिभ ह्यान्डका अध्यक्ष ठकुरीका अनुसार पाँचौ, छैठौँ, सातौँ र आठौँ हुनेले ५–५ हजार रुपैयाँ पुरस्कार, शिल्ड र प्रमाण–पत्र पाउने छन् ।
महिला खुल्ला हाफ म्याराथनमा पहिलो पनि शिर्ष ६ जनालाई पनि नगद पुरस्कार प्रदान गरिने क्रियटिभ ठकुरीले जानकारी दिए । उनका अनुसार पहिलो हुनेले २५ हजार दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथोले ५ तथा पाँचौ एवम् छैठौँले ३–३ हजार रुपैयाँ पुरस्कार, शिल्ड र प्रमाण–पत्र पाउने छन् ।
त्यसैगरी, ५ किलोमिटर विद्यालयस्तरीय छात्रछात्रा दौड तथा ह्वील चियर दौडलाई निरन्तरता दिइएको छ । उक्त विधामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ५ हजार, ३ हजार र ३ हजार रुपैयाँ पाउने छन् । त्यसका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा सचिवालय स्थापना गरिएको छ । ‘खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ,’ प्रतियोगिता संयोजक वरिष्ठ एथलेटिक्स प्रशिक्षक विक्रमजंग थापाले भने ।
राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत–संगीत प्रस्तुति
शान्ति, सद्भाव र बहुभाषिक सांस्कृतिक उत्सवमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत–संगीत र गजल कविता एवं नृत्य प्रस्तुत हुनेछन् । शान्ति चित्रकला प्रदर्शनी र हिंसा अन्त्यः शान्ति अठोट हस्ताक्षर अभियान पनि राखिएको छ । साथै कलिला बालबालिकाको मनोविज्ञानलाई मध्यनजर गर्दै ५ वर्षदेखि १२ वर्ष उमेर समूहमा पनि प्रतिस्पर्धात्मक खेल समावेश गर्ने तयारी गरिएको छ । ‘म्याराथनमा विदेश धावकलाई पनि सहभागी गराउने तयारी भइरहेको छ,’ थापाले भने ।
प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले यस बर्ष विद्यार्थीको लागि ५ किलोमिटर सडक दौड समावेश समेत समाबेश गरिएको छ । मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयबाट करिब १ सयजना छात्रछात्राले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । म्याराथन रुट मापनका लागि नेपाल एथलेटिक्स संघले दक्ष जनशक्ति परिचालन गर्नेछ । ‘एथ्लेटिक्स संघबाट मान्यता पाउनका लागि म्याराथन मापन गर्न विज्ञ टोली नेपालगन्ज आउँदैछ,’ उनले बताए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले म्याराथन प्रतियोगिताको समन्वय गर्ने भएको छ ।
गत बर्ष सेनाका होमलालले जिते म्याराथन
गत वर्ष १३ जना धावकले खुला म्याराथन (नेपालगन्ज–कोहलपुर–नेपालगन्ज) पूरा गरेका थिए । नेपाली सेनाका होमलाल श्रेष्ठ ‘नेपालगन्ज पिस म्याराथन २०१५ को उपाधि जित्न सफल भएका थिए । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गणेशसिंह ठकुरी द्वितीय र एपीएफकै दानबहादुर धामी तृतीय भएका थिए ।
महिला मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लबकी कृष्णेश्वरी सिन्तकलाले जितेकी थिइन् । भने, जुम्लाकी सुनमाया बुढा द्वितीय र जुम्लाकै पूर्णलक्ष्मी न्यौपाने तृतीय भएकी थिइन् । २०६३ साल मंसिर ५ गतेका दिन सरकार र माओवादी बिच विस्तृत शान्ति सम्झौता भएको थियो ।















प्रतिक्रिया