दाङ, १९ भदौ । आफ्नै बस्तीमा मंगलबार राहतको बोरा आइपुगेको सुन्नासाथ दाङ डुरुवाकी मनकली चौधरी फुरुंग हुँदै हतारहतार मोतिपुर पुगिन्।
बोराभरि लुगा रहेछ। मनकलीले जब बोरा खोलिन्, उनको मन भित्रैदेखि कुँडिएर आयो। मानवीय रुपमा सहयोगी देखिन खोज्नेले नै बाढीपीडितलाई केविधि हेपेका१
राहत सहयोगका नाममा दिइएका बोराभरिका कपडा थोत्रा–थाङ्ना पो रहेछन्। डुङडुङ्ती गनाउने, फाटेका लाउनै नमिल्ने। केलाउँदा–केलाउँदा मनकली दिक्क भइन्, काम लाग्ने एउटै कपडा भेटिएन।
‘सब्बै पुराना रैुछन्, छान्दा–छान्दा लाउन मिल्ने एउटै भेटिएन,’ मनकलीले दुखेसो पोखिन्।
तीन साताअघिको भीषण वर्षासँगै आएको बाढी–पहिरोले सर्वस्व हरेर घर न घाट बनाइएकाहरुलाई देखेर वा सम्झेर ‘कठै१ भोकभोकै, नांगेझार र बेघरबास१ु भनी दुःख प्रकट गर्ने धेरै छन्। मानवीय भावले धेरै तत्कालै केही दिउँक भनेर अघि सरेका पनि छन्।
बाढी–पहिरोको कहरमा ज्यान जोगाउन सकेकालाई राहत दिन देश–विदेशका संघसंस्था र व्यक्तिगत पहल जारी नै छ। सरकारी सहयोग न्यून भए पनि एकहदमा गैरसरकारी र व्यक्तिगत हैसियतमा राहतको ओइरो नै छ, तर राहतका नाममा कतिपयले अमानवीय प्रवृत्ति देखाउँदा भने मनकलीजस्ता कैयन् बाढीपीडितको मन भाँचिएको छ।
स्थानीयका अनुसार धेरैजसो संघसंस्थाले बाँडेका राहतमध्ये सबैभन्दा बढी लगाउनै नमिल्ने लत्ताकपडा छन्। पुराना, त्यसमा पनि अत्यन्त फोहर। अनेक रोग लाग्ने त्रासले स्थानीय यस्ता कपडा लगाउन डराउँछन्। ‘बोरामा बाँधेर ल्याएका हुन्छन्,’ उरहरी–६ मोतीपुरका बाढीपीडित जागुराम चौधरीले नागरिकसँग भने, ‘खोलेर हेर्दा असाध्यै पुराना लुगा भेटिन्छन्।’
बाढीमा जायजेथा सबै गुमाएका कतिपय पीडितले तिनै पुराना पोसाक पनि लगाउने गरेका छन्। लगाउनै नमिल्नेजति मात्र फाल्छन्। ‘पुराना कपडामा छानेर लगाउन मिल्ने खालका लगाइरहेका छौं,’ जागुराम भन्छन्, ‘तर धेरैजसो अत्यन्तै फोहर, लगाउँदा रोग सर्ला भनेर फालिदियौं।’
स्थानीयका अनुसार राहत भनेर बाँडिएका खाद्यान्नबाहेक अन्य सामग्री उपभोग गर्नै नमिल्ने किसिमका छन्। ‘घीन मानेर के गर्नू,’ जागुराम खिन्नता पोख्छन्, ‘नयाँ किन्न सकिन्न, दिनेले पुराना मात्रै दिँदा रहेछन्।’
राहतका नाममा बाँडिएका ओढ्ने–ओछ्याउने समेत अधिकांश पुराना छन्।
केही संस्थाले पुरानो, गनाउने च्युरासमेत बाँडेको स्थानीय बताउँछन्। ‘सुरु–सुरुमा त ढुसी परेको च्युरा खानुपर्योी,’ स्थानीय जीवन चौधरीले भने, ‘चन्दा दिनेले के राम्रो दिन्थे र हजुर’
मोतिपुरमा मात्र होइन, पीडितलाई राहत बाँड्नेले अधिकांश ठाउँमा यस्तै आहत बनाएका छन्। फूलबारी गाविसका बाढीपीडित अधिकांशले पुराना कपडाले लाज ढाकेका छन्। ‘नयाँ नपाएपछि के गर्नूरु,’ स्थानीय राहत संकलन समितिका संयोजक विनोद पाण्डे भन्छन्, ‘लगाउन मिल्ने खालका पुराना कपडा छानेर लगाउनुपरेको छ।’
बाढीपीडितका नाममा दया देखाउने कतिपय संस्था पीडित बस्ती र विस्थापित शिविरमै पुगेर राहत बाँडिरहेका छन् भने कतिपयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई लत्ताकपडा, रसद, भाँडाकुँडा र नगद बुझाइरहेका छन्। स्थानीयको गुनासो छ, ‘धेरैजसोले प्रचारका लागि मात्र राहत बाँडेका रहेछन्, विस्थापितका शिविरलाई डम्पिङ साइट बनाए, सहयोगका नाममा मलमको साटो पीडा थपिदिए।’
पीडितका बस्ती र शिविरमा सरकारी राहत पर्याप्त छैन। पीडितले त राज्यसँग आस नै मारिसकेको समाचार आजको नागरिक दैनिकले छापेको छ । संघसंस्थाकै भरमा परेका पीडितमा तिनले पनि आहत बनाउँदा पीडाको आलो घाउ थामिनसक्नु भएको छ।
जिल्ला दैवीप्रकोप उद्धार समिति रहेको जिल्ला प्रशासन कार्यालयमा यस्ता फोहरको ठूलै थुप्रो चाङ छ। पुराना र फोहर कपडा मात्र होइन, फाटेका जुत्ता र छिनेका चप्पलको थुप्रोले राहत बाँड्ने संस्थाकै हुर्मत लिइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले काम लाग्ने सामान छुट्ट्याउन कोशिस गरे पनि सबैजसो थाङ्नाथोत्रा भेटिएको छ।
‘केही राम्रा सामग्री केलाएर बाढीपीडितसम्म पुर्याइउन खोज्यौं,’ प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई भन्छन्, ‘तर पीडितलाई दिन मिल्ने खालको एउटै फेला पार्न सकेनौं।’ ज्यादै फोहर कपडा रोगको संक्रमण फैलने डरले बस्ती नपठाएको उनले बताए।
‘यस्ता सामान पठाएर पीडितमा पीडा थप्ने काम गर्न सकेनौं,’ भन्छन्, ‘यति फोहर छन् कि डुङडुङ्ती गनाइरहेका’ उनका अनुसार विभिन्न जिल्लाबाट संकलित ती सामग्री नष्ट गर्ने योजना प्रशासनको छ।















प्रतिक्रिया