२८ आश्विन २०८३, बुधबार

डिजेल चोरी प्रकरणका १६ जना फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

disel-petrol-chori1

भैरहवा । योजनाबद्ध ढङ्गले दैनिक हजारौं लिटर डिजेल चोरी गर्ने ट्याङ्कर धनीहरुलाई प्रहरीले पक्राउपुर्जी काटे तापनि उनीहरु फरार रहेका छन् ।

तेल चोरी आरोपमा पक्राउपुर्जी जारी गरिएका १६ जना पेट्रोल व्यवसायी यतिबेला भारतमा रहेको आशङ्का प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले तेल चोरी गरेर राज्यलाई डुबाउने खेलमा लागेकालाई जहाँ भए पनि पक्रेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत शुक्रबार उनीहरुविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । प्रहरीले २२ जना ट्याङ्कर चालक र सहचालकको बयानका आधारमा १६ जना ट्याङ्करधनीलाई पक्राउपुर्जी जारी गरेको हो ।

प्रहरीले २२ जना ट्याङ्कर चालक र सहचालकलाई हिरासतमा राखेर छानबिन गरिरहेको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा नेपाल आयल निगमका दुई जना अधिकृतलाई पनि हिरासतमा राखेको छ ।

तेल मापन गर्ने अधिकृतद्वय देवेन्द्र बस्नेत र रवीन्द्रकुमार राउतलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यता, ट्याङ्कर भाडामा लिएर चोरी कार्य गर्ने रामचन्द्र अधिकारी, विनोद उप्रेती र बिक्की क्षेत्री फरार रहेका छन् ।

यसैबीच तेल चोरीमा संलग्न सबै व्यवसायीलाई अविलम्ब पक्राउ गरी कानुनको कठघरामा उभ्याउन युवा तथा विद्यार्थीले माग गरेका छन् ।

उता, डिजेल चोरीमा मुछिएका व्यवसायीहरुलाई जोगाउन ढुवानी व्यवसायी सङ्घलगायतका लागिपरेका छन् ।

अहिले व्यवसायीहरुले तेलको ढुवानी गरेका छैनन् । जसका कारण पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गरेका छैनन् । कृत्रिम रुपमा पेट्रोलियम पदार्थको अभाव गराइँदा जनताले सास्ती भोग्नुपरेको छ ।

सरकारले अत्यावश्यक सेवामा बन्द हडताल गर्न निषेध गरेको हुँदा कानुनको विरुद्धमा जानेलाई कारबाही गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जनाउनुभएको छ ।