१९ कार्तिक २०८३, बिहिबार

स्थानीय महिलाको सहभागितामा ६ किलोमिटर गोरेटो बाटो निर्माण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rukum-women– अमरराज पुन

रुकुम, २६ कात्तिक । जिल्लाको पश्चिमी भूभागमा पर्ने खोलागाउँ गाविस वडा नंं: ६ लाखुरीबोटका महिलाहरुले करिब ६ किलोमिटर गोरेटो बाटो १० दिनमै खनेर निर्माण गरेका छन् ।

गाउँघरको विकास निर्माणमा सक्रिय बन्दै आईरहेको समाज सुधार महिला समुहका सदस्यहरुले करिब तीन लाख बराबरको श्रमदानमा उक्त गोरेटो बाटो निर्माण गरेका हुन् । खोलागाउँको जोगिनेटा देखि सिम्लि गाविसको भट्टेडाँडा सम्मको अति बिकट मानिने गोरेटो बाटोे समाज सुधार महिला समुहले निर्माण गरेको हो ।

समुहका ४० भन्दा बढि महिला सदस्यहरुले गोरेटो बाटो निर्माण गरेपश्चात् हाल सो क्षेत्रमा आवात जावत गर्न सजिलो भएको जनकल्याण मावि जोगीनेटाका शिक्षक तिलक ओलीले बताउनुभयो । त्यस्तै गोरेटो बाटो निर्माण भएयता गाविस खोलागाउँ र आसपासका छिमेकी गाविसमा समेत बसोबास गर्ने सबै स्थानियबासीहरु हर्षित भएको समाज सुधार महिला समुहकी अध्यक्ष खिर्मा केसीले बताउनुभयो ।

हाल गोरेटो बाटो निर्माण भएसंगै अब सिम्ली गाविसको वडा नंं. ५ मा रहेको रोलखोला दह अवलोकनका लागि बाह्य तथा आन्तरिक पर्यटकहरुलाई भित्राउन सकिने ठूलो आशा गरिएको छ । जिल्लामा थुप्रै ताल तलैया तथा दहहरुको पहिचान भएपनि उक्त रोलखोला दहको भने हालसम्म कुनै पहिचान हुन सकेको छैन । जिल्ला स्थित सरोकारवाला निकाय तथा अन्य संघ संस्थाहरुले तत्काल त्यस रोलखोला दहको संरक्षण गर्न आवश्यक रहेको त्यहाँका स्थानिय बासीहरु बताउँछन् ।

खास गरेर रोलखोला दह हुँदै जिल्ला सदरमुकाम मुसिकोट सम्म आवातजावत गर्नलाई सजिलो होस् भन्ने मुख्य हेतुका साथ पनि त्यस क्षेत्रको गोरेटो बाटो निर्माणमा समाज सुधार समुहका महिलाहरुकोे सक्रियता बढेको हो । केही महिनाअघि मात्र समाज सुधार समुहका महिलाहरुले समाज सुधार महिला भवनको पनि श्रमदान गरेर नै भवन निर्माण गरेका थिए ।

महिलाहरु नै सामाजिक काममा सक्रिय भएपछि समाज सुधार महिला समुह खोलागाउँको काम एक नमुना योग्य भएको सबैले ठहर गरेका छन् ।