
– शेरबहादुर थापा
सुर्खेत, २६ कात्तिक । साटाखानी गाविसलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका साटाखानीवासीको माग आफूले सम्वोधन गर्न नसक्ने स्थानीय विकास अधिकारी अमृत लम्सालले बताएका छन् ।
गत कात्तिक २० गते सम्म आयोजना गरिएका भेला, गोष्ठि तथा अन्र्तक्रिया कार्यक्रममा त्यहाँका कुनैपनि स्थानीय संघ–संस्था वा राजनीतिक दलहरुले सो सम्बन्धमा कुनै पनि जानकारी या उक्त क्षेत्रलाई लेकवेसी गाँउपालिकामा प्रस्ताव गर्नेबारे विरोध नगरेकाले प्राविधिक समितिले केन्द्रमा ९ स्थानीय तह प्रस्ताव गरी पठाएको र आन्दोलनकारीको मागलाई पनि गत कात्तिक २२ गते नै केन्द्रमा पठाइएकोले अब सो सम्वन्धमा आफूले केहि गर्न नसक्ने जानकारी दिए ।

उनले यसरी विवाद आउने भनेर समयमै जानकारी भएको भए पूर्व निर्धारित ८ ओटै स्थानीय तहको संरचना प्रस्ताव गरी केन्द्रमा पठाउने भन्दै अब आन्दोलनकारीको माग सहितको ज्ञापन पत्र केन्द्रमा पठाइएको र आगामी ३० गतेसम्म त्यसको जवाफ आएपछि मात्रै आफूले यसबारेमा जानकारी दिनसक्ने बताए ।
साटाखानी गाविसलाई वीरेन्द्रनगर नगरपालिकामा गाभिनुपर्ने माग राख्दै आएका स्थानीय प्रतिनीधिमण्डल सँग आफ्नै कार्यकक्षमा कुरा गर्दै उनले सो कुरा बताएका हुन । उनले अब साटाखानी गाविसका आन्दोलनकारीलाई आफ्नो माग पुरा गराउन पुर्नसंरचना आयोगको केन्द्रीय कार्यालयमा पुग्न सुझाव दिए ।
उता साटाखानीवासीलाई कल्याणको खोल्टेपानी भन्दा वीरेन्द्रनगर नगरपालिका पायक पर्ने भन्दै आन्दोलनकारीले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । ‘सिंगो साटाखानीवासीको एउटै माग, साटाखानी गाविसलाई वीनपामा गाभ’ भन्ने मूल नाराका साथ गरिएको प्रदर्शनमा सहभागीहरुले आफुलाई स्थानीय राजनीतिक दलहरुले हेपेको बताए । उनीहरुका अनुसार गत साउन १५ गते नै सर्वपक्षीय भेलामार्फत वीनपामा साटाखानीलाई गाभ्ने निर्णय भएको जानकारी दिदै उनीहरुले सो निर्णय जसरी पनि कार्यान्वयनमा ल्याउन माग गरे ।

संघर्ष समिति साटाखानीका सह–संयोजक राजु पौडेलका अनुसार वीनपामा गाभ्न प्रस्ताव गरिएको गर्पनका स्थानीयहरु समेत वीनपा आउँदा साटाखानी गाविस भएर नै आउनुपर्ने जानकारी हुँदाहुँदै केहि राजनीतिक दलको स्वार्थका कारण आफूहरुलाई टाढा पर्ने ठाँउमा केन्द्र प्रस्ताव गरिएको दुखेसो पोखे ।
उनले साटाखानीका गाविस सचिवले आन्दोलनका बारेमा सहमति कायम गर्न भन्दै सवैदलीय बैठक बोलाउन माग गरेपनि साटाखानीवासीले माफी मागे मात्रै वैठक बोलाउने अन्यथा नबोलाउने जानकारी दिएका बताए ।
आन्दोलनकारीका अनुसार वीनपा आउन १ घण्टा लाग्छ भने ले्कवेसी गाँउपालिकाको केन्द्रमा पुग्न ६ घण्टा लाग्छ ।












प्रतिक्रिया