– मोहन पौडेल
परासी, २५ कात्तिक । नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्व उर्जामन्त्री गोकर्ण विष्टले नयाँ संविधानले सामाजिक न्यायसहितको समृद्धिको बाटो देखाएको बताउनुभएको छ ।
नवलपरासीको बर्दघाट २ चिसापानीस्थित बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै नेता विष्टले अब सबै दलहरु एकताबद्ध भएर संविधानले देखाएको बाटोलाई पुरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
अहिले पनि नेपालीहरु गरिबी र अभावबीच बाँच्नुपरेको भन्दै अब उत्पादन बृद्धि गर्दै जानुपर्ने र विकासको सवालमा दलहरुमा एकता हुनुपर्ने धारणा समेत राख्नुभयो ।
नेता विष्टले संविधानमा कमि कमिजोरी रहेको भए नेपाल र नेपालीको स्वार्थका लागि लचक हुन आफूहरु तयार रहेको उहाँले बताउनुभयो । विदेशी शक्तिको प्रभावमा संविधान संसोधन हुन नसक्ने उहाँको भनाई थियो । पूर्व उर्जामन्त्री विष्टले संविधानले कसैलाई पनि विभेद नगरेको दावी गर्नुभयो ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष मिनराज शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद द्धोय कृष्ण पौडेल र सिन्धु जलेसा, पुर्व राज्य मन्त्री घनश्याम यादव, जिल्ला स्थित राजनीतिक दलको तर्फबाट एमाले परासी क्षेत्रका सहसंयोजक थान प्रसाद गैरे, बर्दघाट नगरपालिकाका कार्यकारी अधिकृत बोधराज वस्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमको सन्चालनमा कार्यक्रम भएको थियो ।
मेला उद्घाटन पूर्व स्थानिय विभिन्न जात जाती र सामाजिक संघ संस्थाहरुको भांकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो । बर्दघाट–२ चिसापानीको ढिंडारीफाटमा आयोजना गरीएको ब्यापार मेला मंसिरको ५ गते सम्म संचालन हुने छ ।
बर्दघाटमा पहिलो पटक आयोजना गरीएको कृषि, पर्यटन तथा औेद्योगीक ब्यापार मेलामा २ सय स्टलहरु तयार गरीए पनि स्टलहरुभने त्यत्ति प्रभावकारी हुन सकेको छैन् । ‘कृषि, पर्यटन, उद्योग र ब्यापार, राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ आयोजना गरीएको मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने गरी ब्यवस्था गरीएको आयोजकले जनाएको छ ।













प्रतिक्रिया