काठमाडौं, २५ कात्तिक । विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट नेपाली तथा विदेशी बैंकका ग्राहकको खाताबाट रकम निकाल्ने गिरोहका २ जनालाई विभिन्न बैंकका प्राविधिकको सहयोगमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले बिहिबार यलो प्यागोडा होटल, कान्तिपथबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा टर्कीस नागरिकहरु राहदानी नम्बर यु १२८७७१८० बाहक ५२ बर्षीय मुहरिम उजुन र राहदानी नम्बर यु १२६७४५८८ बाहक ३२ बर्षीय सेलाहत्तिन याबर रहेका छन् ।
उनीहरुबाट विभिन्न दरका नेपाली रुपैंया २६ लाख ७५ हजार, युरो १ हजार ७ सय, अमेरिकी डलर १ हजार ६ सय ६०, विभिन्न एटीएम कार्डहरु १ सय १३ थान, मोबाइल फोन २ थान, कार्डका पिन लेखिएको कागज ८ पाना र स्वीस घडी १ थान बरामद भएको छ ।
पर्यटन भिसामा नेपाल आएका उनीहरुले कान्तिपथस्थित नबील बैंकको एटीएम बुथबाट रकम निकालेको देखिएको छ ।
हालसम्म विदेशी नागरिक विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ३ टर्कीस र २ बुल्गेरियन गरी ९ जना पूर्वी युरोपेली नागरिकहरु पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ अभियुक्तहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।













प्रतिक्रिया