१२ कार्तिक २०८३, बिहिबार

प्रचण्डलाई असफल बनाउन ‘रअ’ ले उचाल्यो शक्तिलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौं, २५ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असफल बनाउन पूर्व गृहमन्त्री शक्ति बस्नेतले न्वारानदेखिको बल निकालेर अभियान चलाएका छन् ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारमा माओवादी अध्यक्ष दाहालले पार्टीका जुनियर केन्द्रीय सदस्य बस्नेतलाई रातारात गृहमन्त्रीको जिम्मेवारी दिएपछि बस्नेत आफूलाई पार्टी भित्र शक्तिशाली नेताको रुपमा देखाउन पार्टीको संस्थागत लाइनलाई समेत लत्याउन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

लोकमानसिंह कार्की बिरुद्ध महाभियोग प्रस्ताव ल्याउने महेन्द्रबहादुर शाही र बिजुलीको पोल माग गर्न हस्ताक्षर गरेका सांसदको हस्ताक्षरलाई दुरुपयोग गरी महाभियोगको निवेदनमा राखेको भन्दै शक्ति बस्नेतले पार्टी केन्द्रको बैठकमा माग समेत गरेका थिए ।

स्नेतले शक्ति देखाउन खोजेपछि महाभियोग प्रस्तावका प्रस्तावक शाहीले आफ्नो ज्यान तलमाथि नभएसम्म प्रस्तावबाट पछि नहट्ने र उर्जा मन्त्री जनार्दन शर्माले पार्टीले कारबाही गरे गरोस लोकमानबिरुद्धको महाभियोग प्रस्तावको पक्षमै लागिन्छ भनेर बस्नेतको प्रतिवाद गरेका थिए ।

विभिन्न शक्तिकेन्द्रको हाउगुजी देखाएर बस्नेतले पार्टी अध्यक्ष दाहाललाई समेत प्रभावमा पार्न खोजिरहेका छन् । बस्नेतको यो अभियानलाई यतिवेला माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले साथ दिएको स्रोतले वतायो ।

यसको लागि लोकमानले आफ्ना बिश्वावपात्र नेपाल सरकारका पूर्बसहसचिव भरत सुवेदीलाई परिचालन गरेको बुझिएको छ । बस्नेत पार्टीमा अन्य सदस्यको तुलनामा जुनियर भएको भन्दै ओली नेतृत्वको सरकारमा गृह मन्त्रालय दिनु हुँदैन भनेर जनार्दन शर्माले पार्टीमा बलियो अडान राखेकै कारण शर्मालाई खुइल्याउन बस्नेत क्रियाशिल भएका हुन् । बस्नेतलाई नेता नारायणकाजीले साथ दिइरहेका छन् ।

नारायणकाजीको सम्पर्क सूत्र मार्फत बस्नेतले भारतीय खुफिया संस्थाका प्रतिनिधिसँग बारम्बार भेट समेत गर्न थालेका छन् । नारायणकाजीलाई भारतीय दूतावासका एक अधिकृतले हाल बारम्बार भेट्ने समेत गरेका छन् ।

महाभियोगको बिषयलाई लिएर पार्टी भित्र एक मत हुने वातावरण बिगार्न सकेमा लोकमानले जति पनि खर्च गर्छु भन्दै हिँडेको अवस्थामा नारायणकाजी र बस्नेतको यो जोडीको क्रियाशिलतालाई अध्यक्ष दाहालले पनि शंकास्पद रुपमा लिएका छन् ।

दाहाल नेतृत्वको सरकारमा समेत अर्थमन्त्री बन्न खोजेका शर्मा ओली नेतृत्वको सरकारमा आफूलाई गृह मन्त्रालय नदिइएको भन्दै गएका थिएनन् ।

दाहाल नेतृत्वकै सरकारमा पनि अर्थ मन्त्रालय नपाए नजाने अडान लिएका शर्माले दाहालले अर्को सरकारमा भने गृह वा उपप्रधानमन्त्रीमध्ये एक बनाउने विश्वास दिलाएका छन् ।

जनार्दन शर्माले बर्षमान पुनसँग मिलेर आफूहरुलाई समेत माईनस गर्न लागेको भन्ने आशंका पालेर बसेका अर्थमन्त्री कृष्णबहादुर महरालाई समेत बस्नेतले मौन बस्न बाध्य बनाएका छन् ।

शर्मा र पुनले रामबहादुर थापा बादललाई अघि सारेर आफूहरुलाई समेत पछि पार्न सक्ने भन्दै महराले पनि बस्नेतको आग्रहमा नारायणकाजी श्रेष्ठकै लाईनमा जान थालेको बुझिएको छ ।

नारायणकाजी एमालेको लहै–लहैमा लागेर लोकमान बिरुद्धको महाभियोग दर्ता भएको भन्दै आलोचना गर्दै आएका नेता हुन् ।

भारतीय खुफिया संस्था र लोकमानको आर्थिक प्रलोभनमा परेर जनार्दन शर्मालाई कमजोर बनाई प्रधानमन्त्री दाहाललाई समेत अप्ठेरोमा पार्ने डिजाइनमा बस्नेतको समूह लागेको माओवादी केन्द्रका एक नेताले बताए ।

पार्टी भित्र र जनमानसमा लोकप्रियता कमाएका शर्मालाई एकाएक बस्नेतले खुइल्याउने रणनीति अपनाएपछि पार्टीभित्र बस्नेतको आलोचना हुन थालेको छ ।