दाङ, २४ कात्तिक । युवा साहित्यकार एवं पत्रकार सविन प्रियासनले सेल्फी उपन्यासमा एक्लै दुईकिलोमिटर बाटो निर्माण गरेका दाङका चन्द्रबीर ओलीको कथा समेट्ने भएका छन् । एकपछि अर्को गर्दै तीन वटा उपन्याससहित ५ वटा पुस्तक प्रकाशन गरिसकेका प्रियासनले कर्मशील व्यक्तिहरुको कथा उपन्यासमा समेट्ने क्रममा चन्द्रबीरलाई उपन्यासको पात्रकारुपमा समेट्न लागि रहेको जानकारी दिए ।

तुलसीपुर नगरपालिका वडा नम्वर १ निवासी ७२ वर्षिय चन्द्रबीरले एक वर्षको अवधिमा एक्लै दुईकिलोमिटर बढि बाटो खनेर सबैका लागि उदाहरणीय बनेका छन् । ६ वटा छोराछोरी र श्रीमती दृष्टिबिहीन अपांग भएकाले आफू मरेपछि भीरबाट लडेर परिवारका सदस्यहरु मर्लान भन्ने आशंकामा चन्द्रबीरले उक्त बाटो खनेका हुन् । चन्द्रबीरले बाटो खनेपछि अहिले सो बाटोबाट दैनिक सयौ गाउँलेहरु पनि हिड्ने गर्दछन् । चन्द्रबीरले बाटो खनेको कुरा स्थानीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएपछि यतिबेला चन्द्रबीरलाई देश बिदेशबाट सहयोग भइरहेको छ । चन्द्रबीरले साहसी काम गरेपछि उनलाई स्थानीयहरुले बाटो वाला बाजे समेत भन्न थालेका छन् ।
उपन्यासकार प्रियासनका अनुसार सेल्फी उपन्यासमा चन्द्रबीर सहित उनी जस्तै समाजका लागि उदाहरणीय बन्न सक्ने व्यक्तिहरुको कथा यसमा समेटिने छ । उपन्यासकार प्रियासनले यसअघि प्रकाशन गरेका सबै उपन्यास र पुस्तकहरु समाजका लागि सन्देश मुलक भएकाले सेल्फी उपन्यासलाई पनि त्यस्तै बनाउन लागि रहेको प्रियासनको भनाइ छ । उपन्यासको १५ प्रतिशत लेखाइ कार्य सकिएको र करीब दुईमहिनाको अवधिमा उपन्यास लेखि सक्ने लक्ष्य प्रियासनले लिएका छन् । प्रियासनको गत जेष्ठ महिनामा पुनरागमन उपन्यास प्रकाशित भएको थियो भने यही मंसिरमा लक्की चार्म उपन्यास प्रकाशन हुँदैछ ।













प्रतिक्रिया