१९ कार्तिक २०८३, बिहिबार

सीताको पुकार प्रधानमन्त्रीले देख्लान ? होला कतैबाट सहयोग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीता रसाईली, मिर्गौला रोगबाट पीडित
सीता रसाईली, मिर्गौला रोगबाट पीडित

काठमाडौं, २४ कात्तिक । माओवादी जनयुद्धमा लागेर गरिव जनताहरूमा ठूलो परिवर्तन हुन्छ भन्ने सोँचेकी पाल्पा जिल्ला भैरवस्थान गाविस वडा नम्बर ७ स्थायी घर भएकी सीता रसाइली अहिले जनयुद्ध हाँकेका नेताहरूको चर्तिकला र व्यवहारबाट आजित भएकी छिन् ।

आजित पनि किन नहुन् सीता ! विगत चार वर्षदेखि मिर्गौला रोगबाट पीडित बनेकी सीतालाई आफ्नी आमा हरिकला सुनारले दिएको मिर्गौला राख्नका लागि आर्थिक समस्या छ । मिर्गौला ट्रान्सप्लान्टका लागि आवश्यक पर्ने रकम झण्डै छ लाख उनीसँग छैन । यो रकम कतै पाइन्छ कि भन्ने आशमा केन्द्रीय कार्यालय पेरिशडाँडा पुग्दा उनलाई नमिठो जवाफ आउने गर्छ । नेताहरूले सीतासँग भेट्न पनि मन गर्दैनन् ।

सहयोग पाइन्छ कि भनेर पेरिसडाँडामा पटक–पटक धाइसकेकी सीता रसाईलीले सुनाइन् । सहयोग दिने त कहाँ हो कहाँ बोलिचाली पनि राम्रोसँग गर्दैनन् । ‘मिर्गौला ट्रान्सप्लान्टका लागि आवश्यक पर्ने छ लाखको व्यवस्था हुन्छ कि भनेर पार्टी कार्यालय थुप्रै पटक गएँ’, सीताले आँसु झार्दै भनिन्, ‘सहयोग गर्नु त कहाँ हो कहाँ यहाँ सहयोग छैन । तिमी जस्ता मान्छे दिनमा कति आउँछन् कति ? भनेर रुखो जवाफ दिए ।’

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री बनेका छन् । दाहालले कतै सहयोग गरिहाल्छन् कि भनेर सीतालाई आशा छ । तर दाहालसम्म आफ्नो आवाज पुगाइदिने व्यक्ति नै उनले पाएकी छैनन् । दाहाललाई आफ्नो पीडा सुनाउन उनले पटक–पटक पहल गरिन् तर दाहालसम्म पुग्न उनलाई सचिवालयले कहिल्यै सहयोग गरेन । सीता प्रधानमन्त्री एवम् अध्यक्ष दाहाल बस्ने घरको मूल ढोकाबाट फर्काएका थुप्रै घटना छन् ।

सरकारले उपलब्ध गराएको सहयोगबाट प्रत्येक हप्ता भक्तपुरमा डायलसिस गराइ रहेकी सीता रसाईलीलाई औषधि खानका लागि पनि आर्थिक अभाव छ । डायलसिस भने सरकारले निशुल्क गरिदिने भएकाले उनलाई केही राहत भएको छ । अत्यन्तै गरिव परिवारकी सीता रसाईली अहिले ३१ वर्षकी भइसकेकी छिन् । आमा र आफन्तहरूसँग भक्तपुरको सल्लाघारीमा डेरामा बसोबास गर्दै आएकी सीताले भनिन्, ‘कुनै दयालुले मेरो मिर्गौला ट्रान्सप्लान्ट गर्नका लागि सहयोग गरिदिएक केही दिन भए पनि बाँच्ने थिएँ ।’

माओवादी जनयुद्धका बेला सीताले झण्डै २२ महिना जेल जीवन विताइ सकेकी छिन् । ०५७ सालदेखि नै उनी माओवादीको जनयुद्धमा लागेकी रहिछन् ।

कसैले सहयोग गर्छ कि भनेर सीता रसाईलीले प्रभु बैंकमा ०३३०१०००६५७१६००००००१ नम्बरको खाता (पाल्पा शाखा) पनि खोलेकी रहिछन् । केही शुभचिन्तकहरूले यही खातामा हालिदिने रकमबाट उनले औषधिसम्म खाने गरेकी रहिछन् । एक/दुई जना साथीहरूले आफूले प्रयोग गर्ने ९८१३९४८४३१ मा सम्पर्क गरेर सहयोग गरेको पनि सीताले सुनाइन् । ‘मेरो पीडा बुझिदिने संसारमा कोही त होला !’, सीताले भनिन्, ‘अझै हरेस खाएको छैन । आमाको मिर्गौला मेरो शरीरमा राख्न पाएँ भने आफ्नै मिहिनेतमा गरेर खाने थिएँ ।’