१२ कार्तिक २०८३, बिहिबार

मोदीको बोल्ड डिसिजन, पाँच सय र हजारका चालू भारतीय नोट प्रतिबन्धित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ic-note-660x330काठमाडौं, २४ कात्तिक । भारत सरकारले पाँच सय र हजार दरका भारतीय रुपैयाँका नोट परिवर्तन गरेको छ ।

मंगलबार मध्यरातिदेखि पुराना नोट अवैध भएका छन् । साना नोट र सिक्काहरू भने यथावत् चलनचल्तीमा रहनेछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कालो धन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि ती नोट प्रतिबन्धित गरिएको बताए ।

सरकारको घोषणासँगै बुधबार भारतभरका बैंक बन्द हुनेछन् भने बिहीबारसम्म एटिएम बन्द रहनेछन् । बिहीबारदेखि सर्वसाधारणले पुराना नोट बैंकमा बुझाएर नयाँ नोट पाउनेछन् ।

घोषणापछि ५ सय दरका १६ खर्ब ५० अर्ब रुपैयाँ र १ हजारका ६ खर्ब ७० अर्ब रुपैयाँबराबरका नोट फिर्ता हुने विश्वास गरिएको छ । पाँच सय र हजारका नोट ३० डिसेम्बरसम्म विनाकुनै शुल्क बैंक तथा हुलाक कार्यालयहरूमा जम्मा गर्न सकिने र त्यसबराबरका पैसा लिन सकिनेछ ।

३० डिसेम्बरसम्म पनि नोट सटही गर्न नसक्नेले भारतीय रिजर्भ बैंकका निश्चित काउन्टरबाट ३१ मार्चसम्म ती नोट सटही गर्न पाउने व्यवस्था सरकारले गरेको छ । बैंकबाट नोट साट्दा राष्ट्रिय परिचयपत्र तथा तीनपुस्ते विवरण बुझाउनुपर्ने छ ।

राष्ट्रको भलाइका लागि सो कदम चालिएको पनि मोदीले बताएका छन् । ‘भष्ट्राचार र कालो धनले हाम्रो राष्ट्रिय ढुकुटी कमजोर बनाएका छन् । यो कार्य कुनै पनि हालतमा स्वीकार्य छैन,’ मोदीले भने । सर्वसाधारणको निश्चित पैसा बैंकहरुबाट साटिने भए पनि भ्रष्टाचार गरेर लुकाएको पैसा साट्न अब कठीन हुनेछ ।

ठूलो रकम बोकेर बैंकमा जानहरुमाथि सरकारले अनुसन्धान गर्ने हुँदा लुकाएको पैसा सडेर जाने विज्ञहरुको विश्लेषण छ । त्यस्तै, अहिलेसम्म छापिइसकेको नक्कली नोट पनि अब कारोबारमा आउन सक्ने छैन ।

तर, तत्कालका लागि दिनमा ४ हजार रुपैयाँ मात्र बैंकबाट निकाल्न सकिने भएकाले सर्वसाधारणले सास्ती पाउने भएका छन् । यसले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आफूसँग भएका नोटहरू नसाटिने आशंकासमेत सर्वसाधारणले गरेका छन् । मोदीको घोषणासँग मंगलबार साँझबाटै पसल तथा रेस्टुरेन्टहरूले ती नोट लिन छाडेपछि सर्वसाधारणलाई समस्या शुरु भएको छ ।

तर, प्रधानमन्त्री मोदीले भने वैध पैसा सुरक्षित रहनेमा ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘तपाईंको पैसा तपाईंसँगै हुनेछ । तपाईंले केही गुमाउनुपर्ने छैन, यसको सुनिश्चिता सरकारले गर्नेछ,’ प्रधानमन्त्री मोदीले भने ।

सो घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो । घोषणाअघि मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र सेनाका प्रमुखहरूलाई भेटेका थिए ।