काठमाडौं, २३ कात्तिक । धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चोक हस्तान्तरण गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रचण्डलाई धरहरा पुनर्निर्माण सहयोगार्थ ६ करोड १७ लाख १३ हजार सात सय ८३ रुपैयाँको चेक हस्तान्तरण भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
चेक ग्रहण गर्दै प्रधानमन्त्रीले नेपाली सेनाले संस्थागत रूपमा धरहरा निर्माणका लागि उपलब्ध गराएको सहयोगबाट नेपाली जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए ।
१२ वैशाख ०७२ गएको विनाशकारी भूकम्पबाट धरहरा ध्वस्त भएको थियो । नेपालको गौरवको रूपमा रहेको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि ‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत सैनिक जवान र पदाधिकारीले स्वेच्छाले प्रदान गरेको रकम संकलन गरेर सरकारलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।
यसअघि धरहरा पुनर्निर्माण सहयोगार्थ सैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षत्रीद्वारा पुनर्निर्माण प्राधिकरणलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ ।















प्रतिक्रिया