१२ कार्तिक २०८३, बिहिबार

चीनले तातोपानी नाका अझै दुई वर्ष नखोल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tatopani-naka-china-nepalकाठमाडौं, २३ कात्तिक । भूकम्पपछि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन हुन अझै दुई वर्ष लाग्ने भएको छ ।

तातोपानी नाका सञ्चालन हुने कि नहुने भन्ने अन्योल रहेकै बेला चिनियाँ पक्षले सञ्चालन गर्ने बताए पनि अझै दुई वर्ष कुर्नुपर्ने भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

चीनसँग सीमा जोडिएका तीन जिल्लाका अधिकारीहरूसँगको भेटमा चीन तातोपानी नाका सञ्चालन गर्न तयार भए पनि भौतिक संरचना निर्माण नहुँदासम्म भने नाका सञ्चालन गर्न नसक्ने प्रस्ट पारेको छ ।

सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्लाका अधिकारीसँगको भेटमा चिनियाँ अधिकारीहरूले आफूहरू तातोपानी नाका सञ्चालन गर्न तयार रहेको बताएका थिए ।

चीनले एक साताअघि नाका जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, अध्यागमन, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख र भन्सार प्रमुखलाई चीन भ्रमणमा लगेको थियो ।

भ्रमणको नेतृत्व गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार भूकम्पले चिनियाँ क्षेत्रको लिपिङ, खासा बजारलगायतका सडक संरचना पनि बिग्रेकाले भौगोलिक अवस्थाको अध्ययन गरेपछि मात्रै नाका सञ्चालन गरिने जानकारी गराएको छ ।

‘भूकम्पले चिनियाँ क्षेत्र पनि तहसनहस भएको रहेछ, अहिले नै नाका सञ्चालन गर्दा सुरक्षा र भौगोलिक कठिनाइ भएकाले नाका सञ्चालन गर्न अझै दुई वर्ष लाग्न सक्ने जानकारी चिनियाँ पक्षले दिएका छन्’, सिलवालले भने, ‘चीन पनि तातोपानी नाका छिटो सञ्चालन गर्न इच्छुक देखिएका छन्, तर भौगोलिक अवस्थाको अध्ययन नगरी सञ्चालन गर्न नसक्ने जानकारी आएको छ, नाका सञ्चालन त हुन्छ, तर समय लाग्छ ।’

भूकम्प र भोटेकोसीको बाढीले क्षति भएको चिनियाँ क्षेत्रको राजमार्ग अहिले निर्माण भइरहेको चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई जानकारी गराएका थिए ।

अबको केही दिनमा साना सवारीसाधनहरू सीमासम्म आउन सक्ने गरी चिनियाँ पक्षले सडक निर्माण गरिरहेको छ ।

‘चिनियाँ पक्ष नेपालसँग सीमा जोडिएका अरू नाकासमेत सञ्चालन गर्न सकारात्मक छन्, त्यसैले मुख्य नाका बन्द गर्ने उनीहरूको कुनै योजना छैन’, सिलवालले भने ।

नाका सञ्चालनका लागि अरनिको राजमार्गलाई चिनियाँ पक्षले प्रमुख प्राथमिकतामा राखेको जानकारी गराएको सिलवालले बताए ।

भूकम्पपछि खासामा रहेका चिनियाँ नागरिकहरूलाई अहिले चीनको सिगात्सेमा लगेर राखिएको र आफूहरूले समेत त्यहाँका नागरिकहरूलाई भेट गरेको सिलवालले जानकारी दिए ।

‘खासाबाट सिगात्से गएका चिनियाँ नागरिकहरूले पनि आफूहरू खासामा नै जानुपर्ने माग राख्दै चिनियाँ सरकारलाई दबाब दिइरहेका रहेछन् ।