१९ कार्तिक २०८३, बिहिबार

अंगीकृतलाई संवैधानिक पदमा पुर्याउने हाम्रो माग होइन– फोरम नेता सुवेदी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

durga-subedi-pic

काठमाडौं २२, कात्तिक । संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले विदेशी नागरिकलाई मुलुकको संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता आफूहरुको माग नरहेको स्पष्ट पारेका छन् ।

विदेशी नागरिकलाई समान अधिकार दिने अंगीकृत नागरिकताको पक्षमा मधेशी मोर्चा वा संघीय गठबन्धन नरहेकोले यो विषयलाई अनावश्यक प्रचारप्रसार तथा विवाद नगर्न उनले आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुवेदीले भने,– ‘संविधान संशोधनको मागलाई तुहाउन सुनियोजित ढंगले अंगीकृत नागरिकताको विवाद सिर्जना गरिएको छ । मोर्चा वा गठबन्धनले त्यस्तो प्रस्ताव नै नगरेपछि यसमा विवाद गर्नुको तुक छैन ।’
विदेशी नागरिकलाई अधिकार दिलाउन मधेश आन्दोलन नभएको स्मरण गराउँदै नेता सुवेदीले संघीयता, समानुपातिक समावेशिता र पहिचानको मुद्दालाई मधेश आन्दोेलनले बलियो ढंगले स्थापित गरिसकेकोले यसका विरुद्ध कसैले पनि चलखेल नगर्न चेतावनी दिए ।

‘अहिलेको प्रमुख एजेन्डा संविधान संशोधन भएकोले अंगीकृत नागरिकताको नाममा मधेश आन्दोलनबाट स्थापित मुद्दालाई कमजोर बनाउने षड्यन्त्र कसैले नगरे हुन्छ’– उनले भने ।

नेकपा एमाले र आन्दोलन ताका विभिन्न बहानामा ‘स्टन्ट’ गरिरहने र अहिले सरकारमा जान हतारमा रहेका मधेशी मोर्चाभित्रकै केही दलहरुले सुनियोजित ढंगले अंगीकृत नागरिकको मुद्दा झिकेर संविधान संशोधन प्रक्रियालाई ओझेलमा पार्न खोजेको नेता सुवेदीको आरोप छ ।

संशोधन प्रस्तावको मस्यौदा तयार हुन ढिलाई गरेकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले तयार नै नभएको मस्यौदा सार्वजनिक भएको भन्नु र त्यसमै विवाद गर्नु हास्यास्पद रहेको नेता सुवेदीले टिप्पणी गरे ।