संखुवासभा, १८ भदौ । जिल्लाका दुर्गम गाउँमा खान नपाएरभन्दा पनि खान नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ। कुन उमेरका बालबालिकालाई के खुवाउने र के नखुवाउने भन्ने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित भएका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मदनकुमार उपाध्यायले भने, ‘यहाँको अवस्था फरक छ। खान नपाएर होइन खान नजानेर बढी कुपोषित छन्।’ जिल्ला स्वास्थ्य कार्यालय र सेभ द चिल्ड्रेनको सुआहारा कार्यक्रमले गरेको अध्ययनअनुसार गाउँका अभिभावकमा दुई वर्षमुनिका बालबालिकाको पोषण र उनीहरूलाई खुवाउने तरिकाबारे खासै ज्ञान छैन।
कतिपय क्षेत्रमा छाक टार्न बालबालिकालाई जाँडसमेत खुवाउने गरिन्छ। ‘ठूलाले जे खान्छन्, बालबच्चालाई पनि त्यही कोचाउन खोजिन्छ, त्यसले समस्या आउँछ’, डा. उपाध्यायले भने।
संखुवासभामा दुई वर्षमुनिका सात हजार ७८ बालबालिकामा कुनै न कुनै रोग भेटिएको छ। आदिवासी जनजाति बाहुल्य यस क्षेत्रमा बाल्यकालदेखि नै मदिरा खुवाउने, पाचनयोग्य खानेकुरा नखुवाउने र बयस्कले खाने खाना बालबालिकालाई पनि दिने गरिन्छ। एक वर्ष नपुग्दै कोदोको ढिँडो खुवाउने चलन पनि छ।
गर्भवती महिलासमेतले पौष्टिक खानेकुरामा ध्यान नदिँदा पनि नवजात शिशुमा कुपोषण देखिने गरेको छ। उत्तरी चार गाविस किमाथांका, हटिया, चेपुवा र पावाखोलाका करिब पाँच सय बालबालिका कुपोषित भएको छन्। यस क्षेत्रमा धान उत्पादन नहुने र अन्य उत्पादित अन्नले तीन महिनामात्र खान पुग्ने भएकाले अधिकांश बालबालिका आलु खाएकै भरमा बाँच्नुपर्ने बाध्यता रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। यस क्षेत्रमा उवा, आलु, मकै र फापर मात्र उत्पादन हुन्छ।
सुआहारा कार्यक्रमले जिल्लाका सबै गाविस र नगरपालिकामा विगत दुई वर्षदेखि पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘दुई वर्षमुनिका बालबालिका र गर्भवती आमाको स्वास्थ्य सुधार्न कुखुरा वितरणदेखि सचेतीकरण र आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौु’, सुआहारा संखुवासभाका प्रमुख सुरजकुमार शर्माले भने।















प्रतिक्रिया