३० आश्विन २०८३, शुक्रबार

‘दलालले कहीँ नछाड्ने भए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dalalमलेसिया, १८ भदौ । झापा, उर्लाबारीका दिलीप थापा नेपाल फर्कन चाहन्छन्। ६ महिनाअघि काम छाडेको कम्पनीले पासपोर्ट नदिएकाले उनी अलपत्र छन्।

यही बिलखबन्द अवस्थामा उनलाई एक एजेन्टले ‘ट्राभल डकुमेन्ट’ (यात्रा अनुमतिपत्र) बनाएर नेपाल पठाइदिने आश्वासन दिएछन्। र, भनेछन्, ‘२ हजार रिंगेट (६० हजार रुपैयाँ) लाग्छ।’

‘यतिका पैसा छैन, अलि कम गर्नुस् न भन्दा पैसा जम्मा गर्दै गर्न’, पुगेपछि पठाइदिन्छु भनेका छन्,’ मलेसियाको कोतरायमा आइतबार भेटिएका थापाले भने।

मलेसियास्थित नेपाली दूतावासले अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्काउन बढीमा १ हजार ३ सय ४० रिंगेट (करिब ४० हजार २ सय रुपैयाँ) मा यात्रा अनुमतिपत्र बनाइदिने सार्वजनिक सूचना जारी गरेको छ। सूचनामा नेपाल फर्कन चाहनेलाई सोझै दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। थापा भने दूतावासको सूचनाबारे अनभिज्ञ रहेछन्।

यसबारे जानकारी गराएपछि उनले एजेन्टलाई सराप्दै भने, ‘कस्तो पापी रहेछ, नेपाली भएर नेपालीलाई ठग्ने’

‘नेपालमा पनि ठगेर पठाए, अहिले फर्कंदा फेरि ठग्न खोज्दैछन्, दलालले कहीँ नछाड्ने भए,’ उनले दुखेसो गरे।

थापाजस्तै दूतावासको सूचनाबारे अनभिज्ञ थुप्रै नेपाली कामदार स्वदेश फर्कन एजेन्टको भर परेका छन्। पक्राउ परिने डरले जतिसक्दो छिटो घर फर्कन चाहिरहेका उनीहरू एजेन्टले मागेजति पैसा तिर्न पछि पर्दैनन्। कोही भने दूतावासमा झमेला होला भन्ने आशंकाले एजेन्टको फन्दामा परेका छन्।

कोतरायकै खुकुरी होटलनजिक भेटिएका सुर्खेतका जीवन शाही ट्राभल डकुमेन्ट बनाएर घर फर्कने पिरलोमा थिए। उनी सम्झौताबमोजिम काम नपाएपछि कम्पनी छाडेर अवैधानिक भएका हुन्। नेपाल फर्कन खोज्दा एक एजेन्टले १ हजार ७ सय रिंगेटमा ट्राभल डकुमेन्ट बनाइदिने आश्वासन दिए।

‘सबै काम आफैं गर्दिन्छु भनेका छन्, जानाजान बढी पैसा तिर्न तयार भएँ,’ दूतावासको सार्वजनिक सूचनाबारे जानकार शाहीले भने।

नेपाली कामदार धेरै भएका जोहारबारु, पेनाङलगायत क्षेत्रका कामदारसम्म नेपाली दूतावासको पहुँच पुग्न नसक्दा पनि यस्तो समस्या आएको समाचार आजको नागरिक दैनिकले छापेको छ । एजेन्टहरूले यसैको फाइदा उठाउँदै यात्रा अनुमतिपत्र बनाइदिने नाममा उनीहरूबाट मिहिनेत गरी कमाएको पैसा कुम्ल्याइरहेका छन्।