कञ्चनपुर, १७ भदौ । एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण कञ्चनपुरका आधा दर्जन भन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
भारतमा काम गरेर फर्केका देखतभूली, शङ्करपुर, रैकवार बिचवा र बाइसेविचवा गाविसका बासिन्दा बिरामी परेका हुन् । बिरामी परेका सबैको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी पर्नेमा शङ्करपुरका जुनामती राना, देखतभूलीका गणेश जोशी, रैकवार बिचवाका विकादेवी राना, बाइसेविचवा अमरबस्तीका दीपक मल्ल, लक्ष्मी महत र चेतन विक रहेका छन् ।
उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना भएकामध्ये जुनामती र विका देवीको अवस्था चिन्ताजनक रहेको छ । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका औलो शाखा प्रमुख हेमराज जोशीले आज मात्रै कैलालीबाट कञ्चनपुरका डेङ्गुबाट पीडित बिरामी अस्पताल भर्ना भएको जानकारी आएको बताए ।
सहरी क्षेत्रमा मात्रै बढी देखिने डेङ्गु ग्रामीण क्षेत्रमा पहिलो पटक देखिएको उनले बताए । भारतबाट काम गरी फर्केकामा सो रोग देखिएको हुन सक्ने उनको भनाइ छ ।
‘अध्ययन र अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोलीलाई त्यस ठाउँमा पठाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौँ,’ उनले भने ।
एजिप्टाइ जातको पोथी लामखुट्टेले गमला, फुलदानी, पानीले भरिएका टायरलगायतमा फुल पारी लार्भा हुर्काउने भएकाले त्यस्ता बस्तुबाट पानी फाली लामखुट्टे नियन्त्रण गर्न सकिने उनले बताए ।
लामखुट्टेबाट बच्न झुलमा सुत्ने बानी बसाल्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । कञ्चनपुरमा गत वर्ष डेङ्गुका एक जना बिरामी फेला परेका थिए ।













प्रतिक्रिया