३० आश्विन २०८३, शुक्रबार

पर्यावरणीय देउसी– २०७३

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yadav-bhandariभन भन भाई हो ः हरियाली
जनताको मनमा ः खुशियाली
देशमा राम्रो ः शासन
जनतालाई पुगोस ः रासन
नेताले नगरुन ः दुविधा
जनताले पाउन ः सुविधा
हिमालको हिउं ः पग्लियो
वन जंगल–हरियाली सबै ः मासियो
बेलामा पानी ः पर्दैन
धर्तीले यो भार ः थेग्दैन
हरियो बन ः नेपालको धन
सबै मिलीकन ः देउसिरी भन ।।

हामी त्यसै आएनौ, सेभ द प्लानेटले पठायो
वाताबरण संरक्षणको, संन्देश लिएर आयो

काठमाडौंको फोहोर मैला, धेरै साथी विरामी
घाटी दुख्यो, भट्याउनलाई, खाईयो फोहोर पानी

छैनन् रुख कतै पनि, घरै मात्र बन्या छन्
सद्भाव छैन मानिसमा, पैसा पैसा भन्या छन्
अग्लो घर ठड्याउनेले, बाटो सबै बिगार्यो
थोत्रो गाडी कुदाएर, प्रदुषण ल्यायो

कस्ले देला बुद्धि यिनलाई, असल मानिस बन्न
आनी बानी राक्षस जस्तै, हेर्दा मान्छे धन्न ।

नेपाली युवा ः बिदेशमा
बृद्ध र केटा केटी ः यो देशमा
हाम्रो गाउँ घर ः सुन्य छ
विदेशमा सधैं ः भव्य छ
पढेका पनि ः विदेश मै
बहादुर पनि ः विदेश मै
के चलन आयो ः यो देशमा
आमा र दिदी पनि ः विदेशमा

छैनन कोही काम गर्ने, यो देशमा बसेका
सबैजना बिदेशै जान, कम्मर कसेका

हजुर बा नाति मात्र, घरमा अब बाँकी छन्
बाबा गए अरब तिर, आमा इजरायलमा छिन

बुद्धि अनि धन भाका, युरोप अमेरिका
यो दश त कन्टेनर भो, काम केही नभएका ।

श्रम गर्छन बिदेश मै, बुद्धि उही लगाउछन
अनि देशमा केही भएन, भन्दै कराउंछन् ।।

हाम्रो देश ः नेपाल
सानो भएपनि ः विशाल
संसारको शिर ः यहि छ
शान्तिको मुहान ः यहि छ
पानीमा हामी ः धनी छौं
मानवताका ः खानी छौं
सानो देशमा ः बाघ पाइन्छ
सानो ठाउँमा ः गिद्ध छ

सबै जाति मिली जुली, बसेका छन् नेपालमा
ठाउँ सानो भए पनि, असंख्य छन्, नेपालमा

धेरै जाति जीवजन्तु, धेरै धेरै रुख विरुवा
यति हुँदा पनि किन हामी पछि परूवा ।

वर्षभरि लोड सेडिङ्ग छ, जलस्रोतको धनी नेपालमा
उर्जा सबै खेर गयो, खोलै खोलामा

पहाड सबै नाङगियो, रुख विरुवा काटेर
बाढी पहिरो, हावा हुरी, आउंछ संकट लिएर

कोही काट्छन् रुख विरुवा, हात मुख जोड्नलाई
कोही फांड्छन् वनजंगल, प्लटिङ्ग गर्नलाई ।

कृषि प्रधान देशैमा, अन्न छैन खानलाई
जनता गर्छन् मरिहत्ते, विदेश जानलाई

ठूला–ठूला भाषण गर्ने, होटलमा धाएर
संरक्षणका वाचामात्र, रोष्टर ह्वीस्की खाएर

धेरै बने नियम कानून, काम केही भा‘छैन
अझै पनि होला भन्ने, हाम्लाई आश छैन

यहि सालको ः तिहारमा
हामी आयौं ः घर घरमा
हरियाली सन्देश ः लिएर
खुशियाली सन्देश ः दिएर
सरसफाईमा ः ध्यान दिऊं
रुख विरुवा रोप्न ः ज्यान दिउंm
घरको फोहोर ः मोहोर
सफा राखौं ः शहर
आफैबाट ः शुरु गरौं
अरुको भर ः नपरौं ।

मन्त्री अनी कर्मचारी, तलव मात्र पचाउने
कस्तो खराब बानी यिनको, समय मात्र कटाउने

सबै ठूला कुरा गर्ने, अर्काको मुख ताक्ने
मन्त्रीहरु पालैपालो, सचिवहरु साट्ने

विदेसी किन आउथ्यो यहाँ, घाटा हुने भए
अर्काले गर्ला र खाउंला भन्ने, दिन अब गए

आउँ हजुर शुरु गरौं, आजैबाट काम
वातावरण जोगाउन, होउ एक ठाम

हिमालको हिउं पग्लियो, पानी पर्न छाड्यो
धान, मकै, बोट मात्रै, दाना लाग्न छाड्यो ।

शहर सबै प्रदुषित छ, छैन हरियाली
जताततै तनाव छ, छैन खुशियाली

जन्म दिनमा केक मात्र होइन, एउटा विरुवा खोजौं
मानव भई मानवताको, सत्कर्मलाई रोजौं

हाम्रो शिर सगरमाथा, संधै उच्च रहोस्
त्यस्तै उच्च मानवियता, नेपालले पाओस् ।

आशिष

यो घरको वातावरण ः स्वच्छ होस्
भाइरस र व्याक्टेरियामा ः ध्वस्त होस्
वरिपरी हरियो ः बगैंचा होस्
मनभरी सधैं ः खुशी होस्
कसैलाई विरामले ः नच्यापोस्
हस्पिटल जानु ः नपरोस
लोडसेडिङ ः नपरोस्
इन्धनको अभाव ः नरहोस्
खोलाको ढल ः नगनाओस्
डेंगु र फलूले ः नताकोस्
बागमतीमा नुहाउन ः पाइयोस्
मेलम्चीको पानी ः ल्याइयोस्
हराभरा हवस ः शहर
पूरा हवस मनको ः रहर ।

अर्को साल आउंदा खेरी हराभरा हवोस्
स्वच्छ, सफा, घर आंगन, हरियाली छावस

फेरी आउंला देउसी गाउँला, रमाइलो गरौंला
बागमतीको दोभानमा बनभोज जाउंला ।।
‘समाप्त’

सेभ द प्लानेट मिसन २०२०, नेपाल