१ कार्तिक २०८३, आइतबार

दीर्घजिवी ओराङगउटान गिनेस बूकमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

orangutan_257637_1_408099सिड्नी, १२ कात्तिक । अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेस बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ ।

हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे –जङ्गली बाँदर) “सुमात्रेली ओराङगउटान” उपजातिका नामले विश्वभरी परिचित छन् । “सुमात्रेली पोथी ओराङगउटानको औसत आयु मुश्किलले ५० वर्षसम्म हुन्छ । हालसम्म, थोरै मात्र यस्ता पोथी ओराङगउटानले ५० वर्ष काटेका पाइएको” भनी एक बिज्ञप्ति नै निकालेकी छिन् पर्थ चिडिया खानाकी प्रमुख मार्टिना हार्टले ।

“पुवाँ” नाम राखिएको यस सुमात्रेली पोथी ओराङगउटान यसपाला ६० वर्षकी भइन् । “पुवाँ” को अर्थ मलेसियाली भाषामा “विवाहित महिला” हो । विश्वकै सबैभन्दा लामो आयु भएकी जीवित सुमात्रेली पोथी ओराङगउटानको दर्जा पाई यिनी गिनेस बूक अफ वल्र्ड रेकर्डमा सूचिकृत भएकी हुन् ।

“पुवाँ जङगलमै जन्मेकीले उनी जन्मेको सही तिथिमिति त पुष्टि भएको छैन, तर उपलव्ध कागजात तथा अभिलेखले देखाए बमोजिम उनको जन्मवर्ष सन् १९५६ हो । सुमात्रेली पोथी ओराङगउटान ६० वर्षसम्म जीवित रहनु भनेको थुप्रै बिशाल कोशेढुङगा पार गर्नु सरह हो ।
दीर्घजीवि पुवाँले पर्थ चिडियाखानाको नाम विश्वभर फैलाएकीले हामी सबै दङग परेका छौं । हाम्रो चिडियाखानाकी सबभन्दा वृद्धा भएकीले उनलाई हामीले आफ्नै आमासरह सम्मान पनि दिने गरेका छौं” चिडियाखानाप्रमुख मार्टिना प्रसन्न हुँदै भन्छिन् ।

पुवाँलाई पर्थ चिडियाखानाले उनलाई १२ वर्षको उमेरदेखि नै हुर्काएर पालिराखेको हो । मलेसियाका सम्राट् “सुल्तान जोहर” लाई सन् १९६८ मा अस्ट्रेलियाली सरकारले आफ्नो राष्ट्रका धेरैथरी जनावरहरु उपहार पठाएपछि सट्टामा पुवाँ पनि त्यसै वर्ष उपहार स्वरुप प्राप्त भै अस्ट्रेलिया आएकी थिइन् । पर्थ चिडियाखाना भित्रिएपछि उनी केही सन्तानका आमा मात्र नभएर हजुरआमा अझ जिजुहजुरआमा समेत भै सकेकी छिन् ।

अहिले वृद्धावस्थामा शिथिल भएकीले आलस्य गरेर धेरैजसो घाममै पल्टिरहने बानी बसेको छ । चिडियाखानामा यतिका वर्ष बिते ता पनि उनको स्वभाव र जङगली रबैया बदलिएको छैन । उनलाई भोक लागेका बेला आहारा दिन केहीगरी बढ्तै ढिला भएमा हल्ला मच्चाउँदै भूइँमा खुट्टा बजारेर मुर्मुरिँदै आक्रोस पोख्ने गर्छिन् ।

तेल (पाम आयल) संकलनका लागि गरिने ताडवृक्षको विनाश, रबरवृक्षको खेती, चोरी शिकार तथा गैह«कानूनी आखेट ब्यापार इत्यादिले उत्पन्न गरेका पर्याप्त आहार तथा वासस्थान अभावका कारण ओराङगउटान उपजातिहरु दुर्लभ हुँदै लोपोन्मुख वा खतरापन्न अवस्थामा पुगेका छन् ।

सुमात्रेली ओराङगउटान उपजातिको संख्या विश्वभर करीब ७ हजार पाँचसय मात्र बाँकी रहेको अनुमान गरिएको र हाल अत्यन्त संकटापन्न स्थितिमा बाँच्नु परिरहेको विश्व वन्यजन्तु कोषले जनाएको छ । – सिन्ह्वा