३० आश्विन २०८३, शुक्रबार

नक्‍कली राहदानीमा नेपाल छिरे इरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIAकाठमाडौं, १७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले नक्‍कली राहदानी चिन्‍न नसक्दा विदेशी नागरिक सहजै छिर्न थालेका छन्।

पछिल्लोपटक विभिन्‍न मुलुकका नक्‍कली राहदानीवाहक चार इरानी हवाईमार्ग भएर नेपाल छिरेका छन्। अध्यागमनका कर्मचारीले पर्याप्त अनुसन्धान नगरी हचुवाका भरमा भिसा जारी गर्दा ती इरानी छिर्न सफल भएका हुन्।

कार्यालयले पाँच दिन नेपाल बसी स्विडेन जाने क्रममा इजरायलको नक्‍कली राहदानीवाहक दुई इरानीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७३०४१२७ नम्बरको राहदानीवाहक नित्जन इसेद र ८५५१८९६ नम्बरको राहदानीवाहक नादव बेन इजाक छन्।

उनीहरू दुवैले स्विडेन छिर्नका लागि इजरायलको नक्‍कली राहदानी प्रयोग गरेका हुन्। कार्यालयका निमित्त प्रमुख रामराज सुवेदीले नक्‍कली राहदानी हो कि होइन भनेर परीक्षण गर्ने भरपर्दो यन्त्र नभएका कारण समस्या आएको बताए। उनले सकेसम्म नक्कली राहदानीवाहकलाई छिर्न नदिने प्रयास भइरहेको पनि बताए।

बयानका क्रममा इसेदले आफ्नो सक्कली नाम आसखान मानसोउरी र इजाकले अब्दुल्लाजिज अब्दुल्ला भएको बताएका छन्। अध्यागमन विभागको हिरासतमा राखी उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

भदौ ७ गते इरानबाट बैंकक हुँदै नेपाल आएका ती दुई इरानीलाई अध्यागमन कार्यालयका अधिकृतले १५ दिनको भिसा लगाइदिए। उनीहरू पाँच दिन काठमाडौं बसी स्विडेन जाने क्रममा ११ गते विमानस्थलमा पक्राउ परेका थिए।

काठमाडौं बसाइमा उनीहरूले केके गरे भन्ने विषयमा कुनै निकायबाट अनुसन्धान भएको छैन। विभागले उनीहरूले प्रयोग गरेको इजरायली राहदानी नक्कली भएको पुष्टि गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको  छ।

यसैगरी अस्ट्रियाको जाली राहदानी लिएर लिएर गत साउन १० गते हमिद अहमदी र साउन १५ गते ब्राजिलको जाली राहदानी लिएर आरस शेयाख पाउर विमानस्थल हुँदै काठमाडौं छिरेका थिए। उनीहरू पनि इरानी हुन्।