हिजो आज नेपाल लोक भरि अजंगको जीउँ भएका लोकमानकै चर्चा छ । मनुवाहरु लोकमानको हिडाई, खवाई,लवाई र घुमाई सबैको चर्चा गरिरहेका छन् मानौँ यो लोकतन्त्र लोकमानकै लागि आएको हो । हाम्रा बा ले वेदका मन्त्र घोके जस्तै चौतारो देखि चिया पसल सम्म यिनै लोकमानकै चर्चो गरिरहेका छन् ।
लोकले नमानेका लोकमानको ईतिहाँस मैले किन कोट्याउनु र ! सबै मिडियाको खुराक बनेकै छ , मैले त केहि ‘लोग’ ले ठानेका लोकले नमानेका लोकमानको महात्म्य मात्र चर्चा गरे पुग्ने भयो । लोकतन्त्र भन्ने ब्यवस्थामा लोकमानकै कुरा नगर्नु पनि कसरी ? केहि ‘लोग’ ले मानेपछि लोकले मान्नु नपर्ने रहेछ । बडेमानका लोकमानको जय होस् । लोकमानका ख्वामितको जय होस् !
यी लोकमान पनि अचम्मका रहेछन्, अालुको तरकारी जस्तै जता पनि सुहाउने, चिटिक्क ! भाग्यमानी हुन् यिनी : राजाका पनि प्रिय, युवराजका पनि प्रिय र अहिलेका नवयुवराजका झनै प्रिय । हुकुमी प्रमांगीबाट फ्याट्ट फड्केर राजाका सेवक लोकमान हुँदा हुँदै लोकतन्त्र पछि त झन् ढुकुटीकै सेवक सम्म बन्न पुगेछन् । यिनको बखान गर्न गाली शिरोमणी र ताली शिरोमणी अनि गाडी शिरोमणीले त सक्दैनन् भने म काली शिरोमणीले के सक्नू र ?
लोकमान महात्म्यलाई मुसा र बिरालो संग जोडेर ब्याख्या गर्ने हो रमाईलै होला: लोकतन्त्र पछि पनि धेरै कोट काट्ने मूसाहरुको बिगबिगी भयो, यिनीहरु कहिले छानु काट्ने, कहिले तानु काट्ने त कहिले मानु काट्ने अमूक मुसाहरुले अजंगको बिरालो लोकमानलाई आफ्नो हितमा काम गर्ने गरी बिशेष दूत बनाएर पठाएकै हो क्यारे !
सबैलाई थाहा छ: मुसाहरुका खास बन्न पुगेका बिरालो रुपी लोकमानले वफ़ादार भएरै स-साना छेपाराहरुलाई आफ्नो दिब्यदृष्टिले शिकार गरिरहेकै हुन् । ढुकुटीको हेरचाह गर्ने ज़िम्मा पाएका बिरालो रुपी लोकमानले घोर्ले मुसाको शिकार त कसरी गरून् र ! अब मुसाहरुकै निगाहमा ढुकुटी हेर्न पाएका लोकमान म्याउँ म्याउँ गरी केहि घरेलु मुसा देखि जंगली मुसाको शिकार गर्ने प्रहसन गर्दा मुसाहरुको ठूलो समूह ढाडे बिरालोरुपी लोकमान प्रति क्रोधित भएकै हो । केहि मुसाहरु सँग कुरा मिल्यो, केहि संग बिच्कियो ! फेरि मिल्यो, फेरि बिच्कियो ! हर ! हर ! लोकमानतन्त्र !
होईन भने गोबिन्द बाजेले दश पटक सम्म आमरण अनसन गर्दा चुईक्क नबोल्ने मुसाहरु अकस्मात् कसरी लोकमानलाई महाअभियोग लगाउने अभियानमा सहमत भए । यो सहमतिमा के गुह्य लुकेको छ त्यो त हेर्नै बाँकी छ तर हिजो आँखा चिम्लेर बसेका लोकतन्त्रका नवयुवराज मुसाहरु एकाएक लोकमान संग रिसानी हुनुको राज कतै आफ्नै धोती फुस्कने डर भएर हो कि भन्ने पो लाग्या छ यो बबुरोलाई । तर राम्रै नियतले भएको देख्ने सुन्ने मन् छ यो बबुरोको ! भोलि बिरालोको ठाउँमा फ्याउरो आउने हो कि भन्ने डर छ, जनतालाई त बाघ पो चाहिएको थियो ।
रायमाझी आयोगले दोषी ठहराएका लोकमानलाई त दण्डित गर्नुपर्ने थियो: मुसाहरुले पुरस्कृत गरे, त्यो के बाध्यता थियो यो त ख्वामितहरुले मुख खोल्दै जालान् । आची गरिसकेपछि दैलो देखेर के काम ! तर मिलेमतोमा जे पनि गर्न उद्दत यी बिरालो र मुसाहरुको मिलनलाई जनता जनार्दनले राम्ररी बुझ्नु पर्ने छ ।
यो देशमा न्याँय मरेको धेरै भईसकेको छ । केहि मुठ्ठी भर बिरालो र मुसाकै खटनमा देश चलिरहँदा
हामी जनता चाहिँ साक्षी बसेर चिच्याई मात्र पो रहेका छौँ । अझ फुटको तानाबाना बुनिरहेका छौँ । जे भन्छन् पत्याई रहेका छौँ ।
हो ! लोकतन्त्रमा अदालतलाई सम्म लत्याउने लोकमानतन्त्र हावी हुनु हुन्न, तर यहि सिलसिलामा धन्सार देखि सन्सारमा चलखेल गर्ने लोकतन्त्रका मुसाहरु कुनै बहानामा उम्कने हुन् कि भन्ने पो डर भो बा ! सबै मुसाहरु लोकमान रुपी बिरालो संगै सती जानुपर्छ, वा पठाउनु पर्छ । अख्तियारमा अब बिरालो हैन हिम्मतवाला बाघले बागडोर सम्हाल्नु पर्छ ।
एउटा बिरालो रुपी लोकमानले भन्दा सयौँ गुना बढि लोकतन्त्रका मुसाहरुले देशको छातीमा प्वाल पारेका छन् ।















प्रतिक्रिया