१२ कार्तिक २०८३, बिहिबार

दुर्घटनामा परेको टर्किस एयरक्राफ्ट नेपाली पाइलटले किन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turkish-airकाठमाडौं, ८ कात्तिक । कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ ।

आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकल र बेद उप्रेती ट्रष्टबीच जहाज खरिद बिक्री सम्झौता हुनेछ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘हामीबीच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ’, विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो ।

एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन् । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् ।

दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ ।

बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानीय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ ।

यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ’, उप्रेतीले भने ।

काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ ।

‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने ।

उक्त विमानभित्र ३ सय बढी जहाजका मोडल राखिने, उडानमा रहेका पाइलटरएयरहोस्टेस आदीकालागी तालिम केन्द्र लगायतका सुविधा राखिने छन् । ट्रष्टले संग्राहलय ६ देखी ८ महिनाभित्रै स्थापना गर्ने बताउँदै कुल लगानी ५ करोड हाराहारी हुने भनेको छ ।

हाल विमानस्थलमा रहेको एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौढाई १सय ९७ फिट रहेको छ ।

०७१ फागुन १९ गते साझ इस्तानबुलबाट उडेको यो विमान २० गते विहान काठमाडौं विमानस्थालमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो ।