पर्थ, ६ कात्तिक । अष्ट्रेलियाको पर्थमा एक नेपाली विद्यार्थीको आकस्मिक निधन भएको छ । अध्ययनका शिलशिलामा १६ महिना अगाडि पर्थ आइपुगेका २८ वर्षीय बिराटमान ताम्राकार गत बिहीबार २० तारिखका दिन बिहान सबेरै काममा जाने क्रममा पर्थको भिक्टोरिया पार्क ट्रेन स्टेशन नजिकैको सडक किनरामा बेहोस भइ ढलेका थिए ।
बाटोमा हिँड्दै गरेको अपरिचित ब्यक्तिले ताम्राकारलाई एम्बुलेन्स बोलाइ उपचारका लागि रोयल पर्थ हस्पिटलको आकस्मिक कक्षमा पठाइदिएका थिए । उनको उपचारका क्रममा चिकित्सकहरूले मृत्त घोषणा गरेका थिए ।
ताम्राकार प्रत्येक दिन बिहान घरबाट ५ मिनेटको दूरीमा रहेको भिक्टिरिया पार्क ट्रेन स्टेशनबाट सवा पाँच बजेको ट्रेन चढेर काममा जाने गर्थे ।
बिहीबार बिहान अबेरसम्म पनि ताम्राकार काममा नआएपछि साथीहरूले खोजबिन गर्दा अस्पताल शब फेला पारेका उनका साथी डिल्ली पराजुलीले जानकारी दिए ।
ताम्राकारलाई हार्टआट्याक वा ब्रैनहेम्रेज भएका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकहरूले प्रारम्भीक जानकारी दिएका छन् । तर ताम्राकारणको पोष्टमार्टम रिपोर्ट नआउँदासम्म के कारणले मृत्यु भएको बताउन नसक्ने चिकित्सकहरूको भनाइ छ । ताम्राकारको शवलाई रोयल पर्थ हस्पिटलमा राखिएको छ ।
काठमाडौंको नरदेबी निवासी ताम्राकार गत वर्षको भदौमा पर्थस्थित कलेजमा ईन्जिनियरिङ विषयमा मास्टर डिग्रीको अध्ययन गर्न आएका थिए । उनको मास्टर डिग्री सकिन केबल एक सेमेष्टर मात्र बाँकी थियो ।
मध्यम परिवारका ताम्राकार परिवारका एक मात्रै छोरा हुन् । उनका बाबु र आमा एक बहिनी नरदेबीमै बस्छन् ।
ताम्राकारको शवलाई नेपाल पठाउनका लागि पहल भइरहेको छ । शव नेपाल पठाउन कम्तिमा १२ हजार ५ सय अष्ट्रेलियन डलर लाग्न सक्ने भएकाले सो रकम जुटाउन नावा र एनआरएनए वेष्टर्न अष्ट्रेलियाले पहल थालेको छ ।















प्रतिक्रिया