काठमाडौं, ५ कात्तिक । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमतिपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको बताएका छन् ।
एमाले संसदीय दलको बिहीबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् । ‘कांग्रेससँग महाअभियोगको विषयमा पटक–पटक कुराकानी भएको छ । यसलाई सबै कांग्रेसका नेता र सभासद्सँग कुरा भएको हो भन्ने अर्थमा बुझ्नु भएन, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेता तथा सभापति शेरबहादुरजीसँग कुराकानीमा महाअभियोगका विषयमा सँगसँगै अघि बढ्ने कुरा भएको छ,’
आकस्मिक महाअभियोग दर्तामाथिको जिज्ञासा मेट्दै ओलीले भने, ‘पार्टीमा छलफल भइनसकेकाले अहिले हामी हस्ताक्षर गर्दैनौँ, तपाईंहरू बढ्नुहोस्, हामी सँगसँगै हुन्छौँ भन्नुभएको छ ।’
हल्ला गरेको भए दर्ता हुँदैनथ्यो
महाअभियोग दर्तालाई हल्लाको विषय बनाइएको भए देशी–विदेशी चलखेलले गर्दा त्यो ठाउँ ९दर्ता गर्ने स्थिति० सम्म पुग्न सकिँदैनथ्यो । त्यसैले सतर्कता अपनाएर अकस्मात् दर्ता गरिएको हो । प्रचलित कानुन, संविधानको अधिकारविपरीत पदीय हैसियत र मर्यादा दुरुपयोग गरेका कारण लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको हो ।
नदीमा पौडिने दखल राख्छौँ
प्रस्ताव दर्ताको विषय पार्टीको प्रतिष्ठा र इज्जतसँग जोडिएकाले पारित गराउन हामी सहमतिका साथ अघि बढ्छौँ । यो हाम्रो मात्रै होइन, सबै दलको साझा प्रस्ताव भएकाले मिलेरै टुंगोमा पु-याइन्छ र पु-याउँछौँ, तपाईंहरू ढुक्क भएर अघि बढ्नुस् । हामी नदीमा हामफालेका छौँ, अब पौडिएर बाहिर निस्कने हो । दखलका साथ पौडिएर पार गर्ने क्षमता हामीसँग छ, ढुक्क हुनुस्, हामी नदी पार गर्छौं ।















प्रतिक्रिया