१२ कार्तिक २०८३, बिहिबार

चीन–भारत जोड्ने तीन सडक बनाउन ११ वर्ष ढिलाइ, को दोषी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-2-629x330काठमाडौं, ४ कात्तिक । आर्थिक वर्ष ०६५–६६ देखि निर्माण थालिएका तीनवटा उत्तर–दक्षिण करिडोर सडक निर्माण सम्पन्न हुन १५ वर्ष लाग्ने भएको छ ।

०७० मै सम्पन्न हुनुपर्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर लोकमार्ग सम्पन्न हुन आर्थिक वर्ष ०८०÷८१ सम्म पर्खनुपर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राष्ट्रिय गौरवका यी आयोजना ०७० सालभित्रै सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्धारित अवधिमा सम्पन्न हुन नसकेपछि तीनवटै आयोजनाको म्याद थपिएको छ ।

कुल आयोजनाको काममध्ये अहिलेसम्म करिब २३ प्रतिशत सम्पन्न भएको छ । यो आयोजना सुरु भएपछि अहिलेसम्म १ अर्ब रुपैयाँ खर्च भएको छ ।

आयोजनाअन्तर्गत तेह्रथुम जिल्लाको वसन्तपुरदेखि देशको सबभन्दा उत्तरी सिमाना किमाथांकासम्मको १६२ किमि सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य छ । उक्त सडकमध्ये ५० किमिमा यातायात चालू छ ।

यसबाहेक ७७ किमि ग्राभेल सडक रहेको छ । आव ०६५-६६ मा सुरु भई ०७० मा सम्पन्न हुने लक्ष्य राखिएकोमा म्याद थप गरी आव ०७७-७८ मा सम्पन्न गर्ने सरकारको योजना छ ।

यस आयोजनाको कुल लागत ७ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ । आव ०७२-७३ मा कोसी करिडोरमा १८ करोड रुपैयाँ विनियोजन गरिएकोमा १६ करोड ९२ लाख (९४ प्रतिशत) खर्च भएको छ ।

गत आवको अन्त्यसम्ममा किमाथांका–खाँदबारी खण्डमा २५ किमि निर्माण र खाँदबारीदेखि पाथिभरासम्मको ट्र्याक खोल्ने कार्य भइरहेको छ ।

गत आवमा विभिन्न खण्डमा गरी सात किमि ट्र्याक खोल्ने, १२ किमि स्तरोउन्नती र नौ किमि पक्की नाली निर्माण भएको छ । विराटनगर–जोगबनी नाकादेखि किमाथांकासम्म जोड्ने यो करिडोरको कुल लम्बाइ ३ सय ८५ किलोमिटर छ ।

यो आयोजनामा अहिलेसम्म ७३ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै, कुल निर्माणमध्ये २५ प्रतिशत काम सम्पन्न भएको छ ।

नवलपरासी, पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बाग्लुङ, पर्वत र म्याग्दी जिल्ला समेट्ने यो आयोजनाको कुल लम्बाइ ४ सय ३५ किमि छ ।

०६५-६६ मा सुरु भई ०७० मा सम्पन्न हुने अपेक्षा गरिएकोमा आव ०७७-७८ मा सम्पन्न हुने गरी म्याद थपिएको छ । यस आयोजनामा कुल लागत १० अर्ब रुपैयाँ रहेको छ ।

यस आयोजनाको ०७१-७२ सम्ममा ४ सय किमिभन्दा बढी ट्र्याक खोल्ने कार्य सम्पन्न भइसकेको छ । नेपाली सेनालाई छुट्टै बजेटको समेत व्यवस्था गरेर निर्माण कार्य भइरहेको आयोजना निर्देशनालयले जानकारी दिएको छ ।

गत आवमा आयोजनाका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएकोमा १६ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ ।

गत आवमा गैँडाकोटदेखि पीपलडाँडासम्मको खण्डको ट्र्याक चौडा पार्ने र पाल्पाको रानीमहल खण्डमा ट्र्याक खोल्ने कार्य भइरहेको छ । गत आवमा विभिन्न खण्डमा गरी दुई किमि ट्र्याक खोल्ने र ३५ किमि स्तरोन्नति गर्ने काम भएको छ ।

यो आयोजना थालिएदेखि अहिलेसम्म ५० करोड रुपैयाँको हाराहारीमा खर्च भएको छ । यो करिडोरमा अहिलेसम्म १८ प्रतिशत काम सम्पन्न भएको छ ।

यस आयोजनाअन्तर्गत हुम्ला जिल्लाको खुलालु–सिमिकोट खण्डमा करिब एक सय ९६ किमी र हिल्सा–सिमिकोट खण्डमा ८८ किमि सडक निर्माण गरिनेछ ।

नेपालगन्ज–रुपैडिहा नाकादेखि हुम्लाको चीन जोड्ने हिल्सा नाकासम्म सडकको लम्बाइ करिब ४ सय ७० किमि छ । आब २०६५-६६ देखि सुरु भई २०७० मा सम्पन्न गर्ने लक्ष्यअनुसार काम नहुँदा हाल म्याद थपी २०८०-८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो आयोजनाको कुल लागत ११ अर्ब रुपैयाँ छ । यस आयोजनाका लागि गत आवमा १० करोड रुपैयाँ विनियोजन गरिएकोमा ९ करोड रुपैयाँ खर्च भएको छ । यसबाहेक नेपाली सेनालाई छुट्टै बजेट व्यवस्था गरेर पनि निर्माण कार्य भइरहेको छ ।

गत आवमा सडक विभागद्वारा (हिल्सा सिमिकोट तर्फ) २० किमि नयाँ ट्र्याक खोलिएको छ र नेपाली सेनाद्वारा (खुलालु लैफु सिमिकोटतर्फ) आठ किमि नयाँ ट्र्याक खोल्ने कार्य भएको छ ।

आवधिक योजना पाँच वर्षको हुने भएकाले सुरुमा पाँच वर्षमा सम्पन्न गर्ने गरी योजना बनाइएको तर विविध कारणले सम्पन्न गर्न नसकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजना निर्देशनालयका निर्देशक गोपालप्रसाद सिग्देलले जानकारी दिए ।

साथै, एकैचोटि १५ वर्षको योजना बनाउनका लागि स्रोतको निर्धारण गर्न गाह्रो हुने भएकाले पनि सुरुमा पाँच वर्ष राखिएको उनको तर्क छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले भने तोकिएकै समयमा काम सम्पन्न नहुनुमा काम गर्ने क्षमताको अभाव, उच्च हिमाली क्षेत्रको मौसमले वर्षमा केही महिना मात्र काम हुनु, कुल लागत बजेट एकैपटक व्यवस्था गर्न नसक्नुजस्ता कारण रहेको बताए ।

तोकिएको अवधिमा सम्पन्न नहुने आयोजनाले एकातिर लागत र निर्माण अवधिमा वृद्धि गर्ने गरेको छ भने अर्कातिर समयमा विकास आयोजना पूरा नहुँदा सेवाग्राही (जनता) को उत्साहलाई पनि मार्ने काम गरेको छ ।

करिडोर आयोजनाहरू तोकिएको समयमा पूरा नहुनुमा ‘यथार्थपरक योजना तयारी’ नभएको सडक विभागको भनाइ छ । ‘थालिएको आयोजना सम्पन्न गर्नेभन्दा पनि धेरैवटा आयोजनामा ध्यान दिनु पर्दा ढिलाइ हुने गरेको छ,’ आयोजना निर्देशनालयका निर्देशक सिग्देलले भने ।

राष्ट्रिय गौरवको आयोजना भएकाले बजेट अभाव नभएको र अहिलेको गतिले काम गर्दा थपिएको अवधिमा करिडोर आयोजना निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

अहिले तीनवटै आयोजनामा गरी कुल १ सयभन्दा बढी निर्माण व्यवसायीले काम गरिरहेका छन् । प्रगतिमा ढिलाइ हुनुमा ठेकेदारहरू भन्दा पनि विकट अवस्थिति र मौसम कारण देखिएको सडक विभागको भनाइ छ ।