काठमाडौं, ३ कात्तिक । अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ ।
गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीमा काठमाडौं झिकाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्मा मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट भएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरूले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए ।
शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए ।
‘गृहसचिवले शान्ति सुरक्षा र दुवै घटनाबारे जानकारी मागे पनि उनीहरूलाई पेसी बोलाएकोबारे भने मुख खोलेनन्,’ स्रोतले भन्यो, ‘जिल्लाको शान्ति सुरक्षाबारे सोधपुछ गर्दै चिया खुवाएर पठाउनुभयो ।’
सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ । जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ ।
स्रोतका अनुसार अपहरणको आरोप लागेका माओवादी केन्द्रका नेताविरुद्ध सिरहामा जारी अनुसन्धान र हुन्डीको कारोबारमा पर्सा प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेस निकट व्यापारीमाथि कारबाही रोक्न दुवै एसपीमाथि दबाब बढेको थियो । उनीहरूले जाहेरी दर्ता भइसकेको विषय भन्दै अनुसन्धान रोक्न मानेका थिएनन् ।
दुवै एसपीले अस्वीकार गरेपछि गृहमन्त्री निधिले नै चासो राखेका थिए । स्रोतका अनुसार प्रहरी महनिरीक्षक उपेन्द्रकान्त अर्याल हुँदा नै दुवै एसपीलाई काठमाडौं बोलाएर प्रस्टीकरण लिने प्रयास भएको थियो । अर्यालले उनको निर्देशन अटेर गरेका थिए । उनी प्रहरी प्रमुखको सम्मेलनमा भाग लिन शुक्रबार अमेरिका गएपछि निमित्त प्रहरी प्रमुख शर्मामार्फत दुवै एसपीलाई काठमाडौं झिकाइएको हो ।
भदौमा जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानका इन्जिनियर देवानन्द मण्डलको अपहरण गरेको अभियोगमा सिरहा प्रहरीले पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापरसहित १० जनाको नाममा अनुसन्धान अगाडि बढाएको थियो । मैनाबती नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानले छुट्टयाएको ५० लाख बजेट खर्चको विषयमा साहलगायतका माओवादी नेताले इन्जिनियर मण्डलको अपहरण गरेको आरोप लागेको थियो ।
इन्जिनियर मण्डलले भदौ ४ मा पूर्वमन्त्री साहले आफ्नो घर बोलाएर हतियार देखाई बन्धक बनाएर ५ लाख रुपैयाँको कागज गर्न लगाएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए । उनको निवेदनका आधारमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले प्रहरीमा निवेदन दिएपछि प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । जिल्ला तहका माओवादी नेताहरूले जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब दिएका थिए । जाहेरी दर्तापछि प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री निधिलाई सो विषय मिलाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।
यस्तै, असोज १६ मा वीरगन्जको रेशमकोठीस्थित सन्तोष जैनको घरमा छापा मारेर पर्सा प्रहरीले उनीसहित उनका छोरा अंकुर र श्रीमती उषालाई पक्राउ गरेको थियो । स्रोतका अनुसार गृहमन्त्री निधिले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि नबढाउन निर्देशन दिए पनि ‘उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको पर्याप्त प्रमाण रहेको’ भन्दै एसपी श्रेष्ठले अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेका थिए । त्यसपछि गृहमन्त्री रिसाएका हुन् ।
प्रहरीले वीरगन्ज र आसपासका क्षेत्रबाट पैसा संकलन गरी हुन्डीमार्फत भारतको विभिन्न सहरमा पठाउन सक्रिय रहेको सूचनाका आधारमा जैनको घरमा छापा मार्दा ८१ लाख ४ हजार रुपैयाँ, एक करोड ३२ लाख ७८ हजार रुपैयाँको विभिन्न बैंकको २४ वटा चेक, पैसा गन्ने मेसिन फेला पारेको थियो । दसैंको बेला अदालत बन्द भएकाले प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरी आइतबार अदालत लगेर २० दिनको म्याद लिएको थियो । एसपी श्रेष्ठलाई निधि निकट कांग्रेस नेता ओमप्रकाश शर्माले कारबाही रोक्न दबाब दिएका थिए ।
स्रोतका अनुसार निधिले शर्मालाई ‘एसपीलाई काठमाडौं झिकाउन हुन्छ कि हुन्न’ भनेर सोधेका थिए । शर्माले ‘भइहाल्छ’ भनेपछि आइतबार दुवैलाई पेसीमा काठमाडौं आउन निर्देशन दिइएको थियो । श्रेष्ठ सोमबार काठमाडौं आइपुगेका हुन् ।
गृहमन्त्री निधिले आफूले कुनै एसपीलाई पनि नबोलाएको दाबी गरे । हुन्डी र माओवादी नेताविरुद्ध अपहरणको घटनामा अनुसन्धान भइरहेको बारे आफूलाई जानकारीसमेत नभएको भन्दै उनले कान्तिपुरसँग भने, ‘मैले कुनै एसपीलाई बोलाएको छैन, प्रहरी संगठनले बोलाएको होला ।’
निमित्त प्रहरी प्रमुख शर्माले ‘दुवै एसपीलाई शान्ति सुरक्षाको अवस्थाबारे बुझ्न बोलाएको’ दाबी गर्दै जानकारी लिएपछि दुवै आफ्नै जिल्लामा फर्किने बताए । पूर्वसांसद शर्माले भने दसैंअगाडि मन्त्री, आईजीपी र सचिवसँग त्यस विषयमा गुनासो गरेको स्वीकार गर्दै हुन्डी कारोबारीसँगै पक्राउ परेकी महिलाको हकमा मात्रै सिफारिस गरेको दाबी गरे ।
विवादमा घेरिँदै निधि
आफ्नै दाजुलाई भदौ ११ मा मरणासन्न कुटेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका धनुषा कांग्रेसका कार्यकर्ता रामचन्द्र रायलाई छाड्न नमानेको भन्दै धनुषाका एसपी रामदत्त जोशीको सरुवा गरेको विषयमा समेत गृहमन्त्री निधि जोडिएका थिए । मधेस आन्दोलनका क्रममा भएका गम्भीर अपराधमा जोडिएकाको समेत मुद्दा फिर्ता लिन खोजेपछि पनि मन्त्री निधि विवादमा तानिएका थिए ।
प्रहरीले ‘घटना गम्भीर प्रकृतिको रहेको’ भन्दै रायलाई छाड्न गृहबाट गएको दबाब अस्वीकार गरेपछि दोस्रो दिनमै दत्तको सरुवा भएको थियो । उक्त प्रकरणमा रायलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय फुलगामाका इन्चार्ज सई धर्मेन्द्र ठाकुरको समेत सरुवा भएको थियो । गृहमन्त्रीको अनिच्छाका कारण जाजरकोट सरुवा भइसकेका डीएसपी भावेश रिमाल जिल्ला जान पाएका छैनन् ।
एक प्रहरी अधिकारीले गृहमन्त्री निधि संगठनका सदस्यको भन्दा बढी पार्टी कार्यकर्ताको भनाइमा भर पर्ने गरेको गुनासो गरे । गृहमन्त्रीको रूपमा आफू मातहतको प्रहरी संगठनका सदस्यसँग घटनाबारे जानकारी लिनुभन्दा कार्यकर्ताको भनाइमै बढी विश्वास गर्ने गरेको ती अधिकारीले टिप्पणी गरे ।
‘नेता भएपछि कार्यकर्ताको गुनासो सुन्नु सामान्य हो, तर गृहमन्त्री भएको व्यक्तिले अपराधको प्रकृति, पक्राउको कारण, घटनाको गम्भीरता र पक्राउ परेकाको संलग्नता नहेरी छाड्न निर्देशन दिँदा प्रहरी र मन्त्रीबीच द्वन्द्व मात्र बढ्छ,’ ती प्रहरी अधिकारीले भने, ‘अहिलेका प्रहरी अधिकारी हिजोको बेलाजस्तो नेताले जे भन्यो मानिहाल्ने प्रवृत्तिका छैनन् भन्ने मन्त्रीज्यूले बुझ्नु भएन ।’















प्रतिक्रिया