अष्ट्रेलिया । अष्ट्रेलिया भ्रमणमा रहेका एमालेका महासचिव ईश्वर पोखरेलले अष्ट्रेलियाको संसदमा नेपाल सम्बन्धी हेर्ने नेपाल डेस्क बनाउन प्रस्ताव गरेका छन् ।
सोमबार क्यानबेरामा भएको राजनीतिक भेटघाटका क्रममा उनले यो विषय उठाउएका हुन् । प्रतिपक्षी लेबर पार्टीका अध्यक्षदेखि राष्ट्रिय सचिवसम्मको भेटका क्रमका एमाले महासचिव पोखरेलले नेपालमा पनि अष्ट्रेलिया डेस्क निर्माण गर्ने र यस्तो डेस्कले दुई देशबीचको लगानी, व्यापार प्रबद्र्धन र आपसी हितका अन्य विषयवस्तुमा विशेष चासो दिने प्रस्ताव गरेका थिए ।
महासचिव पोखरेलले अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका राष्ट्रिय अध्यक्ष मार्क बुट्लरसँग उनकै कार्यकक्षमा भेट गरेका थिए ।
भेटका अवसरमा नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा बढाउने राजनीतिक सम्बन्धसहितका विषयमा कुराकानी भएको थियो ।
यसैगरी भेटका क्रममा नेपालमा गएको भूकम्पपछिको पुननिर्माणको विषयमा अध्यक्ष बुट्लरले जिज्ञासा राखेका थिए ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको निमन्त्रणमा आएका महासचिव पोखरेलसँगै एमालेका अर्का नेता एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल पनि भेटघाटमा सहभागी थिए ।
पूर्व पर्यटनमन्त्री पोखरेलले पर्यटन प्रबद्र्धनमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षा गरिएको बताए ।
अष्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, नेपालबाट आएका रविन्द्रपुरुष ढकाल र चेतनाथ अधिकारी, सिड्नीबाट भ्रमण टोलीमा रहेका नेपाली समूदायका अगुवा गोवा कटुवाल, भरत पन्त, प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे र पूर्वअध्यक्ष विनोद श्रेष्ठको सहभागिता रहेको थियो ।
अष्ट्रेलियन लेबर पार्टीका नेशनल सेक्रेटरी नोह क्यारोलसँगको भेटमा एमाले र लेबर पार्टीको बीचमा पार्टीगत सम्बन्ध स्थापित गर्ने विषयमा छलफल भएको थियो ।
महासचिव पोखरेलको सम्मानमा लेबर पार्टीका न्यू साउथवेल्स सिनेटर शाम डेष्टियारीले दिवा भोज पनि दिएका थिए ।















प्रतिक्रिया