१२ कार्तिक २०८३, बिहिबार

बैंकहरूले आजबाट कर्जाको ब्याज पनि बढाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bank-karjaकाठमाडौं, १ कात्तिक । दसैंअघि मुद्दती निक्षेपको ब्याज बढाएका वाणिज्य बैंकहरूले अहिले कर्जाको ब्याजदर पनि बढाउन थालेका छन् ।

निक्षेपको ब्याज बढेपछि पुँजीकोष लागत बढेकाले कर्जाको ब्याज पनि बढाउन लागेका हुन् । दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत कर्जाको ब्याज कात्तिक १ देखि बढ्ने जानकारी दिएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ ।

उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर)को ब्याजदर १ देखि २ प्रतिशत सम्मले बढाएका छन् । यही बहानामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन् ।

एकै दिन ३/४ वटा बैंकले फोन गरेर कात्तिक १ गतेदेखि ब्याजदर बढ्ने सूचना दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

‘ती सबै बैंकको भाषा र ब्याजको वृद्धिदर समान छ,’ उनले भने, ‘यसबाट बैंकहरूले आपसी सहमतिका आधारमा समान दरले ब्याज बढाएको स्पष्ट हुन्छ ।’ ब्याजदरमा घटबढ स्वाभाविक भए पनि सबै बैंकले एकै दिनदेखि समान दरले बढाउनु स्वाभाविक नभएको उनले गुनासो गरे ।

बढ्दो ब्याजदरले लगानी निरुत्साहित गर्ने भएकाले ब्याजदरमा बैंकहरूले ‘सिन्डिकेट’ गर्न नहुने उनको तर्क छ । ‘यस्तो प्रवृत्तिले समग्र अर्थतन्त्रलाई राम्रो गर्दैन,’ उनले भने, ‘बैंकहरूको व्यवहारबारे राष्ट्र बैंकले विशेष रूपमा हेर्नुपर्छ ।’

मुद्दती निक्षेप ८ प्रतिशतमाथि भएको अवस्थामा सामान्य रूपमा कर्जादर पनि बढाउन दबाब परेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

दसैं र चालु आर्थिक वर्षको पहिलो त्रैमास अन्त्य भएकाले ब्याजदर वृद्धिका लागि यो समय उपयुक्त भएको उनको तर्क थियो ।

‘सबै बैंकहरूले एकैपटक ब्याजदर बढाउनु संयोगमात्र हो,’ उनले भने, ‘यसमा बैंकहरूबीच कुनै मिलेमतो छैन ।’ विगतमा सस्तो दरमा अल्पकालीन कर्जा प्रवाह गरेका बैंकहरूले निक्षेपको लागत बढेपछि अहिले व्यापारिक कर्जाको दर बढाउन थालेको उनले जनाए । ‘निक्षेपको ब्याज बढेसँगै कर्जाको दर बढ्नु स्वाभाविक हो,’ उनले भने ।