३० आश्विन २०८३, शुक्रबार

चाडपर्वका लागि ६ सय नयाँ बस थपिँदै, भदौ २५ देखि टिकट बुकिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busकाठमाडौं, १६ भदौ । आसन्‍न चाडपर्वलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा ६ सय नयाँ बस थप्‍ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं, तिहार र छठ पर्वमा अधिकांश सर्वसाधारण गृहजिल्ला जाने भएकाले यात्रु चापका आधारमा ठूला र मिनी बस थप्‍ने तयारी गरेको हो।

नयाँ बस असोज १ गतेदेखि राजधानीबाट मुलुकका विभिन्‍न स्थानमा सञ्‍चालनमा ल्याइने महासंघले जानकारी दिएको छ।

महासंघका महासचिव डोलनाथ खनालले मुलुक संविधान निर्माणतर्फ उन्मुख भएकाले चाडपर्वको समयमा गाउँ जाने यात्रुको संख्या यसपटक विगतका वर्षको तुलनामा निकै बढी हुने अनुमान गरिएको बताए।

‘दसैंको समयमा दैनिक एक लाखभन्दा बढीको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले हाल सञ्‍चालित बसले यात्रु चाप थेग्न सक्ने अवस्था छैन, महासचिव खनालले भने, ‘त्यसैले करिब दुई अर्ब रुपैयाँ लगानी गरेर नयाँ बस थप्न लागेका छौं।’ सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन्।

महासंघका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार चार सयको संख्यामा बस र दुई सयको संख्यामा मिनीबस थप्‍न लागिएको हो। यसमध्ये डेढ सय अत्याधुनिक सुविधासम्पन्न डिलक्स र वातानुकूलित बस हुनेछन्।

दसैंकै समयमा कोरिया भाषा परीक्षामा सहभागी हुन असोज दोस्रो सातादेखि राजधानी भित्रिने र तुरुन्तै फर्कने भएकाले पनि यात्रुचाप बढ्ने व्यवसायीको अनुमान रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। कोषाध्यक्ष सिटौलाले काठमाडौं, बुटवल, वीरगन्ज, विराटनगर, बनेपा, लाहानलगायतका स्थानमा नयाँ बस फिटिङको काम भइरहेको जानकारी दिए। तर, लोडसेडिङका कारण समस्या परिरहेको उनले बताए।