– रबिना बोहरा
बागलुङ, २१ असोज । संविधानको कार्यान्वयनका लागि समयमै तीनवटै तहको निर्वाचन सम्पन्न गर्नका लागि जनताको खबरदारी बढाउन एमाले बागलुङले ४ महिने अभियान सञ्चालन गर्ने भएको छ ।
असोज २८ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने अभियान सफल पार्नका लागि एमाले जिल्ला सचिवालय वैठकले विभिन्न १० वटा लकष्टर निर्माण गरेर उत्प्रेरक, संयोजक र सदस्य तोकेर जिम्मेवारी दिएको छ ।
नेकपा एमाले बागलुङले सञ्चालन गरेको ४ महिने संविधान कार्यान्वयन अभियानलाई सफल पार्नका लागि गठित १० वटा कलष्टरहरुको कार्ययोजना निर्माण कार्य शुरु गरेका छन् । यसैक्रममा शुक्रवार नम्बर–२ को भेला सम्पन्न भएको छ । कलष्टर २ मा रेश, लेखानी, विहु, तंग्राम, धम्जा, भीमापोखरा र पाला गाविस रहेका छन् ।
भेलाले असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म पार्टी तथा जनवर्गीय संगठनहरुको गाउँ कमिटिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
एमालेको लोकप्रियताबाट हच्केको वर्तमान सरकार र सरकारको नेतृत्व गरेका मुख्य दलहरु संविधान कार्यान्वयनका लागि निर्वाचनको पक्षमा नभएकोले जनतालाई खबरदारीका लागि सचेत बनाउन अभियानले सहयोग पुग्ने एमालेले जनाएको छ ।
संविधानको कार्यान्वयनका लागि दबाब दिनुका साथै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत ल्याएका लोकप्रिय कार्यक्रमहरुका बारेमा आम जनतालाई जानकारी गराउन अभियान सफल हुने जनाइएको छ ।
नेकपा एमाले सरकारमा रहदा राष्ट्रियता र जनताको हितमा गरेका जनपक्षिय कामलाई जनताको बिचमा लैजाने एवं राष्ट्रियताको पहरेदारीका लागि सरकारलाई दबाब दिने निर्णय गरेको कलष्टर नम्बर–२ का संयोजक टिकाराम सापकोटाले बताउनुभयो ।

असोज ३० गतेदेखि ६ गतेसम्म जनपरिचालन गरी जनवर्गिय संगठन निर्माण गर्ने बताएका छन् । यस्तै एकैसाथ गाउँ अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनका लागि तयारी गर्ने बताइएको छ । नेकपा एमालेको अभियानलाई सम्पन्न गराउनका लागि घरदैलो गर्ने जानकारी गराएका छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय जलस्रोत तथा उर्जा विभाग सदस्य हिरा केसीले आधारभुत तहका जनतासंग एमालेले गरेका जनपक्षिय कार्य पु¥याउनुपर्ने भन्दै अभियानका क्रममा सिङगो पार्टी परिचालन गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले केन्द्रिय सहकारी तथा गरिवी निवारण विभाग सदस्य रामबहादुर जिसीले समृद्ध मुलुक निर्माणका लागि हरेक व्यक्तिलाई आर्थिक रुपमा सक्षम बनाउनु पर्नेमा जोड दिदै तीन खम्बे अर्थनीति अन्तर्गतको एक सहकारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा अभियानको उदेश्यका बारेमा सचिवालय सदस्य डिल्लीराज गौतम र सञ्चार क्षेत्रको व्यवस्थापनका विषयमा प्रेस चौतारी नेपालका केन्द्रिय सचिव रामकृष्ण शर्माले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम कलष्टर नम्बर–२ का संयोजक टिकाराम सापकोटाको अध्यक्षता, सचिवालय सदस्य बालकृष्ण कँडेलको स्वागत र क्षेत्रिय कमिटि सचिवालय सदस्य हिरा कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा नेपालीको महान पर्व विजयादशमी, दिपावली, छट तथा नेपाल संवदको शुभकामना आदानप्रदान गरिएको थियो ।
एमालेले संविधान कार्यान्वयनसंगै आगामी मंसिर २५ देखि २७ गतेसम्म बागलुङ बजारमा हुने आठौ जिल्ला अधिवेशनलाई केन्द्रीत गरेर १० कलष्टर निर्माण गरी अभियान थाल्दै छ । सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने लक्ष्यका साथ सञ्चालित अभियानबाट जिल्लामा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न सकिने योजना एमालेले बनाएको छ ।













प्रतिक्रिया