झापा, २१ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अबको दुई बर्षमा यो देशमा उथल–पुथल आउने बताउनु भएको छ ।
नेकपा एमाले झापा क्षेत्र नम्बर ३ द्वारा आयोजित बडादशै शुभ दिपावली तथा छट पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सांगितिक कार्यक्रममा उहाँले यस्तो धारणा राख्नु भएको हो ।
सरकारले दुई बर्षभित्र सबै तहको निर्वाचन गर्यो भने नेकपा एमालेले विजय हासिल गर्नेछ र यसले देशलाई सम्बृद्धिको मार्गतर्फ डोर्याउने छ । निर्वाचन नगरी यथास्थितिमा राख्छु भनेर कुनै नयाँ तानाशाहाहरुले सोचेका छन् भने त्यो दिन भयानक र खतरनाक हुने नेता रावलले चेतावनी दिनुभयो ।
गुट गुटमा विभाजन भएर नेकपा एमालेलाई देश कमजोर बनाउन जनताले छुट नदिएको बताउँदै एमाले पश्चिम कमाण्डर रावलले एमाले एकजुट भएर देशलाई बलियो बनाउन मात्र अधिकार भएको बताउनुभयो । उहाँले नेकपा एमालेका कार्यकर्ताहरुलाई भावनात्मक एकताका साथ निर्वाचनको तयारीमा जुट्न पनि आव्हान गर्नुभयो ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य युवराज कार्की, एकनम्बर प्रदेशका सदस्य हिक्मत कार्की, सांसद जीतु गौतम, झापा अध्यक्ष चिन्तन पाठक, युवा नेता बसन्त बानियाँले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

एमाले ३ नम्बर क्षेत्रीय अध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय इन्चार्ज मञ्जु सिटौलाले स्वागत मन्तव्य र सञ्चालन क्षेत्रीय सचिव नवराज भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रममा झापाका समाजसेवी दिलबहादुर थेवेसहित दर्जनौं कार्यकर्ता नेपाली कांग्रेस र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको क्षेत्रीय प्रचार प्रमुख हर्क विकले जानकारी दिनुभयो ।
कार्यक्रममा मधु गुरुङ र टीका भण्डारीलगायतको सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।













प्रतिक्रिया