पोखरा, १८ असोज । चाडपर्वका सन्मुख हुनसक्ने चोरी, डकैती, लुटपाट न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल कालिका गणलाई २४ सै घन्टा तयार राखिएको छ ।
गणका प्रहरी उपरीक्षक दिनेश शर्माले अभियान युवा क्लबद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा खबर पाउनसाथ तत्काल सेवा दिनका लागि सशस्त्र प्रहरीबल तयारी अवस्थामा रहेको बताउनुभयो ।
समयमा खबर नआउनाले धनजनको क्षति हुने गरेको र कुनै दुर्घटना, झगडा, चोरीजस्ता आपराधिक कार्य भए १११४ मा खबर गरेमा तत्कालै सेवा दिन सशस्त्र प्रहरी बल तम्तयार रहेको उहाँले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सूर्यचन्द्र विकास समाज, महिला टोल समन्वय समिति, ‘ताया मचा नाच’ समिति, दलित जिल्ला समन्वय समिति, स्वतन्त्र पत्रकार महासङ्घ, लायन्स क्लब अफ सिर्जना चौतारी, बाल क्लब, अभियान महिला उप–समिति, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो । रासस













प्रतिक्रिया