१९ कार्तिक २०८३, बिहिबार

डोटीमा झण्डै एक हजार बालबालिका विद्यालय बाहिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school– झलक पाली

डोटी, १६ असोज । डोटी जिल्लामा विद्यालय उमेर पुगेका झण्डै एक हजार बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

जिल्लाभरीको तथ्याङ्क अनुसार विद्यालय जाने उमेरमा विद्यालय नजाने बालबालिकाको संख्या ७ सय ६६ जना रहेको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ ।

जस अनुसार ३ सय २४ जना बालक र ४ सय ४२ बालिका विद्यालयभन्दा बाहिर रहेको पाईएको जिल्ला शिक्षा कार्यालय डोटीका विद्यालय निरिक्षक गोपालदत्त जोशीले जानकारी दिए ।

जसमध्ये दलित समुदायका मात्रै ३ सय ६५ जना बालबालिका, १९ जना बालबालिका जनजाती समुदायका र बाँकी अन्य समुदायका बालबालिका रहेको जिल्ला शिक्षाको तथ्याङ्क छ ।

विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहनुको मूख्य कारणहरुमा गरीबि नै रहेको डोटीका जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीले बताए ।

गरीबिका कारण बुबा कामको शिलशिलामा विदेश तथा स्वदशमै भए पनि घर बाहिर रहनु, जसका कारण महिलाहरुमा बोझ हुन आउँदा काममा सहयोग लिनु, धेरै सन्तान जन्माएर खर्च अभाव हुनु, पढाईप्रति चासो नै नहुनु, छोरा र छोरीबिचको विभेद कायमै रहनु लगाएतका समस्याले रहेको जिशिअ खत्रीले बताए । जसका निम्ति अभिभावक शिक्षा महत्वपूर्ण रहेको पनि उनले बताए ।

डोटीमा ३ सय ८५ वटा बालविकास केन्द्र, २ सय ४३ वटा प्राथमिक विद्यालय, ७१ वटा निम्न माध्यमिक विद्यालय, ४५ वटा माध्यमिक विद्यालय, ३० वटा उच्च माध्यमिक विद्यालय, ३ वटा प्राविधिक विद्यालय रहेका छन् ।

त्यस्तै ७ वटा स्नातक तहसम्म पढाई हुने क्याम्पसहरु छन् । जसमध्ये जिल्ला सदरमुकाम सिलगढीमा रहेको डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म पढाई हुने गरेको छ । अन्य थुप्रै सँस्थागत विद्यालयहरु पनि छन् ।

नेपाल सरकारले सन् २०१५ सम्ममा ‘सबैका लागि शिक्षा’ कार्यक्रममार्फत सबै नेपाली नागरिकलाई शाक्षर बनाईसक्ने लक्ष्यमा चुकिसकेको छ ।

डोटीको सन्दर्भमा विभिन्न होटल, यातायात लगाएत अन्य विभिन्न खालका श्रममा बालबालिकाहरुले श्रम गरिरहेको देख्न पाइन्छ ।

विभिन्न सरकारी तह र गैर सरकारी तहबाट बालबालिकाका क्षेत्रमा थुप्रै सुधार भए पनि अझै काम गर्न धेरै बाँकी रहेको छ ।