३० आश्विन २०८३, शुक्रबार

यस्तो बन्दैछ गौशाला-चाबहिल सडक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fly-over-kathmanduकाठमाडौं, १५ भदौ । चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चाबहिल खण्डमा फ्लाई ओभर (सवारी चल्ने सडक) बन्ने भएको छ। आगामी आठ वर्षभित्र चक्रपथको पूरा लम्बाइ २७ दसमलव ३९४ किलोमिटर सडक विस्तार गरी ८ लेन बनाइसक्ने गरी अघि बढाइएको परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म करिब २ किलोमिटर लामो फ्लाई ओभर निर्माण हुने भएको छ। फ्लाई ओभर चार लेनको हुनेछ।

आजको नागरिक दैनिकमा प्रवीण ढकाल लेख्छन्- चीनको प्राविधिक र आर्थिक सहयोगमा तीन फेजमा निर्माण सम्पन्न भइसक्ने चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत फ्लाइ ओभर निर्माणको काम तेस्रो फेजमा हुनेछ। पहिलो फेज अन्तर्गतको कलंकी–कोटेश्वर खण्ड विस्तार डेढ वर्षअघि सुरु भइसकेको छ। दोस्रो फेजमा कलंकीदेखि गोंगबुसम्मको सडक निर्माण गरिनेछ।

गौशाला र चाबहिलसम्मको सडक खण्ड भने त्यसपछि मात्र निर्माण गरिनेछ। योजनाअनुसार कोटेश्वरदेखि गोंगबुसम्मको सडक खण्ड पहिलो चरणमा विस्तार गरिने भनिएको थियो। तर, यस खण्डमा सडक विस्तार गर्ने पर्याप्त ठाउँनभएकाले यो योजना पछि सारिएको हो।

चक्रपथ विस्तार परियोजनाका प्रमुख अशोक तिवारीका अनुसार फ्लाई ओभर निर्माण गर्ने विषयमा चीन सरकार तयार भइसकेको छ। उनले गौशाला–चाबहिल क्षेत्रमा अत्यधिक घर रहेको र उक्त घर भत्काएर विस्तार गर्न पर्याप्त ठाउँ अभाव हुने भएपछि फ्लाई ओभर बनाउन लागिएको बताए।

परियोजनाले फ्लाई ओभर निर्माणभन्दा पहिला गौशालादेखि चाबहिल क्षेत्रसम्म सुरुङ मार्ग बनाउने योजना अगाडि सारेको थियो। तर पशुपति क्षेत्र भएकाले सुरुङ मार्ग बनाउने क्रममा कुनै पुरातात्विक वस्तु फेला परे सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने अवस्था आउने भएकाले फ्लाई ओभर बनाउने निर्णय भएको हो।

‘घर भत्काएर ८ लेनको चक्रपथ विस्तार गर्न लगभग असम्भव जस्तै देखिएकाले विकल्पका रुपमा फ्लाई ओभर र सुरुङमार्ग निर्माण गर्ने सोचिएको थियो,’ उनले भने, ‘तर सुरुङ मार्ग बनाउँदा पशुपति क्षेत्रमा छोइने र केही पुरातात्विक बस्तु फेला पर्ने सम्भावनासमेत रहेकाले सुरुङमार्ग बनाउने योजना रोकिएको हो।’

गौशाला चोकदेखि चाबहिल चोकसम्मको दुरी १ दसमलव ३९ किलोमिटर भए पनि फ्लाई ओभर भने त्योभन्दा केही लामो करिब २ किलोमिटरको हुनेछ। चार लेन फराकिलो उक्त फ्लाई ओभरबाट चक्रपथ परिक्रमा गर्ने सवारी तथा बौद्धतर्फका सवारीसमेत चाबहिल चोकबाट आउजाउ गर्न मिल्ने बनाइनेछ।

परियोजनाका अनुसार चिनियाँ कम्पनी ‘हेनान प्रोभिन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनी लिमिटेड’ले पूरा चक्रपथ निर्माणको सर्भे गरिसकेको छ। तर फ्लाई ओभरका लागि विस्तृत अध्ययन भने गर्न बाँकी नै छ। विस्तृत अध्ययनपछि फ्लाई ओभरको नक्सा, डिजाइन तथा लागतको टुंगो लाग्ने परियोजना प्रमुख तिवारीले जनाए। उनका अनुसार कलंकी–कोटेश्वर खण्ड निर्माणकै क्रममा अन्य खण्ड निर्माण पनि अगाडि बढ्नेछ। हाल काम भइरहेको खण्डबाहेक अन्य खण्डको प्रारम्भिक सर्भे भइसकेको छ।

हाल चार लेन रहेको चक्रपथ सडक विस्तार पछि बढेर ८ लेनको हुनेछ। जसमा सडकको मध्यभागमा चार लेनको तीव्र रफ्तारको मूल सडक निर्माण गरिनेछ। मूल सडक प्रत्येक लेनको चौडाइ ३.५ मिटरको हुनेछ। दुईतर्फी गाडी गुड्न मिल्ने गरी बनाइने सडकको बीचभागमा १.५ मिटर चौडाइमा डिभाइडर राखिनेछ। मुख्य सडकको दायाँबायाँ दुईदुई लेनको सडक निर्माण गरिनेछ। ती सडकको लेनको चौडाइ ३.५ मिटर हुनेछ। यस्तै सडकका दुवैतर्फ २.५ मिटरको फुटपाथ रहनेछ।

परियोजनाका अनुसार हाल विस्तार भइरहेको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड पौने ४ अर्ब रुपैयाँमा निर्माण हुने बताइएको छ। बाँकी खण्डको लागत र सकिने समयबारे चिनियाँ टोलीको सर्वेक्षण प्रतिवेदन आएपछि मात्र टुंगो लाग्ने परियोजनाले जनाएको छ। तिवारीका अनुसार चीन सरकारले सम्पूर्ण संरचना चिनियाँ प्राविधिक र उनीहरूकै डिजाइनअनुसार बन्नेछ।

‘अहिल्यै बाँकी क्षेत्रको लागत अनुमान गर्न गाह्रो छ,’ उनले भने, ‘सबै सडक एकै स्ट्यान्डर्डको बनाइने भएकाले हाल विस्तार सुरु भएको क्षेत्रका आधारमा बाँकी क्षेत्रको लागत झन्डै दोब्बर पर्ने देखिन्छ।’ टोलीको अन्तिम प्रतिवेदनपछि मात्र कोटेश्वर–चाबहिल–बालाजु–कलंकी खण्डमा फ्लाई ओभरबाहेक कहाँकहाँ, कस्ता संरचना निर्माण गर्ने भन्ने टुंगो लाग्नेछ।

अहिले बनाइरहेको क्षेत्रमा भने एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्न आकाशेपुल निर्माण गर्ने, कलंकीमा भूमिगत सडक निर्माण गर्ने तय भइसकेको छ। उक्त खण्ड ४० महिनामा सक्ने गरी डेढ वर्षअघि नै निर्माण सुरु भएको छ। सडक निर्माणको जिम्मा चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ।